चिटिक्क परेको त्यो रातो घर। चारैतिर करेसाबारी। घरअघिको दुबेचौर। बगैँचामा लहरै बिछ्याएका काठे–मेच। न प्रहरी, न सहयोगी। वरिपरी खेलिरहेका तीनवटा कुकुर। रहर लाग्दा फलफूलका विरूवा। घर्ती निवास जो छिर्छ, ऊ आफैँ गेट खोल्छ। अनि फर्किंदा पनि आफैँ बन्द गर्छ।
सातदोबाटोनेरै त्यही फराकिलो आँगनमा भेटिन्छन्, रोल्पाली ‘बा’ अर्थात् बालाराम घर्तीमगर।
चक्रपथमा अविछिन्न फन्को लगाइरहेका मोटर-गाडीको कर्कस आवाजलाई छेल्दै उनी पत्रपत्रिका र किताबहरू पढिरहेका हुन्छन्। मोबाइलको घण्टी बज्न बेर लाग्दैन, उनले फोन उठाइहाल्छन्। परिचय माग्छन्, दिन्छन्। भेट्न घरभित्रै बोलाउँछन्, अनि भेटवार्ता गर्छन्। आफैं बनाउँछन्, ल्याउँछन् अनि चियाको चुस्कीसँगै ‘वात’ मार्छन्।
०००
घर छेउका स–साना बालबालिकाहरू मन्त्री ‘बा’ भन्छन्, लखेटालखेट गर्छन्, कराउँछन्। उफ्रिन्छन्। थाक्छन्। अनि दैलोतिर लाग्छन्। बालाराम केटाकेटीसँग खेल्न खुब रूचाउँछन्। गफिन मन पराउँछन्। एकैछिन भए पनि बालापनको यादमा हराउँछन्।
आफ्नो बालापनको स्मरण गर्छन्, मिझिङ फर्किन्छन्। अनि खोलानाला र वनपाखा सम्झिन्छन्। सँगसँगै लडिबुडी खेल्छन्, रमाउँछन्। विक्रम संवत् २००५ तिरको रोल्पाझैँ ठान्छन्, ललितपुरमै हराउँछन्।
०००
राजनीतिको यात्रामा निथ्रुक्क भिजेका छन्, बालाराम। तर डुबेका छैनन्। थाकेका छन्, हारेका छैनन्। गतिशील छन्, सन्यासको कुरै गर्दैनन्। उल्टै प्रश्न गर्छन्, ‘राजनीति भनेको समाजको सेवा हो। समाजसेवामा पनि सन्यास हुन्छ र?’
नेता–कार्यकर्तालाई तान्ने र तन्काउने नेपाली राजनीति जसरी चलोस्-चलोस् तर उनी जपिरहन्छन्– त्याग, समर्पन र निष्ठा। बिनाटिप्पणी छाती ठोक्छन्, आफ्नो गर्विलो सिंहदरबार यात्रा र बिदाईप्रति।
पञ्चायतका ३० वर्ष मात्रै होइन, बहुदलका ८ वर्ष पनि राजा, शीर्ष पञ्चायती नेता र जनताको केन्द्रबिन्दूमै रहे, बालाराम। उनी सम्भततः नेपालको सबैभन्दा धेरै अवधि सांसद हुने पात्रमध्ये एक हुन्।
२०१५ सालको संसदीय निर्वाचनले राजनीतिको झोला बोक्न सिकायो। तर २०१८ सालमा भने गाउँ पञ्चायतको चुनावसँगै आफैँ राजनीतिको राजमार्गमा ओर्लिए। जब वडा सदस्य निर्वाचित भएर जनताको काममा जुटे, त्यसपछि उनले कहिल्यै पछाडि फर्किनु परेन।
०००
रोल्पा र ललितपुरका मतदाताको अथाह प्रेम रह्यो। राजाको विश्वास जिते। जनताको माया पनि। परिवार, राजनीति, धर्म, इतिहास, संस्कृति र दर्शनशास्त्रले भरिपूर्ण छन्, बालाराम ‘बा’।
समर्थकहरू विभिन्न विशेषणले विभूषित गर्छन्, उनलाई। घृणा गर्नेभन्दा माया, आदर र सम्मान गर्नेको ठूलो जमात छ। रोल्पादेखि काठमाण्डूसम्मको सामाजिक, राजनीतिक कर्मलाई मार्मिक र तथ्यपरक रूपमा प्रस्तुत गर्छन्।
वुद्धको सन्देश, योगी नरहरिनाथको जीवनी र स्वामी प्रपन्नाचार्यको दर्शनलाई हृदयबाट मनन गर्छन्, उनी।
०००
पञ्चायतदेखि लोकतन्त्रसम्मका अनेकौं यात्रा साच्चिकै रोचक र रहरलाग्दा छन्। ‘शासन व्यवस्था समयअनुसार परिवर्तन र परिमार्जित हुन्छन्। हिजो पञ्चायत थियो, आज गणतन्त्र आयो। राज्यसत्ता जनशक्तिमा निर्भर हुन्छ। नेपाली जनताले जे चाहन्छन्, त्यही हुन्छ,’ उनी भन्छन्।
चर्चाबाट टाढा छन्, मन्त्री ‘बा’। तर इतिहास खोतल्दै जाँदा समिपमै भेटिन्छन्। विगतका ‘कथा–व्यथा’ सुन्दा झन्–झन् नौलो लाग्छन्। सातवटा प्रधानमन्त्रीसँग सिंहरबार छिरे तर आफैँलाई थाहा छैन कतिपटक मन्त्री बने। उनी यस्ता अनौठा पात्र छन्, जो देशको इतिहास बताउँदै जाँदा आफ्नो इतिहास नै बिर्सिन्छन्।
०००
डा. तुल्सी गिरी, सूर्यबहादुर थापा, नगेन्द्रप्रसाद रिजाल, कीर्तिनिधि विष्ट, लोकेन्द्रबहादुर चन्द, मरिचमान सिंह र शेरबहादुर देउवा– यिनै प्रधानमन्त्रीसँग बालाराम पटकपटक मन्त्री बनेका छन्। उनलाई प्रधानमन्त्री र अर्थमन्त्रीबाहेक लगभग सबै मन्त्रालय चलाएको अनुभव छ।
सातवटै प्रधानमन्त्रीसँग काम गर्दा आ-आफ्नै खालका किस्सा छन्। प्रधानपञ्च, जिल्ला पञ्चायत उपसभापति, राष्ट्रिय पञ्चायत सदस्य मन्त्रीदेखि राजपरिषद् सदस्यको अनुभव संगालेका छन्।
‘देश र जनता सबथोक हुन्। पञ्चायतदेखि प्रजातन्त्रसम्म भोगेँ। नेतादेखि राजासम्मका अनेक किस्सा छन्। एउटा जिन्दगीमा अनगन्ती कर्म गरेँ। दर्जन प्रधानमन्त्री, सयौं मन्त्री र हजारौं कर्मचारीसँगै काम गरेँ,’ उनी विगत सम्झिन्छन्।
रोल्पाको राजनैतिक रङ्गमञ्चबाट राष्ट्रिय राजनीतिमा उदाउन पक्कै सजिलो थिएन। तर हार कहिल्यै खाएनन्। दुःख र धोका कसैलाई दिएनन्। कलिलो उमेरमै चिन्तन–मनन गर्थे। जीवनभर लोभको राजनीति कहिल्यै गरेनन्।
०००
पटकपटक मन्त्री, सांसद बन्दा झण्डै ३८ वर्ष त सिंहरबारमै बिताए। तर आजकल बिरलै जान्छन्, त्यहाँ। खासै काम नै पर्दैन। आजकलको सिंहदरबार जनताले रूचाएझैँ मान्दैनन्। असल, सभ्य कमै भेटिन्छन्– मन्त्री, सांसद। घुस खान्छन्, बार्गेनिङ गर्छन्। मतदातालाई दुःख दिन्छन्।
गफिँदै जाँदा आफ्नै समीक्षा गर्छन्, ‘ममाथि कसले आँखा जुधाउन सक्ला र?’ गुट, फुट र लुटको पछि लागेनन्। भ्रष्टसँग भागेनन्, भ्रष्टाचार गरेनन्। एकसरो कपडामै हिँडे। तर कसैको एक सुको लिएनन्। उनी भन्छन्– लड्नू, उठ्नू अनि हिँड्नू। हिँडिरहनू, दौडिरहनू, बस् नबिसाउनू।
जहाँ जन्मिए बालाराम, जहाँ सिके राजनीति
उनी सोमबारको दिन जन्मिएका हुन्। वि.स. १९९४ साउन १८ गते। जन्मस्थान– तत्कालीन प्युठान जिल्ला बाइसखुवाथुमअन्तर्गत मिझिङ मौजाको उपल्लोथर हालको रोल्पा जिल्ला सुनिलस्मृति गाउँपालिका।
बुबा नरबहादुर घर्तीमगर र आमा टीकाकुमारी घर्तीमगरको जेठो सन्तान हुन्। नरबहादुरका चार श्रीमतीमध्ये जेठी टीकाकुमारीको कोखबाट पहिलो सन्तानका रूपमा उनी नै जन्मिए।
मध्यपश्चिम नेपालको पहाडी क्षेत्रमा जन्मिए। बाजे सन्त के घर्तीमगरसँगै हुर्किए। उनैबाट कखरा सिके। अरूभन्दा बाजेमा अनौठो क्षमता भएको उनी बताउँछन्। ‘मेरो बाजेले सबै कुराको ज्ञान राख्नुहुन्थ्यो। गाउँका मानिसहरू उहाँलाई सोध्न र सहयोग माग्न आइरहन्थे। उदार स्वभाव र मनकारी हुनुहुन्थ्यो,’ बालारामले भने।
बाजे नै उनको ज्ञानकुञ्ज हुन्। आजपनि बाल्यकाल सम्झियो कि मानसपटलमा घुमिरहन्छन्, बाजे।
पारिवारिक वातावरणले समाजसेवामा लागे। उमेर बढ्दै जाँदा विस्तारै राजनीतिको नशा पनि चढ्दै थियो। राणाशासनको अन्त्यपछि गाउँमै स्कूल खुल्यो– चन्द्रप्रभा प्राइमरी। संयोगवस् उनी नै विद्यालय व्यवस्थापन समितिको सचिव चुनिए। विधिवत् रूपमा राजनीतिको उकालो यात्रा यहिँबाट आरम्भ गर्छन्, बालाराम।
रोल्पाका पुराना राजनीतिज्ञ खडानन्द सुवेदीको सल्लाह र सहयोगले आफू राजनीतिको रङ्गमञ्चमा छिरेको चर्चा गर्न भुल्दैनन्, उनी। ‘खडानन्द गुरूसँग मेरो भेट २०१५ सालको निर्वाचनताका भएको थियो। उहाँ ८३ नम्बर क्षेत्रका नेपाली कांग्रेसको उम्मेदवार बन्नुभएको थियो। इमानदार, सज्जन, भद्र, शिष्ट हुनुहुन्थ्यो। उहाँप्रति मेरो सदा नमन छ,’ उनी यसरी याद गर्छन् आफ्ना राजनीतिक गुरू खडानन्द सुवेदी।
तर उनको निर्वाचन क्षेत्र ७४ नम्बरमा पर्दथ्यो। जहाँ उम्मेदवार थिए, अनिरुद्र शर्मा। अन्ततः सुवेदी र शर्मा दुबैले चुनाव जिते। नेपालको पहिलो आमनिर्वाचनलाई नजिकबाट हेर्ने र बुझ्ने मौका पाउने भाग्यशाली पात्र हुन्, बालाराम।
त्यो निर्वाचन, यो निर्वाचन
रोल्पाको एउटा निर्वाचनमा एकपालि थबाङका कम्युनिष्ट नेता वर्मन बुढाले जिते। बालारामले हारे।
तर अहिले पनि बालाराम त्यो जितसँग सन्तुष्ट छैनन्। आज पनि भन्छन्, ‘वर्मन जीले भोटले जित्या होइन। इमानदारपूर्वक सत्य कुरा भन्छु, ‘बुथ क्याप्चर गरेर चुनाव जित्या हो।’
वर्मन मानव संसारमा छैनन्। उनले बालाराम आरोप सुन्दैनन्–पढ्दैनन् तर रोल्पाली समाजले भने पक्कै मनन गर्नेछ। एकतिर निर्वाचन अर्कोतिर जित–हार। उनका लागि खासै ठूलो चर्चा होइन। चुनावलाई सामान्य रूपमा लिन्छन्। नयाँ उम्मेदवार र मतदातालाई नयाँ टिप्स दिन्छन्।
२०१८ सालको गाउँ पञ्चायतको निर्वाचनबाट उनी वडा सदस्यमा निर्वाचित भए। लगत्तै, निर्विरोध प्रधानपञ्च पनि चुनिए। कमै उमेरमा जनप्रतिनिधि बनेका बालाराम भन्छन्, ‘उमेर, अनुभव र शिक्षाले मानिसलाई परिपक्क बनाउँदै लैजाँदोरहेछ। त्योबेला तत्काल सबै परिवर्तन गर्न नसकिँदोरहेछ। तरपनि राम्रो काम गर्ने मौका पाएँ।’
त्यो बेलाको निर्वाचनमा पनि सामान्य खर्च हुन्थ्यो। मतदान एजेन्टलाई २–४ सय रुपैयाँ दिँदा पनि पुग्थ्यो। २०१९ सालको मंसिरमा निर्वाचन चर्चा चल्यो। गुरू खडानन्दसँग सल्लाह गरेर गाउँ पञ्चायतबाट जिल्ला सभासद् छानिए। उनी जिल्ला सभाका लागि तीव्र तयारीमा लागेको आजपनि सम्झन्छन्।
२०१९ माघमा जिल्ला पञ्चायतको चुनाव भयो। नारायणप्रसाद चन्द सभापति र बालाराम घर्तीमगर उपसभापति निर्वाचित भए। बालारामका प्रधिस्पर्धी थिए– मस्तबहादुर चन्द (सल्यान दमाचौर)। उनी जिल्लासभा र राष्ट्रिय पञ्चायतको चुनावमा पनि पराजित बने।
उनले जम्माजम्मी ६ पटक निर्वाचन जितेका छन्। दाङको मानपुर, सल्यान, प्युठान र तीनपट रोल्पामै जिते। प्रधानपञ्च, जिल्ला पञ्चायत उपसभापति, राष्ट्रिय पञ्चायत सदस्य मन्त्रीदेखि राजपरिषद् सदस्यको रोचक यात्रा रह्यो। सातवटा प्रधानमन्त्रीसँग काम गरेका उनी मन्त्री कतिपटक बने गन्नै भ्याउँदैनन्।
राजनीतिक जीवन पुरै सफल भएको बताउँछन्, बालाराम। व्यक्तिगत प्रश्न गर्दा यसो भन्छन्, ‘पैसा कमाउने बाटो खोजेपछि पाइन्छ। मैले खोजिनँ। आजको दिनसम्म मेरो खातामा एक लाख रुपैयाँ छैन। मसँग पैसा कहिल्यै भएन। तर काम कहिल्यै अड्किएन। चलिरह्यो।’
उम्मेदवारले भोट माग्ने शैली फेर्नुपर्ने उनको भनाइ छ। आजभोलिको निर्वाचन खर्चिलो मान्छन्, उनी। निर्वाचनमा उम्मेदवारले खर्च गरेको पैसा साहूको ठान्छन्। ‘साहूको पैसा तिर्नका लागि भएपनि नेताहरूले भ्रष्टाचार गर्छन्। पैसा नतिरे मारिहाल्छन् नि साहूले,’ उनी भन्छन्।
बालारामले पैसा खर्च गरेनन् तर चुनाव जितिरहे। उनी मतदातालाई विवेकशील देख्छन्। चेतनशीत समाजमा राम्रा उम्मेदवार नै निर्वाचित हुने आशा गर्छन्।
सुत्दा–सुत्दै मन्त्री आयो, मन्त्री गयो
‘कहिले सुत्यासुत्यै जान्छ मन्त्री। कहिले सुत्यासुत्यै आउँछ।’
उनी मन्त्रीक्वाटरमै थिए। पद राज्यमन्त्री थियो। राति तत्कालीन प्रधानमन्त्री डा. तुलसी गिरीले पदबाट राजीनामा गरे। सरकार ढल्यो। स्वाभाविक रूपमा मन्त्रीहरू पनि घर जाने पक्कापक्की भयो। उज्यालो नहुँदै सुरक्षाकर्मी फर्किए।
एकाबिहानै राज्यमन्त्री बालाराम बाहिर निस्के। दुई–तीनजना प्रहरीचाहिँ बाँकी नै रहेछन्। सलाम ठोक्दै जवानले भने, ‘मन्त्रीज्यू डा. गिरीले राजीनामा गर्नुभयो। सेना फर्कियो। प्रहरी मात्रै छम्।’
बालाराम एकछिन ट्वाँ परे। उनका लागि पहिलो घटना थियो। मनमनै सोचे– हे...! मन्त्री न हो, गएपनि जाओस्। त्यो मन्त्री पद सुत्यासुत्यै गयो।
०००
अर्को रोचक संयोग पनि उनै बालारामसँग छ– ०३६ तिर चाकुपाट ललितपुरमा डेरा गरेर बस्थे। सुतिरहेका बेला राति १ बजे हरिनारायण रजौरेले फोन गरे।
उनीहरू खुब मिल्ने साथी तँ–तँ... मँ–मँ... भनी बोल्थे।
रजौरे– ए... मगर कति सुतिस्।
घर्तीमगर– रातिको १ बजे फोन गर्नुभएको छ। त्यसमा मलाई सन्चो पनि छैन। तपाईंले के भनेको...?
रजौरे– तँ मन्त्री भइस्।
घर्तीमगर– के मन्त्री भएँ।
रजौरे– रक्षामन्त्री भइस्।
योपालि चाहिँ सुत्याबेला मन्त्री आयो। उनी थप्छन्, ‘मन्त्री भन्या यस्तै हो...। राति आउँछ, राति नै जान्छ।’
यसरी स्थापना भयाे राप्रपा
आजकल निर्वाचनको माहोल तातिएको छ। जताततै चुनावी अभियान छ। राष्ट्रिय प्रजातन्त्र पार्टी– राप्रपाको पक्षमा उत्साह छाइरहेको छ। बालाराम घरछेउमै भेटिन्छन्। हुन त उनी राप्रपाको सल्लाहकार हुन्। तर कहिँकतै जाँदैनन्। ‘बोलाउँदा जान्छु। नबोलाउँदा जान्नँ,’ उनी भन्छन्।
सूर्यबहादुर थापाको अध्यक्षतामा सातजना मिलेर राप्रपा स्थापना गरेको स्मरण गर्छन्, उनी। थापा, छिरिङ तेञ्जिङ लामा, बुद्धिमान तामाङ, कृष्ण श्रेष्ठ, बालाराम घर्तीमगरलगायतले राप्रपा पार्टी खोले। आज त्यो राप्रपा भिन्नभिन्नै समूहमा बाँँडिरहेका छन्।
टुट्दै–फुट्दै नेपाली राजनीतिको राजमार्गमा दौडिरहेको राप्रपालाई फुटाएर फेरि कमल थापा अलग्गिएका छन्। ‘पार्टी फोरेपछि भेट्ने प्रयास गरेँ। तर भेट्न सकिनँ,’ उनी थप्छन्, ‘पार्टी छोडर जानेलाई बधाई पनि दिइनँ।’
राजेन्द्र लिङ्देनले राप्रपाभित्र नयाँ माहोल खडा गरेको उनी बताउँछन्। ठाउँ–ठाउँमा सन्देश पुर्याइरहेका छन्। उनी निकै प्रभावित छन्। समाजसेवामा सक्रिय छन्। तर पदका आशामा छैनन्। ‘पदीय राजनीति गर्दिनँ। वैचारिक मन्थन गर्छु। राजनीतिमा सन्यास भन्ने शब्द नै हुँदैन। म सन्यास लिन्नँ,’ उनी भन्छन्।
राप्रपाले बोकेको राजसंस्था र हिन्दूराष्ट्र नीति, सिद्धान्तप्रति समर्थन छ। ‘राजा फर्किन सक्छन्। राजाले जनता र राष्ट्रको प्रतिनिधित्व गर्छन्। परम्परागत संस्था हो। अहिले पनि संसारभर राजा नै राजा छन्।’ संस्थागत र सक्रिय राजामा भिन्नता देख्छन्। आजपनि राजसंस्थाप्रति आत्मीयता, स्नेह र प्रेम अगाढ छ।
गालीको वर्षा, हिन्दूको प्रचार
‘मगरको छोरो भएर हिन्दूको प्रचार’ बालारामलाई धेरैले प्रश्न गर्छन्। हिमालय क्षेत्रमा बसोबास गर्ने आदिवासी आफूहरू नै भएको दावी गर्छन्। हिमवत शब्दबाट हिन्दू शब्दको उत्पत्ति भएको बताउँछन्, उनी। ‘आदिम कालदेखि नै हिन्दू हौं। आजको हिन्दू होइनौं। मानव सभ्यताको सुरुवातसँगै त्योबेलाको हिन्दू हो,’ बालारामले भने।
जातीय रूपमा गालीको वर्षा हुँदापनि आफूलाई हिन्दू भन्न कहिल्यै छाडेनन्। बरू उल्टै हिन्दूत्व पढाइरहे। हिन्दू भएरै बसेका छन्। हिन्दू विरोधीलाई उनका अनेकौं प्रश्न छन्। तर प्रश्नको जवाफ आजसम्म पाएका छैनन्। योगी नरहरिनाथ र स्वामी प्रपन्नाचार्यको संगतले उनी थप मजबुत हिन्दू बने।
रोल्पाको माया जस्ताको त्यस्तै
रोल्पालाई माया मार्न सक्दिनँ। मेरो पैतृक सम्पत्ति र घर गाउँमै छ। जीजू बाजेले बनाएको घर नै मेरो नाउँमा छ।
पैतृक मात्रै होइन स्वआर्जन गरेको सम्पत्ति पनि बेच्दिनँ। म रहेसम्म सँगै हुन्छ। त्यसपछि कसै न कसैले खान्छ। मैले जम्मा गर्ने काम गर्छु बेच्ने काम गर्दिनँ।
माओवादी जनयुद्धपछि म समानुपातिक उम्मेदवार हुँदा २८ हजार मत पाएँ। मैले पञ्चायत कालमा नराम्रो काम गरेको थिइनँ।
अहिले गाउँठाउँमा बिजुली, बाटो पुगेको छ। खोलामा पुल छन्। गाउँगाउँमा स्कूल छन्। पानीको समस्या छैन। खानेपानी मन्त्री हुँदा रोल्पाका गाउँगाउँमा धारा पुगे। सार्वजनिक संरचनाको कुनै कमी छैन।
माओवादीले दश वर्षसम्म भत्काए मात्रै, गर्न केहि सकेनन्।
गाउँले दाजुभाइ, दिदीबहिनीले माया गर्थे, मलाई। किन माया गर्थे त्यो कुरा पनि थाहा छैन। २–३ वर्षको केटाकेटी झैँ माया गर्थे।
रोल्पाली अग्रजहरूबाट पनि अति नै माया पाएँ। घरघर पुगेर खाना नखाँदा गुनासो हुन्थ्यो। आजपनि रोल्पाप्रति औधी माया छ। रोल्पालीप्रति उच्च सम्मान छ।
रोल्पादेखि काठमाडौंसम्म
ऊ बेला क्यामेरा बोकेर प्रश्न गर्नेहरू काठमाडौंमा मात्रै हुन्थे। तर अहिले रोल्पामा पनि छ्याप्पछ्याप्ती पाइन्छन्। उबेला बाटो–घाटो थिएन। अहिले घरघरमा गाडी छन्। गाउँगाउँमा बस–गाडी गुड्छन्।
योसँगै सुनाउँछन्– कोइलाबास, नेपालगञ्ज र बहादुरगञ्जबाट आफैँ नुन बोकेको विगत। एकपटक बहादुरगञ्ज, दुईपटक कोइलाबास। उनी आफैँ पुगेका छन्। नुनको भारी बोकेर हिँडेको बाटोबाटै गाडी चढेर हिँडे। त्यो पनि आफ्नै पहलमा, बनेको। म खुशी छु। मैले सोचेको पूरा भयो।
उनी पहिलोपटक २०१९ साल चैत अन्तिमतिर काठमाडौं छिरेका हुन्। राष्ट्रिय पञ्चायत सदस्यको पहिलो बैठका लागि आएका थिए। उनी मिझिङबाट कोइलाबाससम्म हिँडेरै पुगे। भारतको जरुवा हुँदै रक्सौलसम्म रेलको यात्रा गरे। लगत्तै नेपालको अमलेखगञ्जबाट काठमाडौंको विमान चढे। त्यो रोल्पादेखि काठमाडौंसम्मको यात्रा निकै कष्टकर र रमाइलो भएको उनी सम्झन्छन्।
थाहै नपाई मन्त्री
२०३० साल चैत १८ गते सदरमुकाम लिबाङ जाँदै थिए, उनी। मिझिङबाट ६ घण्टा हिँडेर लिबाङ नजिकै पुगेका उनी प्युठानका खेमराज पण्डितसँग वामरुखनिर भेटिए। पण्डित लिबाङ स्कूलमा पढाउँथे।
देख्नेबितिकै खेमराजले भने– बधाई छ तपाईंलाई।
बालाराम– के को बधाई दिनुभयो?
खेमराज– तपाईं मन्त्री हुनुभयो।
उनी ट्वाँ परे। अत्तोपत्तो नै थिएन। एकाबिहानै रेडियोमार्फत मन्त्री नियुक्त भएको खेमराजले सुनेछन्। तर बालाराम बाटोमा हिँडिरहेका थिए। न उनीसँग फोन थियो। न रेडियो।
लिबाङ पुगेपछि भव्य स्वागत गरियो। सुरक्षाकर्मी अघिपछि लागे। अर्को दिन तत्कालीन प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाललाई फोन गरे। उनीसँग सल्लाह मागे। तीन दिन लिबाङ बसेर काठमाडौँतिर लागे। काठमाडौंमा प्रधानमन्त्री रिजालले तोकिएकै समयमा तत्कालीन राजा बीरेन्द्रको उपस्थितिमा शपथ ग्रहण गराएका थिए। त्यसपछि मन्त्री क्वाटरमा बस्न थाले।
तीन राजा– अनेक किस्सा
तत्कालीन राजा महेन्द्र, बीरेन्द्र र ज्ञानेन्द्रसँग भेटिएका छन्, उनी। तीन राजासँग संगत गर्दा अनेकौं किस्सा भएको उनी सुनाउँछन्। २०२० सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएपछि राजा महेन्द्रको दर्शन भेट पाए।
स्थान थियो– शीतलनिवास।
साथमा थिए– राष्ट्रिय पञ्चायतका अध्यक्ष बिश्वबन्धु थापा। थापामार्फत् नै राजा महेन्द्रसँग परिचय र भेटवार्ता गर्ने मौका जुराएको बताउँछन्, बालाराम।
त्योबेला उनीसँग राजनीतिको लामो अनुभव थिएन। राजासँग भेट हुँदा पनि औपचारिकबाहेक अन्य संवाद गर्न सकेनन्। गफिने आँटै आएन। महेन्द्र राष्ट्रवादी राजा भएको उनी बताउँछन्।
२०२८ सालमा रोल्पा पुगेका थिए, बालाराम। महेन्द्रको निधन रेडियोमार्फत् सुने। दुःख माने। एकैस्वरमा सास फुके। अन्ततः बीरेन्द्रलाई बधाई र समवेदना पठाएँ। बधाई– राजा बनेकोमा। समवेदना– बुबा बितेकोमा।
०००
अधिराजकुमार हुँदा नै राजा बीरेन्द्रसँग आवतजावत बाक्लो थियो। तर औपचारिक रूपमा २०२० साउनको अन्तिमतिर भेटे।
स्थान थियो– नारायणहिटीको मंगल सदन।
त्योबेला उनी झण्डै राजासँग आधा घण्टा बसे।
उनी २०३० चैत्र १६ गते गृहसहायक मन्त्री भए। पदीय हिसाबले उनी बीरेन्द्रसँग निकै नजिक हुन्थे। पारिवारिक चिनापरिचय पनि राम्रो नै थियो। २०४६ चैत्र २६ गते पछि राजासँग भेटवार्ता गर्न झन सजिलो हुन्थ्यो। सम्बन्ध परिपक्क र गहिरिँदै गयो।
२०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भयो। राजपरिवार सखाप मारियो। त्योबेला आफूले ढिलो गरी सूचना पाएको बताउँछन्, बालाराम। उनी मन्त्री नै थिए। घटना आजसम्म रहस्यमै छ। राजा बीरेन्द्रसँगै रानी ऐश्वर्य, अधिराजकुमार दीपेन्द्रलगायत अब यो संसारमा छैनन्। केवल सम्झना छ। यादहरू छन्।
०००
ज्ञानेन्द्र साच्चिकै भाग्यमानी रहेछन्। दुईपटक राजा बने– २००७ र २०५८। पञ्चायत कालमा तत्कालीन राजा बीरेन्द्र विभिन्न स्थानमा पुग्दा ज्ञानेन्द्र पनि सँगै पुगेका हुन्थे। भेटघाट र कुराकानी भइरहन्थ्यो।
२०४६ सालको आन्दोलनताका ज्ञानेन्द्रसँग औपचारिक रूपमा भेट गरेका थिए। सम्बन्ध आजपनि उनीसँग राम्रो छ। ज्ञानेन्द्र राजा घोषणा हुँदा राजपरिषद्का सदस्य थिए, बालाराम। २०५९ तिर राजा बाँके भ्रमणमा निस्किँदा उनी पनि सँगै हिँडे।
तर २०६१ साल माघ १९ मा राजा ज्ञानेन्द्रद्वारा कदमलाई असंवैधानिक र अराजनीतिक मान्छन्, उनी। राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्ने तर्क गर्छन्, उनी।
त्यसपछि ज्ञानेन्द्र निर्मल निवास छिरे, बालाराम चाहिँ सातदोबाटोको घर्ती निवास...।