हामी हिन्दू हौँ, हाम्रो परम्परामा दुईवटा दशैं छन्

Breaknlinks
Breaknlinks

नेपालमा बस्नेलाई नेपाली, भारतमा बस्नेलाई भारती, बङ्गालमा बस्नेलाई बङ्गाली भनेझैँ हिमवत्खण्डमा बस्नेलाई हिन्दू नभनेर के भन्ने? प्राचीनकालदेखि हिमवत्खण्डमा बस्ने हामी मगरहरू हिन्दू हौँ। हाम्रा संस्कार संस्कृति, जीवनपद्धति, प्रथा र बसोबासका आधारमा पनि हामी हिन्दू हौँ भन्ने विषय आफैँ प्रष्ट हुन्छ।

गाईको पूजा गर्ने, कुल देवता पुज्ने, दशैं तिहार मान्ने, टीका र जमरा लगाउने, भूमी देवता, थानी देवता आदि पूजा गर्ने, महादेव, राम, कृष्ण, गौतम बुद्ध, महावीर, गुरु नानक आदिका पूजा, आरधना गर्ने ॐकार परिवारले आफूलाई हिन्दू भन्न कुनै संकोच मान्नुपर्दैन। यही हिमवत्खण्डमा नै ऋषिमुनिहरूले वेद, उपनिषद्, पुराणलगायतका ग्रन्थहरूको निर्माण गरेका थिए। यिनै ग्रन्थहरूबाट हिन्दूधर्मले अझ सशक्त र मूर्तरूप लियो। आदिमकालदेखि यस क्षेत्रमा हिन्दूधर्मको विकास र वैभव थियो। यस क्षेत्रमा सनातन धर्मबाहेक अन्य धर्मको संकेतसम्म थिएन।

वैदिक सनातनधर्म कुनै धर्मगुरु वा महात्मा विशेषले स्थापना गरेको होइन, सृष्टिको उषाकालदेखि मान्दै आएको धर्म हो। महापुरुष, महात्माबाट पछिल्लो कालमा अन्य धर्मको जन्म भएको देखिन्छ तर हाम्रो सनातन हिन्दूधर्म अपौरुषेय (कसैले पनि निर्माण नगरेको) र अनादि हो। प्रष्ट नभएका विषयलाई खोज अनुसन्धान गर्नुपर्छ, अग्रजलाई सोध्नुपर्छ, आफ्नो परम्परालाई हेर्नुपर्छ। स्वार्थका लागि, कोहीसँग रिस उठ्यो भन्दैमा इतिहासलाई बिर्सन र बङ्ग्याउनु हुँदैन। यो जस्तो महाअपराध अर्को केही मानिँदैन। भोलिका चेतनशील सन्तानले इतिहास बिगार्नेलाई माफ गर्ने छैनन्। तितो मिठो जे भए पनि इतिहास भनेको इतिहास हो, त्यसलाई स्वीकार गर्नुपर्दछ। गल्ती र कमजोरीलाई सुधार्दै लैजानुपर्छ। केही आफूलाई कौशिक गोत्र भन्दछन्। कौशिक महर्षि थिए। हिन्दूका छोरा हिन्दूका नाति थिए। त्यो विषयलाई शान्त र भएर सोच्नुपर्दछ। शास्त्रको अध्ययन नगर्ने, आफूले इतिहासको खोजी नगने, अरुले जे भन्यो त्यसैमा विश्वास गर्ने, मद्यपानमा लदिठने भएपछि हामी आफैले आफू को हौँ ? भन्ने विषयलाई भुल्दै गएका छौँ।

हाम्रो परम्परामा दुईवटा दशैं छन्। चैतमा मानिने दशैलाई सानो दशैं र आश्विनमा मानिने दशैंलाई ठूलोदशै भनिन्छ।

मगरभाषामा 'बडा'को अर्थ ठूलो हुन्छ। यसरी आश्विनको दशैंलाई मगरभाषाबाट नै बडादशैं नामाकरण गरिएको हो। हिन्दूहरूको दोस्रो ठूलो चाड हो तिहार। तिहारमा गाईलाई लक्ष्मीका रूपमा विशेष विधिविधानले पूजा गरिन्छ गाईलाई पिढोका साथ नुन पनि खुवाइन्छ। हाम्रो क्षेत्रमा यही दिन गाईलाई नुन ख्वाउन नुनथलो, पानीघाट वा गौचरमा भेला गरिन्छ।

जौ, मकै आदिको पीठोमा चामलको रोटी एवं नुन मिसाएर गाईलाई खुवाउने पदार्थ तयार गरिन्छ जसलाई मगरभाषामा 'ती' भनिन्छ। मगरभाषामा 'हारको अर्थ गाई हुन्छ यसरी तिहारको शब्दको उत्पत्ति शुद्ध मगरभाषाबाट भएको हो भन्ने पुष्टि हुन्छ। गाईलाई हाम्रा पुर्खाहरूले आमाका रूपमा मान्दै आएका हुनाले गौमा पनि भनिन्छ। अहिले पनि परम्परागत रूपमा गाई तिहारका दिन लामो तोरण बाटेर गोठमाथि टाँगिन्छ। तोरण जति लामो भयो उति नै गाई वा पशुधन वृद्धि हुन्छ भन्ने मान्यता छ। भौगोलिकरूपले पनि हाम्रो क्षेत्र गाईपालनका लागि उपयुक्त छ।

पहाडी क्षेत्रमा भैँसीहरू हिँड्न सक्दैनन्। गाईको दूधले चिसोबाट लाग्ने रोग एवं समस्यालाई हटाउँछ, गोरुलाई जोत्न प्रयोग गरिन्छ। जन्मदेखि मृत्युपर्यन्त एवं कृषिकार्यमा समेत उपयोगी भएकाले धार्मिक र भौतिक दुवै रूपमा गाईलाई आमा र देवीका रूपमा पुज्ने चलन छ।

तिहारलाई हामीले बलिराजाको उत्सवका रूपमा लिने गर्दछौं उनको स्वागतका लागि भैलो, देउसी आदि खेलिन्छ। भैलोमा महादेवले मानिसको उत्पत्ति कसरी गराए भन्ने बयान गरिन्छ समयअनुसार भैलो गाउँदा परिर्वतन हुँदै गएको छ। पहिलेको जस्तो बयान गर्ने चलन अहिले छैन। हाम्रो क्षेत्रमा अहिले पनि यसको अवशेष देख्न र सुन्न पाइन्छ। हामीले त्यसलाई लेखेर संरक्षण गर्न नसक्नु ठूलो भूल भयो। चाडपर्वमा महादेवको बखान र स्तुति गर्नेका सन्तति अन्य धर्मका कसरी हुन सक्छन् ?

नेवारहरूले मादललाई मगरखी भन्दछन्। नेवारभाषामा 'खी' को अर्थ बाजा हुन्छ, त्यसैले मगरखीको अर्थ मगरको बाजा हुन्छ अर्थात् मादलसँग मगरहरूको इतिहास र संस्कृति जोडिएको छ। महादेवलाई नटराज (नाचका राजा) भनिन्छ, कृष्णलाई बासुरीका नायक, सरस्वतीलाई वीणाकी ज्ञाता, विष्णुको हातमा शंख आदि देखाएर संगीत क्षेत्रमा हिन्दूधर्मावलम्बीहरूको प्राचीनकालदेखि नै आधिपत्य रहेको देखाइएको छ। मादल, डमरु, त्रिशूल, कहाल आदि हाम्रा बाजा देवीदेवतासँग भएकाले हामी अरु धर्मका कसरी भयाैँ?

संस्कृति, कला, चाडपर्व, जात्रा आदि भुल्दै जानाले पनि हामीलाई ठूलो घाटा लागेको छ। यिनीहरूले मानिसको पहिचान र इतिहासलाई बोकेका हुन्छन्। यीभित्र मनोरञ्जन, खानपान मात्रै होइन अस्तित्त्व र जीवन लुकेका हुन्छन्। केही वर्षअगाडिसम्म लोकप्रिय र प्रचलनमा रहेका मारुनी नाच, सिङ्गारु नाच, पैसारी नाच, सराङगेनाच, छ्याउरे नाच, झोरानाच, कौरानाच अहिले क्रमिक रूपमा कम देख्न पाइन्छ। पहिलेको जस्तो विधिविधानसहित मनाउने पनि गरिदैन। मारुनी नाचमा कृष्णचरित्र, रामायण र महाभारतका कथाहरू भनिन्छन्।

नाचको प्रारम्भमा सूर्यलाई नमस्कार गर्दै 'आकाशका नौलखा तारा समेरा, पतालका वासुकि नाग समेरा (सबै मेरा), सिमेभूमे समेरा...तेत्तीसकोटी देवीदेवता समेरा' भनी विभिन्न देवीदेवता, नाग आदिको स्मरण गरिन्छ सिमेभूमेलाई मान्ने, कृष्णचरित्र, रामायण र महाभारतका कथाहरूलाई आफ्नो मूल संस्कृति मान्ने हामीलाई गैह्रहिन्दू भन्ने आँट कसरी गरे ? यो असाध्यै विचारणीय र सोचनीय विषय हो।

हिमाली क्षेत्रमा हावापानी र भूबनोटले गर्दा धान उब्जनी कम हुन्छ। यहाँ कोदो, गहुँ, जौ आदि अन्नबाली लगाइन्छ। जौ खेती हिमालीक्षेत्रमा असाध्यै राम्रो हुन्छ। यसलाई भूटेर, उसिनेर वा पिसेर खाने चलन छ। यसलाई औषधिमा प्रयोग गर्नुका साथै धार्मिक अनुष्ठानमा पनि उत्तिकै पवित्रतम मानिन्छ। जौ, तील, कुश राखेको पवित्र जल ग्रहण गर्ने परम्परा अझै छ। जमरा पनि जौको नै लगाइन्छ। मगरभाषाको 'जौ उमारा' बाट अपभ्रंश हुँदै जमरा भएको हो। प्राचीन समयमा मात्र होइन अहिले पनि बुझेका मानिसहरूले जौको जमरा लगाउँछन्।

देवीदेवताको पूजा गर्दा जौ चढाउने एवं त्यहाँ उम्रिएको जमरालाई प्रसाद मानेर लगाउने मगर सभ्यता हो। वडादशैंमा सबैभन्दा पहिले देवीलाई जमरा अर्पण गरी भवदुर्गाको प्रसादका रूपमा लगाइन्छ। जमराले क्यान्सर आदि रोग निको पार्ने हुनाले अहिले यसलाई महौषधिको रूपमा पनि प्रयोग गर्न थालेका छन्। फोक्सोलाई जमराको रस अमृत समान हुने तथ्यमा वैज्ञानिकहरू पनि सहमत छन्। जाँड, रक्सी आदिको दुर्व्यसनमा नपरेसम्म हाम्रा पुर्खाहरू वैज्ञानिक, चिन्तक र विश्लेषण गर्ने सामर्थ्य भएका महामानव थिए।


पूर्वमन्त्रीका दशा


हाम्रा पुर्खाहरूले प्राचीनकालमा नै धेरै विषयहरूको पहिचान गरी नामाकरण गरेका थिए। कुनै पनि वस्तु, पदार्थको नाम राख्दा त्यसका गुण, विशेषता, स्वभाव आदिलाई ध्यान दिएको पाइन्छ। मगरभाषामा सूर्यलाई निमि भनिन्छ। निको अर्थ नीलो आकाश, भी' को अर्थ आगो अर्थात् नीलो आकाशको आगो भनी सूर्यको नामाकरण गरे। सूर्य तातो हुन्छ यही तापका कारण यसको नाम निमि भयो। तारालाई सोरो नाम दिए। पृथ्वीबाट जीवात्माले गाँस, बाँस र कपास प्राप्त गरेको हुनाले यसलाई भूमिदेवताका रूपमा पूजा गरे। पानी कति छ त्यसको आधारमा खोला, नदी, समुद्र गरी विभिन्न तहमा विभाजन गरे।

मगरभाषामा समुद्रलाई सामुद्रो भनिन्छ जसको अर्थ नुनीलो पानी हुन्छ। पशुपक्षीहरूको पहिचान गरी नाहुर, भारल, घोरल, चौरी (बन्सोजस्तो चौरमा चर्ने) आदिको पहिचान गरे। धातुको गुणअनुसार सुन, रूप, काँस, अभ्रकको नामाकरण गरे। धातु र मानव जीवनबीचमा नजिकको सम्बन्ध रहेको हुनाले धातुबाट नै वराह देवताको नाम पनि राखे। धूपी, ठिगनी, झम, भूम आदि वनस्पतिको नाम पनि हाम्रै भाषामा राखिएको छ।

सूर्यको पहिलो भुल्का (किरण) हिमाली क्षेत्रमा पर्ने हुनाले पनि मगरहरू आफूलाई सूर्यवंशी भन्न थालें। हाम्रा पुर्खाहरूले हिमवत्खण्डमै बसेर आफ्ना वरिपरि रहेका धातु, वनस्पति, पानी, आकाश आदिको नाम राख्ने काम गरेका हुन्। यी वस्तुहरू मंगोलमा पनि पाइन्छन् तर त्यसको नाम हाम्रो भाषामा छैन त्यसैले हामी यही भूमिका हिन्दू हौँ, बाहिरबाट आएका मंगोलियन होइनौँ।

मगरहरू आफूलाई सूर्यवंशी, कौशिक गोत्री, उद्यमी शाखा, निरमंसीकूल भनी निरामांसीको पूजा गर्दछौँ। निरामंसीको अर्थ मासु नखाने हुन्छ। निरामसीकूल भएकाले हाम्रा पुर्खाहरू मासु खाँदैनथे। फूलफल, अन्न, कन्दमूलमात्र खान्थेँ र देवीदेवतालाई पनि त्यही अर्पण गर्दा एवं सूर्यवंशी मगरहरू कसरी गैह्रहिन्दू भयो? राज्यको सुरक्षा युद्ध आदि प्रयोजनका लागि प्राचीनकालमा विभिन्न किसिमका बरहरू प्रयोग गर्दथे। हाम्रा पुर्खाहरूलाई बाग बनाउने र प्रयोग गर्ने राम्रो ज्ञान थियो। विष नामको विरुवाको लेप लगाएको बाण असाध्यै विषयुक्त हुनाले प्रतिपक्षलाई बाँच्न गाह्रो हुन्थ्यो।

प्राचीनकालदेखि युद्धकलामा निपूर्ण भएकै हुनाले विश्वयुद्ध नेपालको सिमा विस्तार, प्रजातान्त्रिकलगायतका आन्दोलनमा उनीहरूको उपस्थिती भूमिका महत्वपूर्ण रहेको थियो। विद्वान्हरूका अनुसार चार उपवेदमध्ये धनुर्वेद एक हो। धनुर्वेदमा हातहतियारसम्बन्धी ज्ञान भण्डार प्रशस्त छ। हिन्दू धर्मावलम्बी भएकाले नै हाम्रा पुर्खाहरू बाण विद्यामा निपूर्ण थिए।

निरमासीकुलको पूजा गर्दा देवताको प्रतिमाका रूपमा चिन्डो (डल्ले लौका) राखिन्छ। चिन्डोमा कमेरोले ठाडो २२ वटा रेखा बनाइ कुलदेवताको आकृति बनाइन्छ। कुलदेवताको आकृतिमा ठकरीको पातको माला लगाइन्छ। कुलदेवतालाई ठकरीबाहेक अन्य वनस्पतिको पात चल्दैन। ठकरीको पात लिन जाने मानिसले उपवास बसेर चोखोनीतोमा विशेष ध्यान दिनुपर्ने नियम छ। अन्यजातका एवं नियम पालन नगरेका मानिस पात टिप्न गए भने देख्दैनन्, पाउँदैनन् भन्ने जनविश्वास अहिले पनि छ। निरमासीकूल भएका हुनाले पूजाको दिन घरभिन्न छालाको सामान राख्नु हुँदैन। गोबर माटोले सम्पूर्ण घर लिप्पोत गरी शुद्ध बनाउनुपर्छ। विधानसहित कुलदेवताको पूजा गरी सकेपछि चिन्डोलाई धुरी खामो (लग्ने खाँबो) मा राख्नुपर्छ।

यो पूजा विशेष गरी रातमा अर्थात् राति सुत्नभन्दा पहिले गर्नुपर्दछ। हामी मगरहरू सिद्ध वराहलाई कुलका रूपमा पूज्दछौँ। ऐरु, गोठु, पितृ आदिलाई पूजा गर्दछौँ। ब्राह्मण क्षेत्रीहरूले जसरी शुभ र अशुभ कर्म गर्दछन्, हाम्रो पनि त्यही विधान हो। आफैँले अभक्ष खान थालेपछि देवता, पितृ आदिलाई अभक्ष चढाउन थालियो। यस क्रम बढ्दै गएर हामी हिन्दू हौं कि होइनौ भन्ने विषयमा शंका आउन थाल्यो। बाघको बच्चा भेडासँग हुर्किए पनि उसको शरीर, स्वभाव, जीवनशैलीबाट नै थाहा हुन्छ कसको बच्चा हो ? यसैले हामी हिन्दू हौं, शाकाहारी हौँ, देवीदेवता, ऋषिमुनि, महापुरुष, महावीर, गौतमबुद्ध, राम, कृष्ण आदिका सन्तान हौं भन्ने विषय हाम्रा लवज, खानपान र पूजापाठका पद्धतिबाट प्रष्ट हुन्छ।

कुल परम्पराअनुसार श्रावण १ गतेदेखि १५ गतेसम्म देवीदेवताको पूजाआजा गर्दैनौं। यतिबेला तेत्तीसकोटी देवीदेवताहरू पातालमा बसेका बलिराजालाई भेट्न जान्छन् र हामीले अर्पण गरेका उपहार ग्रहण गर्दैनन् भन्ने मान्यता अहिले पनि यथावत छ। आकाश, पाताल, तेत्तीसकोटी देवीदेवता, बलि आदिको वर्णन केवल हिन्दूधर्मशास्त्रले मात्र गर्दछ।

साउनको १५ दिनसम्म देवीदेवता पातालमा बस्ने हुनाले मन्त्र जप्ने, छालाको जुत्ता लगाउने काम गरिदैन। शहरतिर यो परम्परा कमजोर जस्तो देखिए पनि गाउँघरतिर पालन गरिदैछ। साँघु, फट्के आदि तर्दा नदीलाई नमस्कार गरी जुत्ता फुकाल्ने चलन छ। रामले पनि लंका जाँदा नदीको स्तुति गरेको वर्णन रामायणमा पाइन्छ। नदीलाई गंगादेवीको स्वरूप मानिने हुनाले यसो गरिएको हो। तन्त्र विद्यामा हाम्रा पुर्खा धेरै पहिलेदेखि नै अभ्यस्त र पोख्त थिए। गरम पुः हाम्रो ३१ पुस्ता अगाडिका महामानव हुन्, उनी तान्त्रिक थिए। महादेवलाई आगम (तन्त्र ) का जन्मदाता मानिन्छ। यही परम्परालाई गरमपुरले निरन्तरता दिएका थिए। केही मगरहरूले अहिले पनि तन्त्र, मन्त्र, भारफुक आदिलाई आफ्नो पेशाका रूपमा प्रयोग गरिरहेका छन्।

हाम्रा पुर्खाका कुनै पनि क्रियाकलाप, दिनचर्या अन्य धर्मका थिएनन्। यस क्षेत्रमा अन्य धर्मका मानिसहरू पनि थिएनन्। जयप्रकाश मल्लपछि अन्य धर्मका मानिस काठमाडौँ उपत्यकामा प्रवेश गरे पनि हाम्रा क्षेत्रमा यिनीहरूको प्रवेश निकै पछि भएको थियो। बौद्ध, जैन, नानक, कवीरपन्थी, हिन्दू सबै ॐकार परिवारमा रमाएर बसेका छौँ। केही कर्म र अनुष्ठान फरक जस्ता देखिए पनि ॐकार परिवारको मूलघर, सिद्धान्त एउटै हो।

हाम्रो आधार वेद हो। वेदले मगरजातिलाई जीवन्त रूपमा जीउन, प्रार्थना गर्न, औषधि बनाउन, बाण हान्न, पूजा गर्न सिकायो। हाम्रा नाम, हाम्रा गाऊँ-ठाउँ, हाम्रा पूजा आराधना, हाम्रा कार्यशैली, हाम्रा जीउने कला, भेषभूषा सबै हिन्दू संस्कार, संस्कृतिमा आधारित छन्। यसैले हामी वैदिक सनातनवादी हौं। हिमाल क्षेत्रमा बस्ने हामी हिन्दू हौँ। हिन्दूधर्म र हिन्दूथलोमा जन्मिएर, हिन्दूधर्ममा हुर्किएर, हिन्दूधर्ममा फूलेर, हिन्दूधर्मलाई फैलाउने मगरजातिहरूले आफू हिन्दू होइनौँ, सनातन परम्पराका अनुयायी होइनौं भन्नु कति न्यायसङ्गत र युक्ती सम्मत तर्क होला ? आफैँले विचार र विवेक पुऱ्याएर सोच्नुपर्ने विषय हो।

पुराना राजनीतिज्ञ घर्तीमगरको पुस्तक 'ऐतिहासिक घटनाक्रम भाग–१'बाट

प्रकाशित मिति: : 2022-09-26 10:45:00

प्रतिकृया दिनुहोस्