लोकतान्त्रिक विद्यार्थी संघद्वारा जनकपुरधाम कार्यालयमा तालाबन्दी

बिएल संवाददाता

जनकपुरधाम 

लोकतान्त्रिक विद्यार्थी संघका नेताहरूले लोकतान्त्रिक समाजवादी पार्टी नेपालको जनकपुरधामस्थित प्रादेशिक कार्यालयमा तालाबन्दी गरेका छन्।

पार्टीका जिल्ला अध्यक्ष परमेश्वर साहले आफ्नो पाकेटको मान्छेलाई लोकतान्त्रिक विद्यार्थी संघको जिल्ला अध्यक्षमा मनोनित गरेको भन्दै उनीहरूले तालाबन्दी गरेका हुन्।

विद्यार्थी संगठनका नेताहरूसँग विचार विमर्श नगरी आफूखुसी अध्यक्ष मनोनित गरेकोले विरोधस्वरूप आफूहरूले पार्टी कार्यालयमा तालाबन्दी गरेको लोकतान्त्रिक विद्यार्थी संघका नेता त्रिदेव मिश्राले बताए।

उनले भने, ‘हामी विद्यार्थी संगठनका नेता–कार्यकर्ताको सल्लाह सुझाबबिना नै जिल्ला अध्यक्ष नियुक्त गरेकोमा विरोध जनाउँदै आजदेखि निर्णय नसुधारिएसम्म पार्टी कार्यालयमा तालाबन्दी गरेका हौं।’

विद्यार्थीको भविष्य बन्धकमा राखी हतकडी लगाएको विद्यार्थी नेता करण मिश्राले बताए।

‘विगत पाँच वर्षदेखि हामी विद्यार्थी नेताहरूलाई पार्टीले हाम्रो भविष्य बन्धकमा राखी हतकडी लगाइ राखेको बुझाइ सबैमाझ स्पष्ट छ’, उनले भने, ‘हाम्रो पार्टीको जिल्ला अध्यक्ष परमेश्वर साहले आफूखुसी आफ्नो पाकेटको मान्छेलाई हामी विद्यार्थी संगठनका नेताहरूसँग विचार विमर्श नै नगरी लोकतान्त्रिक विद्यार्थी संघको जिल्ला अध्यक्ष मनोनित गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

पार्टी अध्यक्ष साहले बिहीबार मात्रै लोकतान्त्रिक समाजवादी पार्टी नेपालको भातृ संगठन लोकतान्त्रिक विद्यार्थी संघ धनुषा जिल्लाको अध्यक्षमा मो.इजाज अन्सारीलाई मनोनित गरेका थिए।

प्रकाशित मिति: : 2022-04-01 19:21:00

प्रतिकृया दिनुहोस्