सिरहामा बिहेको तीन दिनअघि बाबु-छोराको हत्या

सिरहामा धारिलो हतियार प्रहार गरी बाबु छोराको हत्या गरिएको छ।

घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाहाइ भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति हत्या गरिएको हो।

सन्तकुमारको यहि ११ जेठमा विवाह हुने भएकाले गाउँले महिलाहरू विवाह गीत गाएर करिब १२ बजे सुतेका बाबुछोराको करिब २ बजे राति हत्या भएको स्थानीय अरुण सिंहले जानकारी दिए। 

उनका अनुसार राति करिव १२ बजेसम्म गीत बजिरहेको थियो,। विहानपख करिब २ बजेको आसपासमा घटना भएको हुनसक्ने आशंका गरिएको उनले बताए।

घरको छुट्टाछुट्टै कोठामा बुबा र छोरा सुतेका थिए। उनीहरूको सुतिरहेकै ठाउँमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा फेला परेका हुन्।

बुवा एक्लै सुतेको र सन्तकुमारसँग गाउँकै १०/१२ वर्षको एक जना बालक सुतेका थिए। उनले नै हत्या भएको थाहा पाएपछि घरका अन्य सदस्यलाई र गाउँलेलाई जानकारी गराएका थिए।

घटनाको जानकारी पाएलगतै करिब बिहान ४ बजे नै घटनास्थल पुगेको प्रहरीले घटनास्थल शील गरेर अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले घटनाबारे तत्काल केही बताउन नसकिने जानकारी दिए। ‘घटना भएको छ।

हामीले विभिन्न ढंगले अनुसन्धान गरिरहेका छौँ। तत्काल घटनाकाबारेमा केही बताउन सकिँदैन,’ उनले भने। प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिएको छ।

प्रकाशित मिति: : 2022-05-22 15:14:00

प्रतिकृया दिनुहोस्