अन्तरघात नभएको भए कांग्रेसले चार सयभन्दा बढी पालिका जित्थ्योः डा. प्रकाशशरण महत

File photo
File photo

 

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस भित्र अन्तरघात नभएको भए अझै बढी पालिकाको नतिजा कांग्रेसको पक्षमा आउने बताएका छन्। 

आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अन्तरघातका कारण कांग्रेसले केही पालिका गुमाउनु परेको जनाए। 

‘हाम्रो पार्टीमा अहिले पनि अन्तरघातको समस्या समाप्त भएको छैन। यदि हाम्रो पार्टीमा अन्तरघात नभइदिएको भए यति मात्र होइन ४०० को नजिक जित संख्या पुयाउँथ्यौ भन्ने हाम्रो अनुमान छ,’ उनले भने। 

पत्रकार सम्मेलनमा उनी बोलिरहँदा देशका ७५३ वटा पालिकामध्ये ३२१ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी बनेका थिए। 

‘सबै पालिकाको नतिजा आएपछि पार्टीले बैठक बसी समिक्षा गर्ला। यद्यपी नतिजा सकारात्मक छ, सन्तुष्टीजनक छ,’ प्रवक्ता महतले भने।  

निर्वाचनको परिणामले गठबन्धनमा रहेका दलहरुबीच विश्वासको आधार मजबुत बनाएको दाबी समेत उनले गरे। गबन्धन नगरी एक्लै लडेका स्थानमा पनि कांग्रेसले व्यापक सफलता प्राप्त गरेको उनले जनाए। 

‘नगरपालिकाहरुमा झण्डै ५० प्रतिशत हाराहारीमा कांग्रेसले जित हासिल गरेको छ। मतदाता, जनसंख्यालाई आधार मान्ने हो भने आधा ठाउँमा जित हासील गरेका छौं भन्न सक्छौं,’ महतले भने। 

प्रकाशित मिति: : 2022-05-23 16:24:00

प्रतिकृया दिनुहोस्