पर्वतारोहण संघकाे साधारण सभा स्थगनपछि ५ सय बढी सदस्य सहभागी हलमा तालाबन्दी

सोमबारलाई डाँकिएको नेपाल पर्वतारोहण संघ (एनएमए)को ३१औं वार्षिक साधारण सभा अचानक स्थगित भएको घोषणा भएसँगै पर्यटन श्रमिकहरुले चर्को विरोध जनाएका छन।

नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग)ले सोमबार अपरान्ह संघको सचिवालय र प्रशासनिक कक्षमा तालाबन्दी गरेको छ।

‘बिहान साढे ११ बजेका लागि साधारण सभा डाँकिएको थियो’, निटोगका अध्यक्ष रामकाजी तिवारीले बिएल नेपाली सेवासँग भने,‘तर, मध्यान्ह १२ बजे एकाएक साधारण सभा स्थगित भएको सूचना टाँगियो। यस्तो बेइमानी पनि गर्न पाइन्छ ?’

सभाहलमा ५ सयभन्दा बढी सदस्यहरु सहभागी भइसकेको अवस्थामा सभा स्थगित गरिएको विरोधमा तालाबन्दी गरिएको अध्यक्ष तिवारीले बताए।

‘साधारण सभा नगराउन भूमिका खेल्ने संघका महासचिव कुलबहादुर गुरुङ, कोषाध्यक्ष सुदर्शन न्यौपाने, तालिम समिति संयोजक तुल्सिङ गुरुङ र मनाङ पर्वतीय स्कुलका संयोजक पासाङ तेण्डि शेर्पाले राजीनामा नदिएसम्म ताला खोल्दैनौं,’ उनले भने।

निटोगले यो सहित पर्यटन मजदुर हितका विभिन्न माग पनि अघि सारेको छ। तालाबन्दी कार्यक्रममा मोगानलगायत संस्थाका प्रतिनिधि सहभागी थिए।

‘यसरी वैधानिक सभा रोक्नु सरासर दादागिरी हो,’ मोगानका कोषाध्यक्ष लालबहादुर वाइवा भन्छन्,‘हामी चुप लागेर बस्दैनौं। वारपार नगरी छाड्दैनौं।’

‘साधारण सभामा भाग लिन आएका सदस्यहरु सभाहलबाट अचानक फर्किनु पर्दा आक्रोशित भएका छन। म एजिएमकै लागि भनेर सोलुबाट हवाईजहाज चढेर आएँ’, सदस्य भरत केसीले भने,‘कसैको लहडमा एजिएम क्यान्सिल हुँदा दुःख लाग्यो।’

संघमा तालाबन्दी भइरहँदा नजिकैको एक रेष्टुराँमा भने साधारण सभा रोकिएको विषयमा संघका पदाधिकारीहरु पत्रकार सम्मेलनमा व्यस्त थिए।

काठमाडौं जिल्ला प्रशासन कार्यालयको पत्रका आधारमा साधारण सभा स्थगित गरिएको संघका अध्यक्ष सन्तविर लामाले बताए।

स्मरण रहोस् उच्च अदालत पाटनले गत फागुन २४ गते संघका कुनै पनि गतिविधि नरोक्न आदेश दिएको थियो। यति हुँदा हुँदै पनि जिल्ला प्रशासन कार्यालयको पत्रका आधारमा साधारण सभा रोक्नु अबैधानिक भएको निटोगको ठहर छ।

जिल्ला प्रशासन कार्यालयको पत्रका आधारमा साधारण सभा रोक्नु न्यायोचित नभएको संघका कार्यसमिति सदस्य संजिव गुरुङ पनि बताउँछ्न्।

‘त्यो पत्रमा संस्था दर्ता ऐन र संघको विधानअनुसार कार्यक्रम गर्नु भनिएको छ,’ गुरुङ भन्छ,‘साधारण सभा त विधानअनुरुपकै काम हो। यसलाई स्थगित गर्नुको पछाडिको स्वार्थ के हो ?’

अदालतको आदेश अवहेलना र मानहानी गरेको विषयमा निटोगले आवश्यक मुद्धा अघि बढाउने तयारी गरिरहेको छ।

प्रकाशित मिति: : 2022-05-23 19:10:00

प्रतिकृया दिनुहोस्