'अटेरी'को घरदैलो: यसरी पनि हुन सक्छ चुनावी प्रचार !

देशैभर आक्रामक बनेर आएको अटेरी समूह, एकाबिहानै पोखरा २५ हेम्जामा झुल्कियो।

भाइरल रोड उपनामले चिनिने, कुश्मा–बागलुङ हाइवे छेउमा अटेरीका पोखरा महानगरका उम्मेदवार। विभिन्न वडामा उम्मेदवारी दर्ता गराएका अटेरी अभियन्ताहरू साथै अभियानलाई सघाउनेहरू पनि जम्मा भएका थिए। 

‘म अटेरी’ लेखिएको टिसर्ट लगाएका फुर्तिला अटेरीहरू सबै साइकलमा थिए। केहीले नेपालको झण्डा पनि बोकेका थिए। यो समूहको अगाडीपट्टी गाडी थियो। साइकल र्‍यालीमा सहभागीको सुरक्षाका लागि गाडी अघि लगाएर, पछिपछि अटेरीको समूह साइकलमा अघि बढ्यो।

कि भ्रष्टाचारी, कि अटेरी
कि कमिसनखोरी, कि अटेरी
कि गुण्डागर्दी, कि अटेरी
कि दलाली, कि अटेरी

नारा घन्काउँदै अटेरी समूह अघि बढ्छ। 

‘मासु, च्युरा, बाइक र्‍यालीको विरूद्धमा हामीले साइकल र्‍याली निकालेका हौं,’ पोखरा महानगर प्रमुख पदका अटेरी उम्मेदवार तथा अटेरी अभियानका परिकल्पनाकार गनेस पौडेलले भने, ‘पोखरा शान्त सहर हो। शान्त राख्नुपर्छ भनेर पनि यो साइकल र्‍याली सुरू गरेका हौं।’

भड्किलो चुनावी प्रचारप्रसारलाई कम गर्न साइकलबाटै पोखराका वडा–वडामा पुग्ने अटेरीले लक्ष्य लिएको छ। यसरी अघि बढेको अटेरी समूह हेम्जास्थित पेट्रोल पम्पभित्र छिर्छ। राजनीतिक दलले मोटरसाइकलमा पेट्रोल भरिदिएर हो हल्ला गर्दै, सडकमा हिडेका अरू सवारीलाई पनि बाधा पुग्ने गरि गर्ने मोटरसाइकल र्‍याली विरूद्धको सांकेतिक विरोध थियो यो। ‘अरूले चुनावमा बाइक र्‍याली गर्छन्। तेल भर्छन्। हामी सांकेतीक रूपमा पेट्रोल पम्प छिरेका छौं। यो संकेतको रूपमा मात्रै हो,’ उनले भने। 

यसरी, चुनावी प्रचारप्रसारलाई मितव्ययी बनाउँदै अटेरी पोखराका सबै वडामा पुग्ने छ। मतदातालाई बुझाउने छ, ‘चुनाव प्रचारप्रसार यसरी पनि हुन सक्छ।’ पोखरा २५ हेम्जाबाट सुरू भएको अटेरी साइकल र्‍याली, दिउँसोपख मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको पोखरा सहिद चोकमा पुग्यो। 

हाल पोखरा महानगरमा मात्रै मेयर सहित १० वडा अध्यक्ष र ६ वडा सदस्य गरि १७ जना अटेरी अभियानका अभियन्ताहरूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। स्थानीय तहलाई दलीय बनाउनु हुन्न भन्ने मान्यता स्थापित गर्न लागि परेको अटेरी अभियानलाई मुख्यनिर्वाचन अधिकृतको कार्यालयले ‘लौरो’ चुनाव चिन्ह दिएको छ। 

अटेरीले आफ्नो चुनावी घरदैलो कार्यक्रम यसरी नै वडा वडामा चलाउने छ। अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले अटेरीले मतदातालाई सचेत बनाउँदै, भड्किलो चुनावलाई मितव्ययी बनाउनुपर्ने जिम्मेवारी अभियानले महसुस गरेकाले पनि चुनावी कार्यक्रम फरक शैलीमा गर्न खोजेको बताएका छन्।

प्रकाशित मिति: : 2022-04-30 18:50:00

प्रतिकृया दिनुहोस्