पूर्वी नेपालकाे मेची खाेलास्थित नेपाल–भारत दशगजामा भारतले उत्खनन गरिरहेकाे छ। वर्षौदेखि ढुंगा, गिटी र वालुवामाथि चरम दोहन जारी रहँदा पनि अधिकारीहरू चुपचाप छन्।
पर्यावरणीय दृष्टिकोणले उत्खनन गर्न नमिल्ने सीमा स्तम्भ नजिककाे नेपाली भू–भागमा भारती पक्षले घिनलाग्दाे दादागिरी देखाइरहेकाे छ। मेची पुलभन्दा करिव २ सय मीटरमाथि नेपाल–भारत दशगजा नजिकै भारतको एकाेहाेराे दाेहन देख्न सकिन्छ।
नेपाली जमिनमाथि भारतले चरम दोहन गरिरहँदा पनि मेचीनगरका जनप्रतिनिधिहरू भने माैन छन्। मेची पुलसँगै भारतको दाेहाेनकाे विषयमा हालसम्म मेचीनगर–६ का प्रतिनिधि समेत बाेलेका छैनन्। जनप्रतिनिधिले भारतसँग उत्खननकाे खबरदारी नगर्दा दैनिकजसाे सयौं ट्याक्टर, जेसिभिले ढुङ्गा, गिट्टी र बालुवा भारतले उत्खनन गर्दैआएकाे छ।
चरम दोहनबारे जिल्ला प्रशासन कार्यालय झापाले समेत कुनै चासो देखाएको छैन। उत्खनन वातावरणीय दृष्टिकोणले गलत मानिएकाे छ। नदीमा थुप्रिएको नयाँ गिट्टी–बालुवा झिक्ने र पुराना बचाएर राख्नुपर्ने हुन्छ। तर गहिरो खाल्डो बनाएर नदी दोहन भएको पाइएको छ। जसले गर्दा बर्षादमा कटान, भूक्षय र पानीको स्रोत सुक्ने जोखिम छ।
मेचीनगर–१ र रोङ गाउँपालिका–६ को चुरे क्षेत्रमा भारतले एकतर्फी उत्खनन गर्ने गरेको छ। याे नेपाल–भारतको दशगजा पनि हो। दशगजामा एकअर्काकाे सहमतिबिना कुनै गतिविधि पनि गर्न मिल्दैन। तर नेपालको कमजोर सुरक्षा उपस्थितिको फाइदा लिँदै भारतले खुलेआम नदीजन्य सामग्री उत्खनन गरिरहेको छ।
नेपाली चुरे क्षेत्रकाे ढुंगा संकलन गरी भारतले बंगलादेश निर्यात गर्दैआएको बताइएकाे छ। भारतीयहरू कहिलेकाहिँ नेपाली भू–भागतिरै आएर नदीजन्य सामाग्री उठाउने गर्छन्। उनीहरूलाई भारतीय सीमा सुरक्षा बलले नै आडभरोसा दिने गरेको स्थानीय शान्तप्रसाद न्यौपानेले बताउँछन्। 'भारतमा छिरे पक्राउ गरेर जरिबाना गर्छ,' न्यौपानेले भने, 'केही समयअघि बाहुनडाँगी क्षेत्रबाट एसएसबीले ट्याक्टर नियन्त्रणमा लिएर जरिबाना तिराएर छाड्याे।'