खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा कोल्ड स्टोर (चिस्यान केन्द्र) निर्माण गरिएको छ।
संघीय सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ३० टन भार क्षमताको कोल्ड स्टोर निर्माण गरिएको हो।
९० लाखको खर्चमा निर्माण गरिएको चिस्यान केन्द्र शुक्रबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका छन्। किसानले उत्पादन गरेका हरियो तरकारी, आलुको बीउ, फलफूल लगायतका कृषि उपज भण्डारणका लागि चिस्यान केन्द्र निर्माण गरिएको हो।
चिस्यान केन्द्रमा जिल्लामा उत्पादित कृषि सामग्रीलाई व्यवस्थित तरिकाले लामो समयसम्म सुरक्षित रूपमा भण्डारण गर्न सकिने नगरपालिकाले जनाएको छ।
चिस्यान केन्द्र उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य पाँचकर्ण राई, नगर प्रमुख दिपनारायण रिजाल, उपप्रमुख बिणादेवी राई लगायतको उपस्थिति रहेको थियो।