नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पछिल्लो समय नेपालमा प्रगतिशिल र प्रतिगामी शक्तिबीच प्रतिस्पर्धा चलेको बताएका छन्।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मुखमा यो प्रतिस्पर्धा अझ चुलिएको उनले बताए।
‘अहिले पाँच दलीय गठबन्धनलाई कमजोर बनाउने प्रयास भइरहेको छ। गठबन्धनलनाई कमजोर बनाउनु भनेको अस्थिरतलाई साथ दिनु हो,’ कांग्रेस नेता पौडेलले भने, ‘प्रतिगामी शक्तिहरु एक ठाउँमा जम्मा हुँदैछन्। आज कांग्रेस र कम्युनिष्टको झगडा होइन। प्रतिगामी शक्तिविरुद्ध प्रगतिशील शक्ति एक ठाउँमा उभिएका हुन्। हामीले लोकतन्त्र जोगाउनको लागि लड्नु पर्छ।’
राजनीतिक स्थिरत कायम गर्न पाँच दलीय गठबन्धन बनेको दाबी उनले गरे। स्थिरिता नहुँदा विकास हुन नसकेको उनले बताए।
‘यो गठबन्धनको खिलाफमा केपी ओलीले पनि गठबन्धन गर्नुभएको छ। क–कसलाई लिएर गर्नुभएको छ, तीनको अनुहार पनि हेर्नुहोस्,’ नेता पौडेलले भने।
केही समय राजनीतिक स्थीरता भयो भने श्रीलंकाले जस्तो संकट भोग्नु नपर्ने उनले जनाए। उनले थपे, ‘हामी आफैँले देशमा राजनीतिक स्थिरता कायम गर्न सकेका छैनौं।’
ओलीलाई निमित्त नायक बनाएर मुलुकलाई अस्थिरतातर्फ धकेलिएको दाबी उनले गरे। यसैकारण आज ओलीलाई बलियो बनाउन गठबन्धनको विरुद्धमा कार्य भइरहेको उनले बताए।