केपी ओलीले ११ वर्षअघि प्रधानमन्त्री झलनाथ खनालको राजीनामा मागेका थिए

Rss
Rss

नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि अनुशासनको कारवाही सिफारिसले पार्टीभित्र तरंग ल्याएको छ।

पार्टी अध्यक्षका विरुद्ध बोलेको भन्दै पार्टीको अनुशासन आयोगले उनलाई कारवाहीको सिफारिस गरेको हो। घनश्यामले स्थानीय तह निर्वाचनमा पार्टीले पराजय भोग्नुको कारण अध्यक्ष केपी ओली भएको बताएका थिए। सोही आधारमा उनले राजनीनामा दिनुपर्ने उनको माग थियो। 

घनश्यामले अध्यक्ष ओलीको राजीनामा माग गरेपछि ओलीले अनुशासन आयोगमार्फत उनलाई कारवाही गर्न निर्देशन दिएका थिए। सोही आधारमा केशव बडाल अध्यक्ष रहेको अनुशासन आयोगले उनलाई कारवाही सिफारिस गरेको हो। 

अब बस्ने सचिवालय बैठकले उनीमाथिको कारवाहीको विषयमा निर्णय गर्नेछ। १९ सदस्यीय सचिवालयको बहुमत सदस्यले उनीमाथिको कारवाही सदर गर्नुपर्ने हुन्छ।

आफुविरुद्ध अभिव्यक्ति दिएकोमा आक्रोशित बनेका अध्यक्ष ओलीले आजभन्दा ११ वर्षअघिको अभिव्यक्ति स्मरण गर्न सकिन्छ। त्यो बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनालको राजीनामा माग गरेका थिए। तत्कालिन वरिष्ठ नेता समेत रहेका ओलीले सार्वजनिक अभिव्यक्ति मार्फत नै खनालको राजीनामा माग गरेका थिए।

‘असफल भइसकेको यो सरकार फेरि कायम राखिराख्नुको कुनै अर्थ छैन्। त्यसकारण यस सरकारलाई धन्यवादसहित तिन महिना खेर फालेता पनि, तिन महिना सरकार नामको चिज/चिडिया यस हाँगामा बस्यो, जे रस खाए खायो, नखाए नखायो, धन्यवाद छ अब कुर्सी खाली गर,’ ओलीले भनेका थिए। 

ओली यत्तिकैमा रोकिएनन्। उनले भनेका थिए, ‘राष्ट्रिय सहमतिका लागि बाटो छोड र शान्ति र संविधानको रड, आफैंले हिजो लगाएको रड आफैंले हिजो बजाएको सारंगी, आफैंले हिजो बजाएको एकतारे सम्झ। राजीनामा गरेर राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर।’

देशलाई एउटा व्यक्ति हेरेर देशलाई जहाँ सुकै जाओस् भन्न नसकिने उनको भनाई थियो। उनले तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकारको लागि मार्ग प्रशस्त गर्न माग गरेका थिए।

‘राष्ट्रिय सहमति निर्माण गर्नै पर्दछ। एमाले, माओवादी, कांग्रेस, मधेशवादी दलहरू सरकारमा सामेल हुनसक्नेस्थिति निर्माण गर्नुपर्दछ,’ ओलीको भनाई थियो।

आजभन्दा ११ वर्ष अघि आफ्नै पार्टीको सरकारविरुद्ध लागेका ओलीले अहिले भने आफुविरुद्ध बोल्ने घनश्याममाथि कडा कदम चाल्न लागेका छन्। 

प्रकाशित मिति: : 2022-06-05 13:30:00

प्रतिकृया दिनुहोस्