नीति कार्यक्रमअनुसार बजेट आउँछ: मुख्यमन्त्री भट्ट

file photo
file photo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति कार्यक्रममा समेटिएका विषय बजेटमा समेटिने बताएका छन्।

प्रदेशसभाको आजको बैठकमा सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री भट्टले छलफलमा आएका सुझावलाई सकारात्मकरूपमा लिएको बताए। 

उनले भने, 'गएको चार वर्षमा देशको आर्थिक अवस्था, काम गर्ने पुरानो शैली र प्रशासनिक झमेला जस्ता व्यवस्थाले गर्दा सोचेजति काम गर्न नसके पनि धेरै काम गरेका छौँ, धेरै ठाउँका जनताले विकासको अनुभूति गरेका छन्।'

प्रदेशको स्वास्थ्य क्षेत्र विगतको अवस्थामा सुधार आएको, सडक स्तरोन्नतिका साथै कृषि कार्यक्रम, बीउबिजन, शिक्षामा उल्लेखनीय सुधार भएको उनले बताए।

संविधानअनुसार बन्नुपर्ने साझा अधिकारका नियम कानून बन्न नसक्दा र समयमै काम हुन नसक्दा केही समस्या सिर्जना भएको बताउँदै उनले भने, 'यी विषयमा सङ्घीय सरकारले तदारुकता नदेखाएका विषयमा छलफल गर्न जरुरी छ।'

प्रदेशको स्थायी राजधानी निर्माण गरिने ठाउँमा जग्गाको स्वामित्वका लागि केन्द्र सरकारसँग पटकपटक पहल गरिएको भए पनि सफल हुन नसकिरहेको बताए।

मुख्यमन्त्रीले भने, 'पुरानो सोचाइ, चिन्तन, कार्यशैलीका कारण स्थायी राजधानी तोकिएको ठाउँमा काम अगाडि बढाउन सकिएन।'

प्रकाशित मिति: : 2022-06-09 22:08:00

प्रतिकृया दिनुहोस्