एमाले प्रवेश गरेका माओवादी उम्मेदवारको मनोनयन कायमै

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट मनोनयन दर्ता गरेपछि नेकपा एमाले प्रवेश गरेका तेन्जिन छेसाङ तामाङको उम्मेदवारी कायम रहेको छ।

उनले वैशाख १२ गते माओवादीबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए। त्यसपछि वैशाख १५ गते एमालेमा प्रवेश गरेका थिए। तर, उनले उम्मेदवारी भने फिर्ता लिएका छैनन्। 

निर्वाचन आयोगले वैशाख १६ गते साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो। फिर्ता नलिएको भए पनि पार्टी नै परिवर्तन गरेपछि अब त्यसको कुनै अर्थ नभएको तामाङको भनाइ छ।

‘मैले कार्यालय गएर उम्मेदवारी फिर्ता लिएको छैन,उनले भने, पार्टी नै परिवर्तन गरेकाले म निर्वाचनमा उम्मेदवारको रूपमा सहभागी हुँदिनँ ।

उनले उम्मेदवारी फिर्ता नलिएकाले यथावत रहेको रसुवाका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए। ‘उहाँले उम्मेदवारी फिर्ता लिनु भएको छैन, कानूनी रुपमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचनमा भाग लिन पाउनेछन्,  नेपालले भने,। 

माओवादीका गोसाइँकुण्ड गाउँपालिकाका इन्चार्ज समेत रहेका तामाङ एमालेमा प्रवेश गरेपछि माओवादीबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार छैनन्। गोसाईकुण्ड गाउँपालिकामा अब नेपाली कांग्रेस, एमाले सहित विभिन्न दलका ६ उम्मेदवार अध्यक्षका लागि प्रतिस्पर्धामा छन्। 

प्रकाशित मिति: : 2022-04-30 21:03:00

प्रतिकृया दिनुहोस्