शुक्रबार, १३ मार्च २०२६

तेल निर्यातमा अवरोध गरिरहने इरानको घोषणा, विश्व बजारमा इन्धनको हाहाकार

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

हालैमात्र इरानले चयन गरेका नयाँ सर्वोच्च नेता मोजतवा खामेनेईले स्ट्रेट अफ हर्मुजबाट तेल आयात निर्यात बन्द गर्ने इरानको प्रतिवद्धता तत्कालका लागि नहट्ने घोषणा गरेका छन्। योसँगै अस्तव्यस्त भइरहेको विश्व तेल बजारमा अझ हाहाकार मच्चिने भएको छ।

उनको यस्तो बक्तव्य इरानको सरकारी टेलिभिजनले पढेर सुनाएको थियो। हालैमा सर्वोच्च नेता घोषणा गरिएका उनि यसअघिका आयोतोल्लाह अलि खामेनेईका माइला छोरा हुन्। अलि खामेनेई इजरायल र अमेरिकाको पहिलो आक्रमणमै आफ्नै निवासमा मारिएका थिए। त्यहाँ उनका छोरी जुवाइँ, नातिनातिनालगायत अरु पनि परिवारका सदस्यहरूसमेत मारिएका थिए।

सर्वोच्च नेता भएयता सार्वजनिक नभएका मोजतवा यहि युद्धका बीचमा घाइते भएको सञ्चारमाध्यमहरूले जनाएका छन्। तर इरानले त्यसको आधिकारिक पुष्टि गरेको छैन।

विश्व बजारका तेल आपूर्ति एजेन्सीहरूले इरानको अवरोधका कारण तेलकाव मूल्य तथा उपलब्धतामा अवरोध आएको भन्दै उक्त बाटो खुला गर्न भनिरहेका छन्।

स्ट्रेट अफ हर्मुज (जलडमरुमध्य) विश्वबजारमा तेल आपूर्ति गर्ने एउटा मुख्य सामुद्रिक मार्ग हो। विश्वबजारमा खपत हुने लगभग २० प्रतिशतभन्दा धेरै कच्चातेल यही सामुद्रिक मार्गबाट निर्यात हुन्। यो निकै संवेदनशील र खतरापूर्ण मार्ग पनि मानिन्छ। जो इरानको नियन्त्रणमा छ।

यो एउटा त्यस्तो साँघुरो सामुद्रिक मार्ग हो जसलाई इरानले चाह्यो भने सजिलै बन्द गरिदिन पनि सक्छ। अर्थात् तेल ट्याङ्कर बोकेका ठूला जहाजहरूमाथि उसले सजिलै आक्रमण पनि गर्नसक्छ। अहिले पनि अमेरिकी ट्याङ्कहरूमा उसले आक्रमण गरिरहेको छ।

उत्तरतिर इरान र दक्षिणमा ओमान तथा युएईसँग जोडिएको यो सामुद्रिक मार्ग लगभग ५० किलोमिटर छ। तर लगभग ३३ किलोमिटर साँघुरो सामुद्रिक खोंच भने इरानकै भागमा पर्छ। त्यही बाटो खाडीको अरव सागरसँग जोडिन्छ। साँघुरो भए पनि एकदमै गहिरो यो सागरको बाटोमा सबैभन्दा ठूला र धेरै तेल ढुवानी गर्ने पानी जहाजहरू सजिलै तैरिनसक्छन्। त्यसैले विश्वबजारमा तेल पुर्‍याउनका लागि यो बाटो निकै महत्वपूर्ण मानिन्छ। मध्यपूर्वका धेरैजसो ग्याँस तथा तेल उत्पादक देश तथा कम्पनीहरूले यही बाटोबाट कच्चा इन्धन ढुवानी गर्दै आएका छन्।

यो मार्गमा इरानले लगातार अवरोध गर्न थालेपछि अहिले एशियाली लगायत विश्वका थुप्रै देशमा इन्धन बजारमा हलचल मच्चिएको छ। नेपालमा समेत त्यसको असर देखा पर्न थालेको छ। हालैका दिनमा बजारमा ग्याँसको अभाव भएपछि आयल निगमले आधामात्रै भरिएका सिलिन्डरहरू बजारमा पठाउन लागेको छ।

अमेरिकी सेनाले आफ्नो एउटा इन्धन भर्ने जहाज पश्चिमी इराकमा दुर्घटनाग्रस्त भएको पुष्टि गरेको छ। उक्त घटनामा शत्रुपक्ष वा आफ्नै सेनातर्फबाट भएको कुनै पनि गोलाबारीको संलग्नता नदेखिएको बताइएको छ।

यसैबीच लडाकु बिमानमा तेल भर्न प्रयोग हुने एउटा अमेरिकी इन्धन विमान इरानमा दुर्घटनग्रस्त भएको छ। आफ्नै प्राविधिक कारणले दुर्घटनामा परेको उक्त बिमानलाई कसैले आक्रमण भने नगरेको अमेरिकी सेनाले स्पष्ट पारेको छ। तर त्यसको क्षति विवरण भने सार्वजनिक गरेको छैन। युद्धका बेला आकाशमै तेल भर्न प्रयोग गरिने उक्त जहज इरानी भूमिमा दुर्घटना भएको हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!