जुम्ला हिमा गाउँपालिकामा माओवादी कार्यकर्ताबीच झडप भएको छ। झडपमा एक जना घाइते भएका छन्।
उपाध्यक्षको टिकटको विषयलाई लिएर स्वतन्त्र उम्मेदवार र पार्टीको उम्मेदवार पक्षबीच झडप भएको प्रहरीले जनाएको छ। नेकपा माओवादी केन्द्रले जिल्लाबाट दुई जनाको नाममा टिकट आएपछि दुईपक्षबीच झडप भएको हो।
त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार कल्पना परियारले माओवादी केन्द्रको उपाध्यक्षमा पहिला उम्मेदवारी दर्ता गराएको र अर्को विनसा रोकायाको नाममा समेत उपाध्यक्षको नाममा पार्टीको टिक आएपछि उनको उम्मेदवारी रोकिएको थियो। रोकायाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएकी थिइन्।
प्रहरी निरीक्षकका अनुसार सो विषयलाई लिएर दुई पक्षबीच झडप झडप भएको छ। झडप हुँदा ढुंगा प्रहारबाट हिमा गाउँपालिका ६ निवासी अन्दाजी ४५ वर्षीय छत्र अधिकारी घाइते भएका छन्।
त्यस्तै विनसा रोकायाले आफूलाई पार्टीले निर्णय गरेर पठाएपछि टिकट लिएर लाइनमा बसेको थिए। तर, केही व्यक्तिले अर्को टिक लिएर कल्पनाको दर्ता गराएकाले आफू पीडित भएको विनसाले बताइन्।
प्रहरीका अनुसार घाइते अधिकारीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ। कल्पना परियार उपाध्यक्षमा उम्मेदवारी दिएपछि विनसाले उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। झडप भए पनि प्रहरी निरीक्षक भट्टसहितको टोली हिमामा पुगेको छ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गजेन्द्रबहादुर महतले टिकट विनसालाई दिएको भए पनि स्थानीय तहमा कल्पनाको दर्ता गराइसकिएकाले समस्या समाधान गरिनुपर्ने बताइन्। उनले दर्ता गराउनेको दोष नभईबीचमा समस्या निम्त्याउनेको दोष भएको बताइन्। उनले माओवादी नेता कार्यकर्तालाई सम्यम भएर निर्वाचनमा लाग्न अनुरोध गरिन्।
नेकपा माओवादी केन्द्रले २०७४ सालको स्थानीय तहमा अध्यक्षसहित बहुमत विजय हासिल गरेको थियो। यो वर्ष वडामै पनि स्वतन्त्र दिनेको संख्या बढेको छ। यसले गर्दा नेकपा माओवादी केन्द्रलाई हिम गाउँपालिकामा विजयी हातपार्न चुनौती देखिएको छ। दिलमाया शाही