
रूपा शर्मा ‘नेहा’
नेपाली मात्र मात्र हैन, संसारभरका मानिसको सपनाको सहर हो अमेरिका। सपनाको सहर मात्र पनि हैन, त्यही सपनालाई सम्भावना अनि त्यो सम्भावनालाई आफ्नो योग्यता, दक्षता र क्षमताको आधारमा साकार पारिदिने संसारकै उत्कृष्ट गन्तव्य पनि हो अमेरिका।
जिन्दगीभर पसिना बगाएर कमाएको सम्पत्ति मात्र हैन, जिजुबाजेको पालादेखि साँचेर राखेको घरजग्गा पनि अमेरिका जाने सपनामा मलामी हुन्छन्।
यही सपनाको सहर अमेरिकामा आफूले देखेका केही घटनाक्रम आम नेपालीमाझ पुर्याउने कोसिस यहाँ रहनेछ। यही घटनाले मात्र अमेरिकाको चित्रण गर्न खोजेको चाहिँ पक्कै होइन। तर यी घटनाहरू बाहिर ल्याउँदा यस्तो पनि हुन सक्छ कि भनेर अमेरिका जान तम्तयार भएका र भर्खरै अमेरिका पुगेका नेपालीलाई सचेत गराउन पक्कै मदत पुग्छ भन्ने लागेर आफूले देखेका केही घटनालाई जस्ताको तस्तै राख्न खोजेकी हुँ।
दृश्य-१
अमेरिकाको न्यूयोर्क पुगेपछि ज्याक्सन हाइट नचिन्ने र नजाने नेपाली कमै होलान्। नेपाली, इन्डियन, स्पानिस अनि बङ्गालीहरूको व्यवसाय रहेको ज्याक्सन हाइटमा एक कप चियाको चुस्की लिँदै बसिरहेका नेपालीहरू प्रशस्तै भेटिन्छन्। नेपालको न्यास्रो मेटाउने नेपाली रेष्टुरेन्टहरू ज्याक्सन हाइटमा धेरै नै छन्।
ज्याक्सन हाइट चोक वरपरकै म:म, चटपटे, सेलरोटी पाइने नेपाली रेष्टुरेन्टदेखि कुर्ता-सुरवाल, साडी र गरगहनाका पसलहरू देख्दा आफू नेपाल र इन्डियाको बाेर्डरतिर छु कि भन्ने भान हुन्छ।
त्यही भिडभाडमा एक साँझ नेपालीले सडक छेउमा राखेको कपडा पसलमा पुग्दा नयाँ महिला किशोरी देखेपछि घन्टौँ अलमलिएर उनीहरूलाई नजानिदो पारामा हतोत्साहित गर्नेदेखि चिया पिउन जाउँ न भनेर नकारात्मक शैलीमा अफर गर्न भ्याउने पुरुषहरू पनि देखियो।
आफूलाई ‘डिभोर्सी’ हैन, ‘सेपरेटेड हुँ’ भन्न रुचाउँछु भन्दै नौलो महिला देखेपछि अमेरिकाको ‘ग्रिनकार्ड’ र ‘सिटिजनसिप’को प्रलोभनमा पार्न सक्छु कि भनि चारो हाल्न खोज्दा रहेछन्।
भर्खरै नेपालबाट अमेरिका पुग्नुभएकी एकजना दिदीले गुनासो गर्दै हुनुहुन्थ्यो- कोठा खोज्नलाई यसो नेपालीहरूलाई सहयोग माग्न खोज्यो ‘सँगै मिलेर बसौँ, मेरो नि बुढी छैन, के फरक पर्छ र?’ भन्दै दुर्व्यवहार गर्न खोज्ने पुरुषहरू धेरै भेटेँ।
त्यसो त सहयोगी मन भएका नेपाली नै छैनन् भन्न खोजेको चाहिँ पक्कै हैन तर त्यहाँ पनि भर्खरै गएका महिला र किशोरीलाई प्रलोभन देखाएर स्वार्थ पूरा गर्ने पुरुषहरू पनि रहेछन् भन्न मात्रै खोजेको हो।
दृश्य-२
ज्याक्सन हाइटमा रहेको एक कपडा पसलमा एकजना महिलाले कपडा फिटिङ गर्ने र सिलाई गर्ने काम गर्ने रहिछन्। इन्डियाको गुजरातबाट १० वर्षकी छोरी र श्रीमान छाडेर तल्लो बाटो हुँदै उनी झन्डै ६० लाख बुझाएर अमेरिका पसेकी रहिछन्।
कपडा सिलाउँदै भिडियो कलमा श्रीमानसँग बोल्दै गरेकी उनले आँखाभरि आँसु पार्दै भनिन्, ‘परिवारको खुसीका लागि दलाललाई पैसा खुवाएर आएँ तर अहिले दिनभरि काम गर्दा २० देखि ४० डलरभन्दा बढी पैसा आउँदैन, अब त्यत्रो ६० लाख ऋण कहिलेसम्म तिरेर सक्ने होला?’
घण्टाको दरले हिसाब गरेर ज्याला दिइने अमेरिकामा केही व्यक्तिले दिनभरिमा २० डलर मात्र पनि पाउँदा रहेछन् भन्ने सुन्दा श्रमशोषण नेपालमा मात्र हैन, अमेरिकामा पनि हुने रहेछ भन्ने प्रष्ट देखियो।
विश्वव्यापी रुपमा अर्थतन्त्रमा देखिएको शिथिलताले विश्वकै धनी देश अमेरिकालाई पनि नराम्रोसँग गाँजेको रहेछ भन्ने अनुमान गर्न मलाई गाहो भएन।
ज्याक्सन हाइट वरपर भएका केही सटरहरू खाली हुनु र जब एजेन्सीहरूमा बेरोजगार मानिसको ओइरो लागेको देखिनुले पनि हिँजो हामीले सोचेको सपनाको देश र भोगेको अमेरिका निकै फरक भएको मैले अनुभव गरेँ।
दृश्य-३
अमेरिकाको ज्याक्सन हाइटमै झन्डै ६५ वर्षका एकजना नेपाली छोराछोरीले हेला गरेर एक्लै छोडिदिएपछि बुढेसकालमा घरको न घाटको भएका छन्। ‘नेपाल जाउँ कोही छैन, यहाँ बसौँ पकाएर खानेसम्म तागत छैन’, उनले आफ्नो दुखेसो यसरी पोखे।
आफ्नो स्याहार-सुसार गर्न कोही नभएपछि नेपालमा गएर ३० वर्षकी युवतीलाई बिहे गरेका उनले बिहे गरेको ३ वर्ष बितिसक्दा पनि श्रीमती ल्याउन नपाएपछि यतिबेला अमेरिकामै बिहे नगर्ने तर सँगै बस्ने राम्री केटी पाए हुन्थ्यो भनेर खोजिरहेका छन्।
कस्तो केटीको खोजीमा हुनुहुन्छ त? उनको जवाफ छ- ‘अमेरिकाको सिटिजन हुँ, सकेसम्म भर्खरकी छरितो शरीर भएकी, मैले भनेको सबै मान्ने र मलाई स्याहार सुसार गर्ने त चाहियो नि!’
चाउरी परेको गाला अनि थर्थराइरहेको औँलाहरू प्रेसर र सुगरका बिरामी उनमा अमेरिकाको ‘सिटिजनसिप’को दम्भ कति रहेछ भन्ने प्रष्ट देखिन्थ्यो।
रक्सीको नसा अनि दमको रोगले भरे हो कि भोलि भन्ने अवस्थामा पुगेका उनले भन्दै थिए- ‘यो अमेरिकामा मरेँ भने लास त सरकारले फ्याँकिदेला तर मेरो सम्पत्ति पनि उसैले लान्छ।’ त्यही बैङ्कमा भएको अलिकति डलर र सिटिजनसिपको लोभ देखाएर उनी आफूभन्दा ३० वर्षजति कम उमेरकी केटी खोजी गर्दैछन्।
दृश्य-४
एकदिन अमेरिकाको टाइम्स स्क्वायरमा एकजना नेपाली युवा भेटिए। कतै देखेको अनुहारजस्तो लाग्यो। फेसबुक लाइभबाट चर्चा बटुलेका उनी दलाललाई टन्नै पैसा खुवाएर झन्डै ९ महिना अगाडि अमेरिका आएका रहेछन्।
नेपालबाट युरोपको विभिन्न देश हुँदै अमेरिका भित्रिएका उनलाई आफू तल्लो बाटो अमेरिका पसेको भन्नुमा कुनै संकोच थिएन। उनले भने, ‘मैले सबै बुझेर पनि रोजेको बाटो थियो यो, त्यसैले कान्लैकान्ला भोकभोकै हिँडेर महिनौँ लगाएर अमेरिका पुगे पनि यसमा मलाई कुनै पछुतो छैन। नेपालमा बाँचेर पनि मरेको जिन्दगी जिउनुभन्दा यहाँ मर्दा-मर्दै स्वाससम्म बचाएर आइयो भने पूरै जिन्दगी बाँच्न त पाइन्छ।’
बरु उनलाई आफूलाई अमेरिका पठाउने एजेन्टहरूले नेपालमा पत्रकार भन्दै राम्रो व्यवहार गरे पनि अमेरिका आउने प्रक्रियामा लागेपछि जनावरसरह व्यवहार गरेकोमा दु:ख लागेको छ।
‘नेपालमा बसेर अन्यायविरुद्ध आवाज उठाइरहँदा देशको हविगत राम्रोसँग नियाल्ने मौका पाएँ, त्यसपछि यो देश हामीजस्ताका लागि हैन रहेछ भन्ने लागेर नै म तल्लो बाटो हुँदै यहाँसम्म आएको हुँ’, उनको भनाइ छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया