आसन्न स्थानीय तह निर्वाचनमा उदयपुरका अधिकांश पालिकाका जनप्रतिनिधिले दोहोरिन उम्मेदवारी दिएका छन्।
उदयपुरमा चार नगरपालिका चार गाउँपालिका गरी आठ स्थानीय तह रहेका छन्। जसमा ४ नगरपालिका प्रमुख र २ उपप्रमुख र ४ गाउँपालिका मध्ये २ प्रमुख, १ उपप्रमुख र दर्जनौँ वडाध्यक्ष तथा सदस्य दोहोरिन चाहेका छन्।
त्यसैगरी सदरमुकाम रहेको त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरी फेरि निरन्तरता दिन उम्मेदवारी दिएका छन्। गत २०७४ को चुनावमा नेकपा एमालेबाट चुनाव जितेका उनी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेको विरोधमा माधवकुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादीमा लागेका छन्।
पार्टी पोलिटव्युरो सदस्य तथा प्रदेश १ अध्यक्षसमेत रहेका उनले सत्ता साझेदार दलबीचको गठबन्धनबाट उम्मेदवारी दिएका छन्। गठबन्धनमा उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी गीता खड्का कार्कीको उम्मेदवारी दिएको छ। खड्का पार्टीको त्रियुगा नगर कमिटी अध्यक्ष हुन्।
त्यसैगरी चौदण्डीगढी नगरपालिका नगर प्रमुखमा खगेन्द्र राई, उपप्रमुखमा रिताकुमारी चौधरी, कटारी नगरपालिका नगर प्रमुखमा ज्ञानेन्द्र श्रेष्ठ र बेलका नगरपालिकामा नगर प्रमुखमा दुर्गाकुमार थापा, लिमचुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई, उदयपुरगढी गाउँपालिका अध्यक्षमा गठबन्धनबाट मानबहादुर केप्छाकी मगर, रौतामाई गाउँपालिका उपाध्यक्षमा कुमारी ज्यु ठकुरी दोहोरिने भएका हुन्।
त्यसैगरी कटारी नगरपालिकाको उपप्रमुखमा भीमकुमारी राउतको नाम पार्टीले नगर प्रमुखमा सिफारिस गरे पनि पुरानै व्यक्तिले टिकट लिएपछि उनले ‘बागी’ उम्मेदवारी दर्ता गरेकी छिन्। प्रमुखमा मात्र होइन, उपप्रमुख र वडाध्यक्षमा पनि दोहोरिने लर्को छ। टिकट नपाएपछि लिमचुङबुङकी उपाध्याक्ष रमिला राईले स्वतन्त्रबाट उपाध्यक्षमा बागी मनोनयन दर्ता गराएकी छिन्।
वडा नम्बर १ का वडाध्यक्ष भीमबहादुर राई, २ का भविन्द्रकुमार राई र ५ का वडाध्यक्ष केशरकुमार खड्काले उम्मेदवारी दोहोर्याएका छन्। माओवादीका राईद्वयलाई पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् भने एकीकृत समाजवादीमा गए खड्कालाई केही दिनअघि मात्र पार्टीमा भित्र्याएर एमालेले टिकट दिएको हो।
त्यसैगरी त्रियुगा नगरपालिकाका १६ मध्ये ९ जना पुरानै वडाध्यक्षहरुले मनोनयन दर्ता गरेका छन्। माओवादी नगर कमिटी उपाध्यक्ष रहेका १६ नम्बर वडाध्यक्ष मानबहादुर राईलाई पार्टीले पुनः टिकट दिएको हो भने कांग्रेस नगर सभापति रहेका १० वडाध्यक्ष प्रकाशकुमार खड्का पनि पार्टीबाटै उम्मेदवार भएका हुन्।
कांग्रेसकै तर्फबाट ५ मा जितेका उद्धवसिंह थापा, एमालेबाट जितेका ४ नम्बरका सुवास निरौला, एमालेबाट जितेर हाल एसमा गएका ३ नम्बरका अवधेशप्रसाद चौधरी, एमालेकै २ नम्बर वडाध्यक्ष घमानसिंह खत्री र कांग्रेसबाट अघिल्लो पटक जितेका १ नम्बर वडाध्यक्ष मनोज चौधरी दाम्रो पटक उम्मेदवार बन्न पाएका हुन्।
त्यसैगरी चौदण्डीगढी नगरपालिकामा १ का वडाध्यक्ष रोहित तामाङ, २ का सन्तोष सुबेदी, ३ का पर्शुराम राई, ७ का तेजराज तिम्सिना, ८ का कार्यवाहक अध्यक्ष, ९ का प्रकाश राउत र १० का रामकुमार खड्काले पनि दोहोरिनका लागि उम्मेदवारी दिएका छन्। जसमध्ये २ का सुबेदी माओवादीका र ९ का राउत एमाले बाहेक अन्य सबै काँग्रेसबाट टिकट लिएर दोहोरिन खोजेका हुन्।
गठबन्धन गर्ने विषयमा कुरा नमिलेपछि एक्लै लड्ने निर्णयमा पुगेको काँग्रेसले ४ नम्बर वडाध्यक्ष चरणकुमार राईलाई भने टिकट दिएन। माओवादीबाट जितेका ५ नम्बर वडाध्यक्ष देवनारायण चौधरी र माओवादीकै ६ नम्बर वडाध्यक्ष कमलध्जव राईले भने एकीकृत समाजवादीसँग गठबन्धन गर्नु पर्दा टिकट गुमाएका हुन्। तर गठबन्धनका कारण टिकट नपाएपछि ६ नम्बर वडाध्यक्ष राईले भने नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।
जिल्लाका ७५ वटा वडा रहेको उदयपुरमा यसरी दोहोरिन खोज्ने अनुहारहरू थुप्रै भेटिएका छन्। दोहोरिन खोज्ने जनप्रतिनिधिहरूले नारा भने फरक–फरक बनाएका छन्।
अधिकतरले पार्टीको निर्देशनले उम्मेदवारी दिएका छन् भने कतिपयले पहिले गरेको अधुरा काम सम्पन्न गर्न नारा अघि सारेका छन्। धेरै जसोले भने जनताको सेवा गर्न नै आफू पुनः दोहोरिएर आउन चाहेको प्रतिक्रिया दिएका छन्। जनताको सेवक भएर काम गर्नु पर्ने जनप्रतिनिधि हो। जनप्रतिनिधिहरू दोहोरिन खोज्नुको कारण भने सेवा सुविधाप्रतिको आकर्षण भएको विश्लेषकहरू बताउँछन्।