आफूले जितेरमात्र राम्रो काम गर्न सकिन्छ भन्ने हुँदैन। हारेर वा पदमा नबसीकन पनि असल कार्यहरू गर्न सकिदोरहेछ भन्ने अनुभव मैले गरेको। रोल्पाले मलाई यही सिकाएको छ। रोल्पावासीले मलाई यही पाठ पढाएका छन्।
मल्लकालअघि रोल्पाक्षेत्र हिमवत्खण्डको नेपाल राज्यमा पर्दथ्यो। केन्द्र कमजोर भएको मौका पारेर सामन्तहरूले शासन गर्ने परम्पराले गर्दा कहिलेकाँही यो स्वतन्त्र राज्यमा पनि उभिएको इतिहासकारहरू बताउँछन्।
हामी ३१ पुस्ताअघि देखि नै यही क्षेत्रका बासिन्दा हौँ। कहिले शासनसत्तामा हाम्रो राम्रो पहुँच थियो भने कहिलेकाहीँ सामान्य नागरिक भएर पुर्खाहरू बसेका थिए। बाइसे, चौबिसे राज्यहरू विशाल नेपालमा गाभिनु अघि हाम्रो गाउँ गजुल राज्यमा पर्दथ्यो। यस क्षेत्रका सोझा जनता आफ्नो धर्म, संस्कृति, कला आदिमा रमाइरहेका थिए, जीवन बिताइरहेका थिए।
केन्द्रीय राजनीतिबाट टाढा गजुलराज्य हिमालयको काखमा शान्तसँग उभिएको थियो। वि.सं. २०१८ सालपछि सल्यान र प्युठानबाट रोल्पामा गाभिन आएका स्थानमा विकासको कार्य शून्य प्रायः थियो। प्युठानबाट आएको कालाशेष र बाइसखुवामा जम्मा १३ प्राथमिक विद्यालय थिए। ती विद्यालय केवल नाऊँ मात्रका थिए। त्यहाँ विद्यार्थीको संख्या असाध्यै कम थियो। विद्यालयको भौतिकपूर्वाधारलगायतका पक्षहरूको अवस्था असाध्यै कमजोर थियो। सल्यानबाट रोल्पामा गाभिएका रोल्पाथुम र दारमाथुका आठ प्राथमिक विद्यालयको अवस्था पनि उस्तै थियो।
झोलुङ्गेपुल, खानेपानी, हेल्थपोष्ट केही थिएनन्। मानिसहरू विरामी हुँदा उपचारका लागि स्थानीय जडीबुटी एवं तन्त्रमन्त्रको सहयोग लिन्थे। त्यतिबेला गजुरमा एउटा मात्र हेल्थपोष्ट थियो। यो वि.सं. २०१६ सालमा खडानन्द गुरुको सक्रियतामा स्थापना गरिएको थियो। खास उपकरण नभए पनि केही औषधिहरू दिएर यसले गाउँघरमा नहुने मामा भन्दा कानो मामा निको भने जस्तै गरी टेवा पुऱ्याइरहेको थियो।
गाउँ ठाउँमा वैद्य र झाँक्रीहरू पाइन्थे। सञ्चारका नाममा रेडियोसमेत थिएन। रेउघाको हुलाकमा भारत वा ब्रिटिशमा जागिर खान गएकाहरूले चिठ्ठी पठाउँथे। गाउँमा चिठ्ठी लेख्ने र पढ्ने मानिसको अभावै थियो। मेरै आँखाले त्यस्ता दिन पनि देखे, अहिले हात-हातै मोवाइल एवं नेट, इन्टरनेट, फेसबुक आदि छोटै समयमा सञ्चारको धेरै विकास भयो। डाँडा डाँडामा एफ. एम.का टावरहरू राखिएका छन्।
जिल्लाको सुरक्षार्थ माडीचौरमा चौकी राखिएको थियो, त्यो पनि हल्दारको नेतृत्वमा। गाउँमा पुलिस आयो भने मानिसहरू सजग हुन्थे। पुलिसहरूसँग सिधा अनुहार हेरेर कुरा गर्न सक्ने हिम्मत कमैमा थियो। उनीहरूको बेग्लै इज्जत, सम्मान र हैसियत थियो। त्यो समयको एउटा घटनाले मलाई अहिले पनि एक्लै हसाउँछ। अञ्चलाधीश गाउँको बाटो जाँदै थिए रे।
एक जनाले गाउँकी बूढीआमालाई सोधे छन्, 'अञ्चलाधीश आउनुभएको छ, उहाँलाई मासु खुवाउन कुखुरा पाइँदैन ?'
बूढीआमैले उसलाई भनिछन्, 'अस्ति हवल्दार आउँदा त कुखुरा खुवाउन पाइएन, अञ्चलाधीशको के कुरा ?'
गाउँघरका मानिसलाई अञ्चलाधीश र हवल्दारमा को उच्च पदको हो ? भन्नेसम्म थाहा थिएन। अहिले उच्चपदस्थ सुरक्षाकर्मीलाई कति टेर्छन् ? कति मान्छन् ? मैले भन्नुपर्दैन। अहिलेको जस्तो विकास र त्यो समयको अनुशासन हुने हो भने नेपाल राम राज्यमा रूपान्तरण हुन लामो समय लाग्ने थिएन अतिथि वा बटुवाहरूलाई सत्कार गर्ने वा भनौँ देवताका रूपमा लिइन्थ्यो। किनेर खाने चलन थिएन। अरुलाई दिएर खानु, बुढापाकाको अर्ति सुन्नु, संयुक्त परिवारमा बस्नु, साँचो बोल्नु, कृषि र पशुपालनलाई जीवनको आधार बनाउनु सबैजसोको जीवन पद्धति थियो।
गाऊँमा नयाँ मानिस आयो भनेँ उसको सम्पर्क विशेष गरी गाउँका मुखिया, जमिन्दार आदिसँग हुन्थ्यो। यिनीहरू गाऊँका मान्यगुण्य एवं अभिभावक मानिन्थे। उनीहरूको निर्णय नै लगभग अन्तिम निर्णय हुन्थ्यो। वि.सं. २०१५ सालमा पहिलोपटक पार्टीगत रूपमा मानिसहरू विभाजित भएका थिए। राजनीतिक जागरण आएको थियो। देशले प्रजातान्त्रिक अभ्यास गर्न नपाए पनि चुनावको स्वाद जनतालाई चखायो। वि.सं. २०१८ सालपछि म गाऊँ पञ्चायतको चुनावबाट एक पछि अर्को पदमा विजयी भएँ। चुनावमा भाग लिने मानिस पाउन गाह्रो थियो, अहिले पार्टीबाट टिकट पाएन भने स्वतन्त्र उठ्ने चलनसम्म देख्न पाइयो।
गाऊँका दुई चार जनाले 'फलानोलाई उठाउने' भन्दा एक प्रकारले सहमती जुद्दथ्यो। प्रचारप्रसारको कुरा त सामान्य नै हुन्थ्यो, अहिले देशले यस विषयमा कायापलट गरिसकेको छ। चुनाव भनेको 'मलाई जनताले कहाँ राखेका छन् प्रष्ट देख्ने ऐना हो।' जित-हारलाई सहर्ष स्वीकार गर्नुपर्छ। कतिपय अवस्थामा व्यक्तिगत सम्बन्ध राम्रो हुँदा हुँदै पनि राजनीतिक सम्बन्ध नराम्रो हुन सक्छ।
मलाई रोल्पाबासी दाजुभाइ, दिदीबहिनीहरूले जति प्रेम, स्नेह गरे त्यो शब्दमा वर्णन गर्न सक्दिनँ। सानै उमेरदेखि चिताउँदै नचिताईकन म राजनीतिमा लागेँ। मेरो उद्देश्य समाजसेवा गर्नु थियो। राजनीति समाजसेवा हो, अहिले यो पेशा जस्तो बनेको देख्दा असाध्यै दुःख लाग्छ। जनतालाई थर्काएर, दबावमा राखेर, प्रलोभनको शिकार बनाएर चुनाव जित्ने संस्कृति कुनै पनि दृष्टिले फलदायी र न्यायोचित हुँदैन।
काठमाडौँमा बसे पनि मेरो मन तिनै गाऊँपाखा, खोला, नदी र गल्लीहरूमा छ। आफ्नो जन्मभूमि हरेक मानिसको हृदय र मनमा अमर बनेर बस्दछ। बुढो भएपछि जन्मभूमिको माया र याद अझ बढी हुँदोरहेछ। मैले देखेका बुढापाकाहरू अहिले त्यस भूमिबाट पूर्णरूपमा विदा भइसकेका छन्।
कैयौँ कला, संस्कृति, गहना, लवाई, दैनिकीहरू केही लोपोन्मुख र केही लोप भइसकेका छन्। समयसँगै भौतिक परिवर्तन कसरी हुन्छ भन्ने अनुमान गर्न सकिँदोरहेनछ। बालककालदेखि अहिलेसम्मको परिर्वतन र रूपान्तरण देख्दा आफैँलाई सपनाजस्तो लाग्दछ। बाजेबजैका पालाका रितिस्थिति यति छोटो समयमा यो अवस्थामा पुग्लान् भनेर अनुमानसम्म गरेको थिइनँ।
वि.सं. २०१९ देखि २०५१ सम्म रोल्पा जिल्लाबाट ७ पटक निर्वाचित भएको छु। प्रजातन्त्रको पुनर्स्थापनापछि उपल्लो सदनको रूपमा राष्ट्रिय सभा थियो। राष्ट्रिय सभामा ६० जना सभासद रहने व्यवस्था थियो। ललितपुर क्षेत्र नं. ३ बाट २०५६ सालमा पराजित भएँ। यसपछि मध्यपश्चिमाञ्चलबाट राष्ट्रिय सभामा विजयी भएँ।
रोल्पाबाट वि.सं. २०४८ साल र २०७० मा पराजय पाएको छु। पराजय आफैँमा अपमान होइन, यसलाई खुसी र गर्वका साथ लिनुपर्छ। विजयी प्रतिपक्षलाई धन्यवाद दिनुपर्छ, राम्रा कार्य गर्दैछन् भने साथ दिनुपर्छ, मैले जीवनमा यो विषयलाई बुझेर कार्यान्वयन गरेको छु। आफूले जितेरमात्र राम्रो काम गर्न सकिन्छ भन्ने हुँदैन। हारेर वा पदमा नबसीकन पनि असल कार्यहरू गर्न सकिँदोरहेछ भन्ने अनुभव मैले गरेको। रोल्पाले मलाई यही सिकाएको छ। रोल्पावासीले मलाई यही पाठ पढाएका छन्।
पुराना राजनीतिज्ञ घर्तीमगरको पुस्तक 'ऐतिहासिक घटनाक्रम भाग–१'बाट