रंगशालामा ओलीविरुद्ध नारा लगाउने युवा पहिले ‘माओवादी’ अहिले ‘राजावादी’

एमालेको युवादस्ता राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको केपी ओली कप फुटबलको सोमबार सम्पन्न फाइनल खेलमा अचम्मका दृष्य देखिए। आयोजक युवासंघकै कार्यकर्ताहरू रंगशालामा दर्शक कुट्दै थिए। धम्की दिँदै मुख बन्द गराउँदै थिए।

सोमबार प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र एफसीबीचको खेल हुँदै थियो। दशरथ रंगशाला प्रवेशको फ्रि पास र गायक कुमा सागर र पूर्ण राईको कन्सर्ट राखेर युवा संघले खचाखच दर्शक तान्न सफल भयो। रंगशाला भरिएपछि कतिपय पास भएका दर्शकहरू समेत प्रवेश गर्न पाएनन्।

रंगशाला भित्रको माहोल फरक थियो। इटालियन लेजेन्ड गोलकिपर जियानलुइजी बुफोन केपी ओली कपको प्रमुख आकर्षण थिए। उनको समर्थनमा दर्शकहरूले ‘वुफोन-वुफोन…’ को नारा लगाइरहेका थिए। यसकैको बीचमा देखिए एक युवा- जसले प्रधानमन्त्रीको विरोधमा हुटिङ गरिरहेका थिए।

उनको हुटिङले नजिक रहेका दर्शकहरूले असन्तुष्टि जनाए र उनलाई केही नगरी रंगशालाबाट निकाल्न आग्रह गरे। तर, जब यो कुरा युवा संघका कार्यकर्ताको कानमा पुग्यो- उनीहरू आफ्नो असली अवतारमा उत्रिहाले।

कोही धम्कीमा उत्रिए, कोही कुटपिटमा। युवक प्रतिवाद गर्दै थिए- ‘केही बोल्न नपाइने हो?’ तर, ओली कपमै गएर ओलीकै विरोध गरेको युवा संघलाई सह्य भएन। युवकले त्यसभन्दा बढी मुख खोल्न पाएनन्।

युवा संघका कार्यकर्ताले घेरेपछि ती युवक केही पर सरे। तर, अरू कार्यकर्ताहरू आक्रामक देखिएपछि अवस्था असामान्य बन्यो। केहीबेर प्रहरी मुकदर्शक बन्यो। र, अन्तमा युवकलाई रंगशालाबाट निकाल्यो। संयोगबस अप्रिय घटना हुन पाएन।

प्रहरीले ती युवकको परिचय खुलाएको छैन। प्रहरी स्रोतका अनुसार ती युवक डोल्पा घर भएका बुढा थरका हुन्। उनले आफू पहिला माओवादी समर्थक रहेको तर, अहिले राजाको समर्थनमा लागेको बताएका छन्। युवकमाथि आक्रमण गर्ने युवा संघका कार्यकर्ता भने सिन्धुपाल्चोकका जंग तामाङ रहेको खुलेको छ।

प्रहरीले अवस्था सामान्य भन्दै युवकलाई नियन्त्रणमा लिनुपर्ने स्थिति नरहेको र आक्रमणकारीलाई पनि पक्राउ गर्नु नपर्ने बताएको छ।

प्रकाशित मिति: : 2025-03-04 16:35:00

प्रतिकृया दिनुहोस्