वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बैतडीमा विभिन्न पदमा उम्मेदवारी दिएका एक हजार ४४२ जनामध्ये ३४ जनाले फिर्ता लिएका छन्।
जिल्लाको पुर्चौडी नगरपालिकाबाहेक अन्य नौ स्थानीय तहका विभिन्न पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन्।
फिर्ता लिनेमा पालिका प्रमुख, उपप्रमुखसहित ३४ जना रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
जिल्लाको दोगडाकेदार गाउँपालिकामा सबैभन्दा बढी आठ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
फिर्ता लिनेमा पाँच वडाध्यक्ष र तीन वडा सदस्य रहेको निर्वाचन अधिकृत गोकुल बोहराले जानकारी दिए।
पञ्चेश्वर गाउँपालिकामा छ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
उम्मेदवारी फिर्ता लिनेमा नेकपा (माओवादी केन्द्र)बाट उपाध्यक्षमा उम्मेदवारी दिएका रमेश पाण्डेय, उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएकी रेवती भट्टसहित छ जना रहेका छन्।
मेलौली नगरपालिकामा पाँच उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।
नगरप्रमुखका स्वतन्त्र उम्मेदवार लक्ष्मणसिंह महरासहित वडाध्यक्ष र सदस्य गरी पाँच जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।
यस्तै पाटन नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका गणेशबहादुर चन्दले उम्मेदवारी फिर्ता लिएका हुन्।
उनीसहित एक वडाध्यक्ष्य र दुई वडा सदस्यले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत ईश्वरीदत्त जोशीले जानकारी दिए।
डिलाशैनी गाउँपालिकामा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएकी पार्वती नेगी र एक महिला वडा सदस्यले उम्मेदवारी फिर्ता लिएकी छन्।
सिगास गाउँपालिकामा पनि स्वतन्त्रबाट उपाध्यक्षका लागि उम्मेदवारी दिएका गणेशसिंह धामीले उम्मेदवारी फिर्ता लिएका छन्।
दशरथचन्द नगरपालिकामा एक वडाध्यक्ष र तीन वडा सदस्यका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।
सुर्नया गाउँपालिकामा वडा नं २ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका तीन उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन् भने शिवनाथ गाउँपालिकामा एक वडाध्यक्षका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।