अमेरिकामा लुक्ने नेपालीहरूको संख्या बढेको छ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार सन् २०२० मा २७ हजार सातसय १२ नेपालीले अमेरिका छाड्नुपर्नेमा सात सय १७ नेपाली अमेरिकामै लुकेका थिए। यो संख्या ओभरस्टे भैसकेपछि पनि अमेरिकामै लुक्नेको हो। तर, ओभरस्टे भैसकेपछि पनि पाँचसय ४४ नेपाली भने नेपाल फर्केका छन्।
प्रतिशतमा लैजाँदा अमेरिकमै लुक्ने नेपालीको यो संख्या झण्डै २.६ प्रतिशत हुन्छ भने ओभरस्टे हुने नेपालीको संख्या ४.६ प्रतिशत हुन्छ। अन्य देशको तुलनामा यो निक्कै ठूलो संख्या हो।
अमेरिकामा लुक्ने नेपालीहरूको संख्यामा बढोत्तरी भएको छ। सन् २०१९ मा छ सय ७४ नेपाली लुकेकोमा सन् २०२० मा यो संख्या बढेर सात सय १२ पुगेको छ।
सन् २०१९ मा भने २७ हजार ९६ नेपालीले अमेरिका छाड्नुपर्नेमा अमेरिकामै लुक्नेको संख्या छ सय ७४ रह्यो भने ओभरस्टे भएर पनि नेपाल फर्कनेको संख्या २४२ रह्यो।
प्रतिशतमा लैजाँदा अमेरिकामै लुक्ने नेपालीको यो संख्या झण्डै २.५ प्रतिशत हुन्छ भने ओभरस्टे हुने नेपालीको संख्या ३.४ प्रतिशत हुन्छ।
आखिर नेपालीहरू अमेरिकामा लुकिरहेका छन् त?
यसका दुईवटा कारण छन्, पहिलो कारण त नेपालको दिक्क लाग्दो अवस्था नै हो। दोस्रो कारण भने अमेरिकाको समृद्धि हो।
पहिलो कारणसँग नेपालमा भविष्य सुनिश्चित नभएको कुरा जोडिएको छ भने दोस्रो कारणसँग अमेरिकामा भविष्य सुनिश्चित हुने कुरा जोडिएको छ।
हो, अमेरिकामा कागजविहीन भएर बस्नु र त्यसका लागि आशाको त्यान्द्रो समातेर लामो यात्रा गर्न सहज छैन। तैपनि, अमेरिका आइपुगेका नेपाली यही बाटो रोज्न बाध्य छन्।
यसबाट नेपाल सुरक्षित नभएको भन्ने कोणबाट नेपालको खराब छवि बनिरहेको छ। र, यो देशका मानिस कानूनको पालना नगरी लुकेर बस्नेको कोटीमा दरिएका छन्। यस कोणबाट हेर्दा विषय गम्भीर छ, तर यस बारेमा सोच्ने सरकार र मुलुकका जिम्मेवार राजनीतिक दलहरूको ध्यान यतातिर पटक्कै गएको देखिँदैन।