झापाको मुख्य राजनीतिक केन्द्र मानिएको बिर्तामोड नगरपालिकामा राप्रपाले ठूला दललाई चुनौति दिने गरि निर्वाचनमा होमिएको छ। स्थानीय तहको निर्वाचन नजिकिदैँ जाँदा राप्रपाभित्र उम्मेद्वाहरुको चर्चा पनि चुलिएको छ।
स्थानीय तहको अघिल्लो निर्वाचनमा बिर्तामोडको मेयरमा राप्रपाबाट भक्ति सिटौला उम्मेद्वार बनेका थिए। उनलाई नेकपा एमालेका तर्फबाट उम्मेद्वार बनेका धु्रव कुमार शिवाकोटीले पराजित गरेका थिए। सिटौलाले ६ हजार १ सय ७० मत गरेका थिए। शिवाकोटी ९ हजार १ सय १२ मत प्राप्त गर्दै मेयरमा निर्वाचित भएका थिए।
स्थानीय तहको आगामी बैशाख ३० गते हुने निर्वाचनमा पुनःभक्तिप्रसाद सिटौला उम्मेद्वार बन्ने चर्चा चुलिएको छ। सिटौला पार्टीका केन्द्रीय सदस्य एवम् प्रवक्ता समेत हुन्। उनी लामो समय नेपाली कांग्रेसको राजनीतिबाट राप्रपाको राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन्। बिर्तामोडमा लोकप्रिय मानिएका सिटौलाले बिर्तामोडमा माओवादीको भन्दा दोब्बर मत प्राप्त गरेका थिए।
राप्रपाको तर्फबाट भक्ति सिटौला, सामाजिक व्यक्तित्व राजकुमार पोखरेल, पार्टीको वर्तमान नगर अध्यक्ष रञ्जु प्याकुरेल र जिल्ला उपाध्यक्ष धु्रव उप्रेती मेयर पद्का दावेदार हुन्। उप्रेती संविधानसभाको दोस्रो निर्वाचनमा झापा क्षेत्र नं. ४ बाट उम्मेद्वार बनेका थिए। यस्तै, राजकुमार पोखरेल बिर्तामोडका लोकप्रिय सामाजिक व्यक्तित्व हुन्। उनी तत्कालिन अनारमनी गाविस वडा नं. ४ का वडाध्यक्ष समेत हुन्।
झापामा तेस्रो शक्ति बनेको राप्रपा आउँदो निर्वाचनमा थप जीत हासिल गर्ने गरि तयारीमा लागेको छ। निर्वाचन केन्द्रीत अभियानमा क्रियाशिल रहेको राप्रपाले नेकपा एमालेलाई मुख्य प्रतिस्पर्धीको रुपमा ठानेको छ।
हल्दिवारी र गौरीगञ्जमा अध्यक्ष, कचनकवलमा अध्यक्ष, उपाध्यक्ष जितेको राप्रपाले दमकमा २, बिर्तामोडमा १, १, कचनकवलमा ३ वटा वडाध्यक्ष जितेको थियो। कचनकवलमा पूर्ण बहुमत रहेको राप्रपाले हल्दिवारीमा ६, दमकमा ४ र कचनकवलमा २२ सदस्य जितेको राप्रपा झापाका अध्यक्ष केशव ओझाले जानकारी दिए। अध्यक्ष ओझाका अनुसार ०७४ को स्थानीय तह निर्वाचनमा झापामा एमाले र कांग्रेसपछि राप्रपाले धेरै सिट जितेको थियो।