काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत सँगकाे भेटघाटलाई गलत तरिकाले नबुझ्न आग्रह गरेका छन्।
काठमाडाैँको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि छलफल गर्न, सुझाव समेट्न र सहकार्यका लागि पहल गर्न धेरैभन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्नुपर्ने भएकाेले यसलाई सकारात्मक रूपमा लिनुपर्ने उनकाे भनाइ छ।
‘काठमाडाैँकाे उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाव समेट्न र सहकार्यका लागि पहल गर्न धेरै भन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेका छौँ,’ मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘यो सिलसिला उम्मेदवारी घोषणा गर्नुभन्दा पहिलेदेखि सुरु भएर निकै पछिसम्म पनि रहिरहने छ। समय अनुकुलताका कारण कसैसँग अघि वा पछि भेट हुन सक्छ। यसलाई अन्यथा नबुझिदिन अपिल गर्दछौँ।’
भेटघाटबाट आफूमा थप ऊर्जा मिलेकाे उनकाे भनाइ छ।