सर्वोच्च अदालतले सरकारलाई बाराको निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउन रोक लगाएको छ। बृहत–पूर्ण इजलासले निजगढमा विमानस्थल निर्माण नगर्न आदेश दिएको हो।
न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माले निजगढको विकल्प खोज्न नेपाल सरकारलाई आदेश दिएका छन्।
अदालतको निजगढ फैसलासँगै राष्ट्रिय गौरवको आयोजना प्रभावित हुने पक्कापक्की जस्तै छ। वरिष्ठ अधिवक्ता रञ्जुहजुर पाँडे र प्रकाशमणि शर्माले दायर गरेको रिटमा अदालतले आज अन्तिम फैसला गरेको हो।
सर्वोच्चले विमानस्थल निर्माणका लागि गरिएको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र त्यसलाई ससर्त स्वीकार गर्ने वन मन्त्रालयको निर्णयलाई पनि बदर गरिदिएको छ।
आदेशको लिखित कपी तयार हुँदै गरेको सर्वोच्चले जनाएको छ।