सिट्रस ग्रिनिङबाट सुन्तला बचाउन सिट्रस सिल्ला किरा नियन्त्रण गर्न विज्ञको सुझाव 

File photo
File photo

विज्ञले खोटाङका किसानलाई सिट्रस ग्रिनिङ रोगबाट सुन्तला बचाउनका लागि सिट्रस सिल्ला किरा नियन्त्रण गर्न सुझाव दिएका छन्। 

इकोहिमाल नेपालले बिहीबार दिक्तेलमा आयोजना गरेको सुन्तला जात फलफूलमा ग्रिनिङ रोगको व्यवस्थापन सम्बन्धी स्थानीय सरकार र सरोकारवाला निकायबिचको अन्तरक्रिया कार्यक्रममा सुन्तला सम्बन्धी विज्ञले सिट्रस ग्रिनिङ रोगको व्यवस्थापनका लागि किसानलाई सिट्रस सिल्ला किरा नियन्त्रण अनुगमन र व्यवस्थापन गर्न सुझाव दिएका हुन्।

जिल्लाको रावाबेँसी गाउँपालिकामा लगाइएको सुन्तलामा सिट्रस ग्रिनिङ रोग पुष्टि भएपछि सो रोगको व्यवस्थापन सम्बन्धी स्थानीय सरकार र सरोकारवाला निकायबिचको अन्तरक्रिया आयोजना गरिएको हो।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, हरिहरभवन, ललितपुरका वरिष्ठ बाली संरक्षण अधिकृत देवराज अधिकारीले सुन्तलालाई सिट्रस ग्रिनिङ रोग लाग्नबाट जोगाउनका लागि रोगमुक्त प्रमाणित बिरुवा रोपण गर्न, जाली घरभित्र बिरुवा उत्पादन गर्न, रोग संक्रमित बिरुवा वा बिरुवाजन्य सामग्रीको ओसारपसारमा बन्देज गर्न सुझाव दिएका छन्। 

वरिष्ठ बाली संरक्षण अधिकृत अधिकारीले बड उड प्रमाणीकरण गर्न, क्वारेन्टाइन नियमनको व्यवस्था गर्न, रोग परीक्षणका लागि पिसिआरको सुलभता छरितोपना, रोग प्रतिरोधी जात पहिचान, सिफारिस र उपलब्धताको वातावरण सिर्जना गर्नुपर्नेमा स्थानीय सरकार प्रमुखको ध्यानाकर्षण गराएका छन्। 

यस्तै, रोग लागिसकेको अवस्थामा रोग संवाहक सिट्रस सिल्ला किरा अनुगमन र व्यवस्थापन गर्न, सिकारी किरा र परजीवी किराको प्रयोग गरेर सिट्रस सिल्लाको प्राकृतिक तरिकाले नियन्त्रण गर्न वा रासायनिक विषादी प्रयोग गर्न सुझाव दिएका छन्। उनले सुन्तला बगानमा अन्तरबालिका रूपमा अम्बा खेती लगाउने तथा रोगी बोट नष्ट गर्न पनि किसानलाई सुझाएका छन्। आन्तरिक क्वारेन्टाइन नहुँदा अन्यत्रबाट रोगी बिरुवा भित्रिने गरेको विज्ञको भनाइ छ। 

इकोहिमालको पहलमा गत २७ कात्तिकमा नमुना संकलन गरेर लागि पिसिआर परीक्षणका लागि २९ पुसमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, विश्लेषणात्मक सेवा केन्द्र, खुमलटार पठाउँदा रावाबेँसी गाउँपालिका–३ लामिडाँडाका ६ मध्ये ५ किसानको सुन्तलामा सिट्रस ग्रिनिङ पोजेटिभ पुस्टी भएको थियो। जिल्लाका अन्य स्थानीय तहका सुन्तलामा पनि सिट्रस ग्रिनिङको आशंका गरिएको कृषि ज्ञान केन्द्र खोटाङका बाली संरक्षण अधिकृत रामनन्दन यादवले बताए। 

सुन्तलाको पात पहेँलो हुँदै जाने, टुप्पाबाट पहेँलो हुँदै जाने र बोट मर्ने, दाना राम्ररी नपाक्ने, एउटै दानाको एकातिर पाकेको र अर्कोतिर काँचो हुने, बीचबाट दुई फ्याक बनाउँदा एकातिर ठूलो र अर्कोतिर सानो भाग देखिने सिट्रस ग्रिनिङले जिल्लाको सुन्तलाको उत्पादनमा प्रत्यक्ष असर पारिरहेको छ।

कार्यक्रममा बोलाइएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौला र रावाबेँसी गाउँपालिकाका अध्यक्ष लीलानाथ निरौला भने छलफलको निचोड ननिस्कँदै बाहिरिएका थिए। कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। 

प्रकाशित मिति: : 2022-03-31 19:30:00

प्रतिकृया दिनुहोस्