केपी ओली-नारायणकाजी श्रेष्ठबीच दुई घन्टा भेटवार्ता, परराष्ट्र नीतिबारे मुख्य चासो

File photo
File photo

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच दुई घन्टा भेटवार्ता भएको छ।

आइतबार भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई नेताबीच समसामयिक राजनीतिबारे भेटवार्ता भएको हो।

ओलीका प्रेस सहयोगी रामकृष्ण बजागाईले दुई नेताबीच आइतबार साँझ दुई घन्टा भेटवार्ता भएको जानकारी दिए।उनले परराष्ट्र नीतिबारे छलफल भएको बताए।वाम गठबन्धनबारे ओली र श्रेष्ठबीच के के कुराकानी भयो त्यो भने थाहा नभएको उनले बताए।

‘देशमा असंलग्न परराष्ट्र नीति छ।तर प्रधानमन्त्री शेरबहादुर देउवा भने अमेरिकाको पछि लागिरहेका छन्।ओली र श्रेष्ठबीच यसै विषयमा छलफल भएको हुनुपर्छ,’ बजगाईले न्युज कारखानासँग भने।अमेरिकी सहयोग परियोजना एमसीसी पास पाएपछि पछिल्लो समय नेपालमा अमेरिकी कूटनीति र नेताहरूको भ्रमण बाक्लिएको छ। 

स्थानीय तहको निर्वाचनपछि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका नेता श्रेष्ठबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा लिइएको छ।दुवै नेताबीचको भेटले नेपालको राजनीतिमा भने तरंग सिर्जना गरेको छ।धेरैले यसलाई वाम गठबन्धनबारे छलफल सुरु भएको अर्थमा बुझेका छन्।

प्रकाशित मिति: : 2022-06-13 14:04:00

प्रतिकृया दिनुहोस्