काठमाडौं भारतीय कांग्रेसका युवा नेता तथा पञ्जाबी गायक सिद्धू मूसेवालाको हत्यारा खोज्न दिल्ली प्रहरीको एउटा विशेष टोली काठमाडौं आइपुगेको छ।
उनको गत आइतबार पञ्जाबस्थित मनासा जिल्लाको जवाहरेक गाउँमा गोली हानी हत्या गरिएको थियो। गायककाे हत्यापछि पछिल्लाेपल्ट भारतभर हल्लीखल्ली मच्चिएकाे छ।
हत्यामा संलग्न बन्दुकधारीहरू भारतीय राज्य बिहार हुँदै नेपाल छिरेको पत्तो पाएपछि प्रहरीको विशेष टोली शुक्रबार काठमाडौं आएको भारतीय सञ्चारमाध्यम इण्डिया टुडेले उल्लेख गरेको छ।
मूसेवाला हत्याकाण्डको अनुसन्धानका क्रममा हत्याराहरू लुकीछिपी नेपाल आएको सूचना प्राप्तपछि भारतीय विशेष गुप्तचर विभागले एउटा टोली काठमाडौं खटाएको नेपाल प्रहरीका उच्च अधिकारी बिएल नेपाली सेवालाई बताएका छन्।
'भारतीय प्रहरीको एउटा टोली काठमाडौं आइपुगेको छ। यसअघि पनि यसैगरी पटकपटक नेपालमा आएर उनीहरू अप्रेसन गर्थे। तर कैयौं यस्ता घटनाहरू बाहिर आउँदैनन्,' ती अधिकारीले भने।
पञ्जाब प्रहरीले मूसवालामाथि आक्रमण गर्दा बोलेरो कार प्रयोग गर्न दिएको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरिसकेको छ। पञ्जाब हत्याकाण्डको अनुसन्धानका क्रममा भारतीय प्रहरीले थुप्रै नयाँ–नयाँ खुलासा बाहिर आइरहेको दाबी गरेको छ।
राजनीतिज्ञ तथा गायक मूसवालालाई जीपभित्रै गोली हानेर मारिएको थियो। उनलाई १९ वटा गोली लागेको प्रहरीले जनाएको छ।
गोली लागेको १५ मिनेटमै मूसवालाको मृत्यु भएको उनको पोस्टमार्टम रिपोर्टले जनाएको छ। उनको मंगलबार मनासाको मोसा गाउँमा दाहसंस्कार गरिएको पारिवारिक स्रोतले बताएको छ। उनको हत्याको जिम्मा लरेन्स विश्रोइ ग्याङस्टारले लिएको छ।
प्रहरी हिरासतमा रहेका गुण्डा नाइके कला जठेदी र उनका सहयोगी कला राणालाई पनि सोधपुछ गरिएको छ।
यता नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णु केसीले भारतीय प्रहरी नेपालमा आएको जानकारी नभएको बताएका छन्। 'भारतीय मिडियाले प्रचार गरेजस्तो भारतीय प्रहरीकाे विशेष टाेली नेपाल आएको हामीलाई अहिलेसम्म कुनै जानकारी छैन,' उनले भने।