नेपाली मूलका अमेरिकी राज्य सांसद डा. ह्यारी भण्डारीले मेरिल्याण्ड राज्यका गभर्नर ल्यारी होगनलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। उनले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीका तर्फबाट गौतम वुद्धको प्रतिमा हस्तान्तरण गर्दै निम्तो दिएका हुन्।
निम्तो हस्तान्तरणका लागि मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसस्थित गभर्नर हाउसमा एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रम २५६७ औं बुद्धजयन्तीको अवसर पारेर सोही दिन आयोजना गरिएको थियो।
वुद्ध प्रतिमा हस्तान्तरण गर्दै डेलिगेट डा. भण्डारीले आफ्नो जन्मदेश नेपाल यहाँलाई स्वागत गर्न आतुर हरेको र बताए। उनले भने, ' म जन्मेको गण्डकी प्रदेशका तर्फबाट त्यहाँका मुख्यमन्त्रीज्यूले यो निम्तो पठाउनु भएको हो। गण्डकी प्रदेश मेरिल्याण्ड राज्यसँग भगिनी सम्बन्धको हात बढाउन चाहन्छ।'
गभर्नर होगनले वुद्ध प्रतिमालाई स्नेहपूर्वक स्विकार गर्दै सुन्दर उपहारका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीलाई धन्यवाद ज्ञापन गरे। उनले भने, 'म उपयुक्त समयमा नेपालको भ्रमण गर्नेछु। मैले नेपालको सुन्दरताका बारेमा सुनेको छु।'
भगवान वुद्धको प्रतिमाको सुन्दर उपहारसहित नेपाल भ्रमणको निम्तो दिनु भएकोमा गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीलाई धन्यवाद मैले नेपालको सुन्दरताका बारेमा सुनेको छु। म उपयुक्त समयमा नेपालको भ्रमण गर्नेछु।
- गभर्नर ल्यारी होगन, मेरिल्य्याण्ड
गभर्नर होगनलाई वुद्ध जयन्तीकै दिन वुद्ध प्रतिमा प्रदान गरेर निम्तो गर्न पाउँदा डेलिगेट डा. भण्डारी खुशी देखिए। उनले बीएल नेपालीसँग कुराकानी गर्दै भने, 'एउटा नेपाली त्यहाँ पुग्दा कति फरक पर्छ भन्ने प्रमाण हो। म मेरिल्याण्डको सांसद नभएको भए यो शायदै सम्भव हुने थियो होला। यसले अमेरिकामा नेपाल र नेपाली अरू देखिएका छन्, सुनिने छन्।'
केही समयअघि डेलिगेट डा. भण्डारी नेपाल भ्रमणमा गएका थिए। सोही बेला उनलाई गण्डकी प्रदेश सरकारले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको थियो र मेरिल्याण्ड राज्यसँग भगिनी सम्बन्ध स्थापना गर्ने आशयका साथ मित्रताको हात अगाडि बढाउन डेलिगेट डा. भण्डारीमार्फत् गभर्नर होगनलाई निम्तो पठाएको थियो।
मेरिल्याण्ड राज्यका डेलिगेट डा. भण्डारी को जन्म गण्डकी प्रदेशको पर्वत जिल्लाको तत्कालिन थापाथाना गाविस अहिलेको फलेबास नगरपालिकामा भएको हो।