बाना निर्वाचनको मत सर्भेक्षण सार्वजनिक, हिरा गुरूङ ४ % मतले अगाडि

बिएल संवाददाता

बाल्टिमोर, अमेरिका

अमेरिकाको बाल्टिमोरमा बसोबास गरिरहेका नेपालीहरूको संस्था 'बाना' को आइतबार हुने निर्वाचनमा हिरा गुरूङ प्यानल ४ प्रतिशत मतले अगाडि रहेको देखिएको छ। अमेरिकी मिडिया अनुसन्धान संस्था ‘फोर्थ स्टेट’ ले र्‍यान्डम्ली फोन कलमार्फत् बानाका २५० मतदाताबीच गरेको मत सर्भैक्षणका आधारमा नतिजा प्रक्षेपण गरेको जनाएको छ।

फोर्थ स्टेटका अनुसार बानाको निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम मतदाता सूचीलाई आधार बनाइएको थियो। मतदाता सूचीमा ७४७ आजीवन सदस्य र १५१६ साधारण सदस्य गरी कूल २२६३ मतदाता  रहेका छन्। तिनै सदस्यलाई जनजाति, गैर-जनजाति, आजीवन सदस्य, साधारण सदस्य र राजनीतिक आस्था गरी पाँच समूहमा विभाजन गरी स्याम्पल साइज लिइएको फोर्थ स्टेटले जनाएको छ। उसका अनुसार हरेक वर्गमा ५०-५० जनालाई सहभागी गराइएको थियो। सबै समूहमा गरी महिला र पुरूष १२५-१२५ जना सहभागी गराइएको र कुनै पनि सहभागी नदोहोर्याइएको पनि जनाएको छ।

७४.०% मात्र सहभागी, १६०० जति मतदान

सर्भैक्षणमा सहभागीमध्ये ७४.०% सहभागी हुने बताएका छन् भने २६.०%ले मतदानमा सहभागी नहुने जनाएका छन्। यसको अर्थ यो निर्वाचनमा २२६३ मध्ये १६७५ मतदाता सहभागी हुन्छन् भने ५८८ मतदाता सहभागी हुँदैनन्। अझै पनि ६ प्रतिशत मतदाताले कसलाई मत दिने निर्णय गरिनसकेकाले यो संख्या अरू बढ्ने देखिन्छ। त्यसो हुँदा बढीमा १६०० मत मात्र खस्ने देखिन्छ।

अझै पनि ६% मत अनिर्णित

निर्वाचनमा सहभागी हुने ७४.० प्रतिशत मतदातामध्ये  अझै पनि ६ प्रतिशतले कसलाई मत दिने भन्ने निर्णय गरिसकेका छैनन्। निर्णय नगर्नेमा आजीवन सदस्यमा ६%, साधारण सदस्यमा ८%, जनजातिमा ४%, गैर-जनजातिमा ६% र राजनीतिक आस्थामा ६% रहेका छन्। अझै पनि ८ प्रतिशत साधारण सदस्य अनिर्णित देखिन्छन्। यो मत कता जान्छ,त्यसले पनि परिणाम प्रभावित हुनेछ।

कुन समुहमा को अगाडि ?

आजीवन सदस्य र गैर-जनजातिमा सुवोध पन्त अगाडि छन् भने राजनीतिक आस्था, जनजाति र साधारण सदस्यमा हिरा गुरूङ अगाडि देखिन्छन्। मत सर्भैक्षणअनुसार सुबोधलाई आजीवन सदस्यमा १५%, साधारण सदस्यमा १३%, जनजातिमा १५%, गैरजनजातिमा १९% र राजनीतिक आस्थामा १८% मत प्राप्त हुने देखिन्छ भने हिरालाई आजीवन सदस्यमा १३%, साधारण सदस्यमा १८%, जनजातिमा २२%, गैरजनजातिमा १८% र राजनीतिक आस्थामा १९% मत प्राप्त हुने प्रक्षेपण गरिएको छ। जनजातिमा हिरा १५% का विरूद्ध २२% ले अगाडि देखिएकाले उनलाई जीत दिलाउन यो भोट ब्लक निर्णायक देखिन्छ।

हिरा अगाडि तर पनि सोह्रैआना ढुक्क हुने अवस्था छैन

मत सर्भेक्षणमा हिरा ४ प्रतिशतले अगाडि छन् तर अझै पनि ६ प्रतिशत मतदाताले कसलाई मत दिने निर्णय गरिसकेका छैनन्। यो स्विङ भोट निर्णायक हुने देखिन्छ। यो मतमा कम्तिमा पनि हिराले २ प्रतिशत मत आफ्नो पक्षमा पारे भने उनको जीत निश्चित देखिन्छ। तर, त्योभन्दा बढी मत सुबोधको पक्षमा गयो भने हिरालाई जित्न सकस पर्छ।

निर्वाचन सुरू हुन १२ घण्टा पनि बाँकि नरहेको यति बेला बाल्टिमोरका नेपालीको मुड हेर्दा हिरा गुरूङ विभिन्न फ्याक्टरले जीतको नजिक देखिन्छन्। तर, राजनीतिमा रात रहे अग्राख पलाउने भएकाले सोह्रैआना ढुक्क हुने अवस्था भने छैन। तर, सुवोधका लागि भने जीत निकाल्न मुस्किल हुँदै गएको छ।

अग्रजहरू भन्छन्, मिश्रित परिणाम

फोर्थ स्टेट मिडियाको मत सर्मेक्षणको परिणामलाई हामीले सुवोध पन्त र हिरा गुरूङलाई सघाइरहेका बाल्टिमोरका दुईजना अग्रज व्यक्तित्वलाई सोध्यौ, उनीहरू दुबैजनाले यो मत सर्भैक्षण सत्यको धेरै नजिक रहेकोमा बताए। उनीहरूको भनाइ थियो, एउटै प्यानलले सबै पद जित्दैन, परिणाम मिश्रित आउँछ। हिरा र सुबोधको जीतमा भने उनीहरूको एउटै स्वर थियो, दुबैबीच कडा प्रतिस्पर्धा छ, अनिर्णित मत नै निर्णायक हुनेछ।

यसैबीच मत सर्भेक्षण गर्ने संस्थाले पनि ४ प्रतिशत इरर हुन सक्ने जनाएको छ। संजोग नै भन्नुपर्छ, हिरा गुरूङ पनि आफ्ना प्रतिस्पर्धी सुवोध पन्तभन्दा ४ प्रतिशत मतले नै अगाडि छन्।

प्रकाशित मिति: : 2022-04-03 06:49:00

प्रतिकृया दिनुहोस्