नयाँ पुस्ताले मनमोहनको सादगीबाट पाठ सिक्नुपर्छ: ईश्वर पोखरेल

File Photo
File Photo

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारी कम्युनिष्ट आन्दोलनको सादगी र कहिल्यै विवादमा नपरेको नेता भएको बताएका छन्।

नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बिहीबार सानेपा ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले नयाँ पुस्ताले उनको सादगीबाट पाठ सिक्नुपर्ने बताए।

उनले सधैँभरि आफूलाई असल मान्छेको रूपमा सबैले चिनिदिउन् भन्ने मान्यता राख्ने नेता भएको पोखरेलले स्मरण गरे। उनी सादगीको पर्याय भएको पोखरेलले बताए।

नेपाको कम्युनिष्ट पार्टीभन्दा पनि जेठा कम्युनिष्टको रूपमा मनमोहन अधिकारीलाई चिनिने उनले बताए। अधिकारीले भारतीय कम्युनिष्ट पार्टीमा आबद्ध भएर भारतीय स्वतन्त्रता सङ्ग्राममा समेत योगदान गरेको पोखरेलले स्मरण गरे।

‘उहाँलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा पनि हामीले बुझ्नुपर्छ, मनमोहन अधिकारीलाई हामीले सम्झिरहँदा उहाँलाई आन्दोलनको निरन्तरताको रूपमा बुझ्ने गर्दछौँ’, पोखरेलले भने।

मनमोहनले नेपाललाई बलियो राष्ट्रिय शक्तिको रूपमा विकास गर्नुपर्छ भन्ने धारणा राख्ने गरेको उनले स्मरण गरे। नेपालको भूराजनीतिक संवेदनशीलता उनी अत्यन्त रहेको पनि पोखरेलले स्मरण गरे। उनले देखाएको सो बाटोमा अघि बढ्नु आजको आवश्यकता रहेको उनले बताए।

मनमोहन अधिकारीको कृषि र सामाजिक सुरक्षाको क्षेत्रमा विशेष लगाव रहेको पोखरेलले स्मरण गरे। त्यसैको स्मरणमा मनमोहन स्मृति प्रतिष्ठानको ती क्षेत्रमा काम गरिरहेको उनले स्पष्ट पारे।

अधिकारीले सुरु गरेको सामाजिक सुरक्षा भत्ताको कार्यक्रम दक्षिण एसियाकै नयाँ र नमुना कार्यक्रम भएको उनले बताए। मनमोहन अधिकारी जुन विचार बोकेर अघि बढ्नु भएको थियो त्यो विचारलाई मनमोहन स्मृति प्रतिष्ठानले निरन्तर बोकेर हिँड्ने उनले प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: : 2024-04-25 10:58:00

प्रतिकृया दिनुहोस्