अमेरिकाको बाल्टिमोरमा बसोबास गरिरहेका नेपालीहरूको संस्था 'बाना' को आगामी नेतृत्वका लागि निर्वाचन जारी छ। अमेरिकी पूर्वी समयअनुसार अपरान्ह १ बजेसम्म ३० प्रतिशत जति मत खसेको अनुमान गरिएको छ।
विहान ८ बजेदेखि सुरू भएको निर्वाचन साँंझ ५ बजेसम्म जारी रहने कार्यक्रम रहेको छ। निर्वाचन सकिए लगत्तै मतगणना गरिने र राति नै परिणाम सार्वजनिक हुने बताइएको छ।
मतदान केन्द्रमा दुबै पक्षमा प्रचारक तथा समर्थकहरू ठूलो संख्यामा रहेको त्यहाँ पुगेका हाम्रा स्थानीय प्रतिनिधिले बताएका छन्। उनका अनुसार बाल्टिमोरको नेपाली समुदायका अग्रज व्यक्तित्वहरू पनि बाँडिएर आआफ्ना उम्मेद्वारको पक्षमा मत मागिरहेका छन्।
निर्वाचनमा वर्तमान अध्यक्ष सुवोध विलास पन्त र वरिष्ठ उपाध्यक्ष हिरा लाल गुरूङ प्यानल बनाएरै निर्वाचनमा आम्नेसाम्ने भएका छन्। दुबै प्यानलले आफ्नो प्यानलले जित्ने बताए पनि बाल्टिमोरको नेपाली समुदायका अग्रज व्यक्तित्वहरू भने मिश्रित परिणाम आउने बताइरहृेका छन्।
निर्वाचनले बाल्टिमोरको नेपाली समुदायलाई ठाडो चिरामा विभाजित गरेको देखिन्छ। उम्मेद्वार मात्र हैन, बाल्टिमोरको नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरू पनि विभाजित भएर चुनावमा होमिएका छन्।
तर, निर्वाचनको एक दिन अघि शनिबार अमेरिकी मिडिया अनुसन्धान संस्था ‘फोर्थ स्टेट’ ले र्यान्डम्ली फोन कलमार्फत् गरेको मत सर्भैक्षणले हिरा गुरूङ ४ प्रतिशतले अगाडि रहेको जनाएको थियो।
निर्वाचनले बाल्टिमोरको नेपाली समुदायलाई ठाडो चिरामा विभाजित गरेको देखिन्छ। उम्मेद्वार मात्र हैन, बाल्टिमोरको नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरू पनि विभाजित भएर चुनावमा होमिएका छन्। दुबै पक्षले प्रतिष्ठाको लडाइँ बनाएकाले यो चुनावमा जुन पक्षको जित भए पनि सबैलाई समेटेर अगाडि बढ्न मुस्किल हुने अनुमान गरिएको छ।
केही समयअगाडि अमेरिकाकै टेक्सासको डल्लासमा नेपालीहरूको सामुदायिक संस्था नेप्लिज सोसाइटी टेक्सासमा पनि चुनावका नाममा दुई पक्षमा विभाजित भएर यस्तै प्रतिष्ठायुद्ध गरिएको थियो । अहिले त्यही रोग बाल्टिमोरमा देखिएकाले अमेरिकामा रहेका ठूला नेपाली डायस्पोराहरू विभाजित हुँदै गएको देखिएको छ।
एकीकृत भएर अगाडि बढ्नुपर्ने बेला चुनावका नाममा हुने यस किसिमको जुङाको लडाइँले कोही एक पक्ष जिते पनि त्यसले नेपालीको भावनात्मक एकता हार्ने अवस्था सिर्जना हुनुलाई सुखद भन्न सकिन्न ।