स्ववियु निर्वाचन: राप्रपाको विद्यार्थी संगठनले जुम्लामै पाएन उम्मेदवार

Break n Links
Break n Links

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते ‘स्ववियु निर्वाचन’को मिति तोकेपछि विद्यार्थी वर्गमा बेग्लै उत्साह छाएको छ।

यतिबेला देशभरका ६२ आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसका विद्यार्थीहरू निर्वाचनमा होमिएका छन्। क्रियाशिल विद्यार्थी संगठनहरूले अहिले क्याम्पस-क्याम्पसमा उम्मेदवार टुङ्ग्याउँदैछन्, त कतै-कतै विद्यार्थी-विद्यार्थी समूहबीच लडाइँ-झगडा पनि जारी छ।

तर, यो विद्यार्थीको ‘चुनावी माहोल’मा जुम्लास्थित साविक कर्णालीको एकमात्र आंगिक जुम्ला बहुमुखी क्याम्पसमा राप्रपानिकट विद्यार्थी संगठन राप्रविसंघले उम्मेदवारै नपाएको चर्चा छ।

स्ववियु निर्वाचनमा राप्रविसंघले उम्मेदवार नपाएको चर्चाका पछाडि भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाही छन्। जुम्लाबाट प्रत्यक्ष निर्वाचन जितेको राप्रपाको विद्यार्थी संगठनले स्ववियु चुनावमा उम्मेदवार नपाएको विषयलाई भने अन्य विद्यार्थीहरूले जुम्लामा सांसद साहीको प्रभावलाई ओरालो लागेका रुपमा बुझ्न थालेका छन्।

जुम्ला बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत उपप्राध्यापक पदमबहादुर शाहीका अनुसार, फागुन १९ गते ३ बजेसम्मको समयसीमासम्म ६ वटा विद्यार्थी संगठन दर्ता गराएपनि राप्रपाको विद्यार्थी संगठनले कुनै चासो देखाएन। यो निर्णयले यसकारण पनि चर्चा पाएको छ कि अघिल्लो स्ववियु निर्वाचनमा राप्रविसंघले जुम्लामा बलियो उपस्थिति जनाएको थियो।

त्यतिबेला हरि थापाको नेतृत्वमा अध्यक्ष पदका लागि प्यानलसहित उम्मेदवारी दिएको राप्रविसंघले समानुपातिकतर्फ पनि प्रतिनिधित्व गरी एक सिट जितेको थियो। तर, यसपटक राप्रविसंघले संगठन दर्ता नै गराएन।

जिल्लामा प्रभावशाली नेतृत्व गर्ने सांसद शाही प्रतिनिधिसभामा जुम्लाबाट अत्यधिक मतसहित विजयी राप्रपाका प्रवक्ता र प्रमुख सचेतक हुन्। उनको गृहजिल्लामा आफ्नै संगठनको यस्तो अनुपस्थितिबारे राप्रपा स्रोतले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

यता विद्यार्थी संगठनहरूले भने जुम्लामा ज्ञानेन्द्र शाहीको साख गिरेको प्रतिक्रिया दिएका छन्। राप्रपाको विद्यार्थी संघले उम्मेद्वार नै नभएपछि संगठन दर्ता नगरेको अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेविसंघका नेताकार्यकर्ताको दाबी छ।

अखिल क्रान्तिकारीका एक नेता भन्छन्, ‘सामाजिक सञ्जालमा चिच्याएजस्तो हुँदैन राजनीति। जनताका लागि जमिनी राजनीति गर्नुपर्छ। यो जुम्लाले राजावादीलाई अस्वीकार गरेको सन्देश हो। अब राजावादीहरू देशबाटै बढारिन्छन्।’

अनेरास्ववियुका एक नेताले जुम्लीले ज्ञानबहादुर शाहीलाई राजावादी भएर जिताएको नभइ सोझा जुम्लीमा सामाजिक सञ्जालमार्फत भ्रम छरेर चुनाव जितेको दाबी गरे।

उनले भने, ‘ज्ञानेन्द्रको हैसियत विद्यार्थी चुनावमै देखियो। अब उनलाई नै जुम्लीले जुम्लाबाट खेदाउने दिन टाढा छैन।’

प्रकाशित मिति: : 2025-03-04 17:18:00

प्रतिकृया दिनुहोस्