अमेरिकामा नेपाली मूलका एक मात्र राज्य सांसद डा. ह्यारी भण्डारी ‘विशिष्ठ सेवा अवार्ड’बाट सम्मानित भएका छन्। उनलाई यो सम्मान उनकै गृहराज्य मेरिल्याण्डको एक शक्तिशाली संस्था 'मेरिल्याण्ड एशोसियसन फर द डिफ’ ले प्रदान गरेको हो।
‘मेरिल्याण्ड एशोसियसन फर द डिफ’ मेरिल्याण्डका श्रवण-शून्य वा श्रवण-अशक्तहरूको छाता संस्था हो। संस्थाको ६५औं वार्षिक गालामा उनलाई सम्मान गरिएको हो।
सम्मानित डेलिगेट डा. भण्डारीले एक प्रेस विज्ञप्ती जारी गर्दै यसको जानकारी गराएका हुन्। उनले प्रेस विज्ञप्तीमा समाजमा पछाडि पारिएका समुहहरूको हक, हित र अधिकारका लागि वहस-पैरवी र काम गरेकै कारण यो सम्मान पाएको जनाएका छन्।
डेलिगेट डा. भण्डारीले मेरिल्याण्डका श्रवण-शून्य वा श्रवण-अशक्तका लागि दुईवटा कानून बनाउन अमह् भूमिका निर्वाह गरेका छन्।एउटा कानून बनेर लागू भैसकेको छ भने अर्को विधेयक कानून बन्ने अन्तिम प्रक्रियामा छ।
डेलिगेट डा. भण्डारीले श्रवण-शून्य वा श्रवण-अशक्त मेरिल्याण्डबासीका पक्षमा महत्वपूर्ण कानून बनाउन अहम् भूमिका निर्वाह गरेका थिए। यसअघि उनले श्रवण-शून्य वा श्रवण-अशक्त विद्यार्थी र उनीहरूका अभिभावकलाई तालिम र उपकरणका लागि सहायता दिलाउने महत्वपूर्ण कानून बनाइसकेका छन्। उनले त्यो कानुन् रिपब्लिकन सिनेटर क्रिस वेस्टसँग मिलेर द्विदलीय समर्थनमा बनाएका थिएँ र अमेरिकी मूलधारका सञ्चार माध्यममा पनि त्यसले ठूलो महत्व पाएको थियो।
डेलिगेट डा. भण्डारीले यसै संसद सत्रमा पनि अर्को एउटा विधेयक प्रस्तुत गरेका छन्। श्रवण-शून्य वा श्रवण-अशक्तको हितलाई ध्यानमा राखेर प्रस्तुत गरिएको विधेयकले मेरिल्याण्डका चलचित्र घरमा प्रदर्शन गरिने चलचित्रमा कम्तीमा सातामा दुईवटामा क्याप्सन राख्नुपर्ने व्यवस्था गर्नेछ।
आफू सम्मानित हुनु अमेरिकाको नेपाली समुदाय नै सम्मानित हुनु हो भन्दै डेलिगेट डा. भण्डारीले यो सम्मानको श्रेय आफूलाई विजयी बनाउने मतदाता र मेरिल्याण्डको नेपाली समुदायलाई दिएका छन्।