नेपाली मूलका एक मात्र राज्य विधायक डा. ह्यारी (एच.बी.) भण्डारी यतिबेला साताव्यापि नेपाल भ्रमणमा छन्। उनलाई नेपालले एक पराक्रमी छोरा र पहिलो नेपाली अमेरिकी राज्य विधायक दुबै हैसियतमा मन खोलेर स्वागत गरेको छ। उनी आफैले यसलाई विवाह गरेर घर गएकी छोरी माइतिघर फर्कदा जस्तो अनुभूति गर्छिन् होलिन्, त्यस्तै अनुभूति भएको बताएका छन्।
बुधबार नेपाल पुगेका उनलाई नेपाल पर्यटन बोर्डको तर्फबाट उपाध्यक्ष चन्द्र भण्डारीले स्वागत गरेका थिए। भ्रमणको पहिलो दुई दिन काठमाडौंमा विभिन्न कार्यक्रममा व्यस्त भण्डारी शुक्रबार पोखरा पुगेका थिए। पोखरामा उनलाई गण्डकी प्रदेश सरकारका तर्फबाट सम्मान गरिएको थियो। शुक्रबार नै उनलाई नेपाल पत्रकार महासंघ कास्की शाखा, पर्वत समाज पोखरा, नेपाल लेखक संघलगायतका संघ संस्थाहरूले सम्मान गरेका थिए।
शनिबार जन्मघर पर्वत गएका उनलाई कुश्मामा नेपाल पत्रकार महासंघ पर्वत शाखालगायतका स्थानीय विभिन्न संघ-संस्थाहरूले स्वागत गरेका थिए।
पर्वत कुश्माबाट हेलिकोप्टरमा जन्मघर थापाठाना ओर्लिएका उनलाई घरगाउँलेले मन खोलेर स्वागत गरे। २००६ मा अमेरिका गएको त्यही गाउँको एक छोरा अमेरिकाको राज्य विधायक भएर फर्केकोमा आफन्त र गाउँलेहरू खुशी थिए।
शनिबार काठमाडौं फर्किएका उनी आइतबार विहान एक कार्यक्रममा सहभागी हुन सिन्धुपाल्चोकको हेलम्बु पुगेका छन्। आइतबार उनको काठमाडौंमा महत्वपूर्ण भेटघाटका कार्यक्रमहरू तय भएका छन्। सोमबार साँझ उनी अमेरिका फर्कने कार्यक्रम रहेको छ।
भ्रमणका बारेमा बीएल नेपालीसँग कुरा गर्दै डेलिगेट डा. भण्डारीले आफ्नो भ्रमण अत्यन्त फलदायी भएको बताए। उनले यो सद्भावना भ्रमणबाट आफूले नेपाललाई थप बुझ्न पाएको बताउँदै यो भ्रमणबाट पाएको शिक्षालाई आगामी दिनमा कार्यान्वयनमा ल्याउने बताए।
आफ्नो जन्मदेश नेपाल त्यसमा पनि जन्मेको गण्डकी प्रदेश र जिल्लाबासी र गाउँलेहरूबाट पाएको माया अतुलनीय रहेको बताउँदै आफूले त्यो मायाको सधैंभरी इज्जत राख्न प्रयत्न गर्ने बताए।