पोखरा–जोमसोम रुट निकै त्रासपूर्ण छ। विगत हेर्दा यहाँ ठूला ठूला दुर्घटना भएको देखिन्छ।
आजभन्दा ७ वर्षअघि २०७२ फागुन १२ तारा एयरकै विमान दुर्घटना भयो। म्याग्दीमा दुर्घटना भएको यो दुर्घटनाबाट २३ जनाको ज्यान गएको थियो।
२०६९ जेठ १ मा अग्नि एयरको विमान जोमसोममा दुर्घटना भयो। विमानस्थल नजिकै पानी टंकीमा दुर्घटना हुँदा १५ जनाले यसमा ज्यान गुमाए।
त्यसैगरी २०५६ सालमा पनि जोमसोम रुटमै पर्ने म्याग्दीको नारच्याङमा लुम्बिनी एअरको विमान दुर्घटना हुँदा चालक दलसहित १८ जनाको ज्यान गएको थियो।
२०५९ भदाै ३ मा जोमसोमबाट पोखरा फर्किएको सांग्रिला एयरको विमान पोखरामा दुर्घटना भयो। तत्कालीन समयमा १८ जनाको मृत्यु भएको थियो। २०७३ साल भदौमा तारा एयरकै जहाज धावनमार्गबाट चिप्लिएर कालीगण्डकीमा खस्यो। तर तत्कालीन समयमा मानवीय क्षति थिएन।
गण्डकी क्षेत्रमा दुर्घटना भएका जहाजहरु अरु पनि छन्। २०१९ सालमा बागलुङको ढोरपाटनमा नेपाल वायुसेवा निगमको जहाज दुर्घटना हुँदा १० जनाले ज्यान गुमाए। सोही वर्ष नेपाल वायुसेवा निगमकै जहाज ढोरपाटनमै दुर्घटना भयो, ६ जनाको मृत्यु भयो।
८ वर्षपछि २०२७ सालमा रोयल लाइट जोमसोममा दुर्घटना हुँदा एक जनाले ज्यान गुमाए। १८ वर्षअघि २०६२ सालमा यति एयरलाइन्सको विमान लमजुङमा दुघर्टनामा पर्दा ३ जनाले ज्यान गुमाएका थिए।