चोरीको मोटरसाइकलसहित पर्साबाट एक गिरोह पक्राउ

पर्सा प्रहरीले चोरीको ७ वटा मोटरसाइकलसहित एक गिरोहलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२५ निवासी २० वर्षीय आकाश कुमार पटेल, २८ वर्षीय दीपेन्द्र पटेल र वीरगञ्ज–२० निवासी २९ वर्षीय मनिर मियाँ अन्सारी रहेका छन्।

उनीहरूले मोटरसाइकल चोरेर नम्बर प्लेट परिवर्तन गरी चलाउने गरेको बुझिएको छ। अनुसन्धानका क्रममा उनीहरूसँग रहेको थप ५ वटा मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार चैत ४ गते वीरगञ्ज–२५ बाट चोरी भएको दिनेश प्रसाद राउतको ना.३४ प १९२८ नम्बरको कालो रंगको सुपर स्प्लेण्डर मोटरसाइकललाई खोज्दै जाँदा उनीहरूलाई नियन्त्रणमा लिएको हाे।

चोरी गरिएको मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरेर ना २५ प १४६६ बनाई चलाउँदै गरेको अवस्थामा चैत १५ गते गिरोहलाई वीरगञ्ज–२० हरपतगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको डिएसपी खनालले बताए।

उक्त स्थानबाट कागजपत्र नभएका थप ५ वटा मोटरसाइकलसमेत प्रहरीले फेला पारेको थियो। आवश्यक काजगपत्र नहुँदा फेला पारिएका मोटरसाइकलसमेत चोरीको हुनसक्ने आशंकामा प्रहरीले उक्त मोटरसाइकल पनि नियन्त्रणमा लिएको खनालको भनाई छ। 'पक्राउ परेका उनीहरूमाथि चोरीसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ।'

त्यसैगरी चैत १२ गते वीरगञ्ज–२ स्थित सडकको छेउमा पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको प्रदेश २–०३–०१८ प ००१८ नम्बरको २ सय सीसीको रातो कालो रंगको पल्सर मोटरसाइकल र चोरलाई पनि पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

मोटरसाइकल चोरी गर्ने आरोपमा बारा जिल्लाको कोल्वी नगरपालिका–१ निवासी २३ वर्षीय अच्छेलाल चौधरी पक्राउ परेका छन्।

डिएसपी खनालका अनुसार मोटरसाइकलको लक तोडी चोरी गरेर भाग्दै गरेको अवस्थामा चौधरीलाई प्रहरीले वीरगञ्ज–३ छप्कैया वीट अगाडिबाट नियन्त्रणमा लिएको थियो। चौधरीमाथि पनि चोरीसम्बन्धि कसूरमा अनुसन्धान अगाडि बढाइएको खनालले जानकारी दिए।

प्रकाशित मिति: : 2022-03-31 14:50:00

प्रतिकृया दिनुहोस्