दाङमा ४ स्थानीय तह बाहेक सत्ता गठबन्धनका दलहरुबीच तलमेल नमिलेपछि कांग्रेसले ७ पालिकामा प्रमुख र उपप्रमुखपदको उम्मेदवारको टुंग्गो लगाएको छ।
नेपाली कांग्रेस दाङको आइतबार राति बसेको बैठकले ७ स्थानीय तहका उम्मेदवारहरुको नाम टुंग्गो लगाएको हो।
लमही नगरपालिकाको प्रमुखमा जोगराज चौधरी र उपप्रमुखमा लक्ष्मी योगीलाई उम्मेदवार बनाउने निर्णय गरिएको पार्टीका जिल्ला उपसभापती गिरिराज सुवेदीले बताए। त्यस्तै गढवा गाउँपालिकाको अध्यक्षमा सर्वजित विसी र उपाध्यक्षमा शारदा चौधरीलाई उम्मेदवार बनाइने भएको छ।
त्यस्तै राजपुर गाउँपालिकाको अध्यक्षमा शरद बुढाथोकी र उपाध्यक्षमा धनपती यादव उम्मेदवार हुने भएका छन्। यादवलाई पुनः उपाध्यक्षमा उम्मेदवार बनाइएको छ।
त्यस्तै राप्ती गाउँपालिकाको अध्यक्षमा जगदम्बा चौधरी र उपाध्यक्षमा हरि भुसाल उम्मेदवार हुने भएका छन्। यसअघि उपाध्यक्ष रहेकी चौधरीलाई यसपटक अध्यक्षको उम्मेदवारी बनाइएको छ। त्यस्तै दंगीशरण गाउँपालिकाको अध्यक्षमा सम्भु गिरी र उपाध्यक्षमा पिमाकुमारी खड्का, बबई गाउँपालिकाको अध्यक्षमा कुलबहादुर खत्री र उपाध्यक्षमा बमकुमारी खड्कालाई उम्मेदवार बनाउने निर्णय गरिएको उपसभापती सुवेदीले जानकारी दिए।
त्यस्तै जिल्लामा सत्ता गठबन्धनको सहमती अनुसार शान्तिनगरमा प्रमुखमा प्रमोद बस्नेत र बंगचुली गाउँपालिकाको उप्रमुखमा भक्तबहादुर जिसीलाई उम्मेदवार बनाइने भएको छ। सत्ता गठबन्धनको सहमतिअनुसार शान्तिनगर गाउँपालिकाको प्रमुख कांग्रेस र उपप्रमुख माओवादीलाई दिने भनिएको थियो। तर, अहिले तालमेल नहुने अवस्था आएको उपसभापती सवेदीले बताए। यसका लागि बैठक बसिरहेको उनले बताए।