लोसपाले प्रधानमन्त्रीलाई बुझायो ११ बुँदे ज्ञापनपत्र, रेशम चौधरीलाई रिहा गर्न माग

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ११ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुले मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन्।

लोसपाले ज्ञापनपत्र बझाउँदै जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गरिनुपर्ने तथा आफ्ना नेता–कार्यकर्ताका मुद्दा फिर्तालगायतका माग गरेकाे छ।

लोसपाले विगतदेखि उठाएका माग, यसअघिका विभिन्न सरकारसँग गरेका समझदारी र सम्झौता कार्यान्वयन नभएको भन्दै अविलम्ब कार्यान्वयन गर्न वर्तमान सरकारको ध्यानाकर्षण गराएको छ।

ज्ञापनपत्रमा मधेस/थरुहट आन्दोलनलगायत नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिनुपर्ने, रेशम चौधरीलगायत बन्दीहरुको रिहाइ गरिनुपर्ने माग गरिएको छ।

नेपालका उत्पीडित समुदाय मधेसी, थारु, आदिवासी जनजाति, शिल्पी (दलित), महिला, मुस्लिमलगायतका सम्मान, पहिचान र अधिकार प्राप्तिको लागि संविधान संशोधन गर्न लोसपाले माग गरेको छ।

यस्तै तीन तहको सरकारद्वारा समानुपातिक बजेट वितरणको सिद्धान्त लागू गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, विगतमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग गरिएका सम्झौता लागू गर्नुपर्ने ज्ञापनपत्रमा भनिएको छ । 

प्रकाशित मिति: : 2022-06-07 11:39:00

प्रतिकृया दिनुहोस्