अस्पतालले रोक्यो शल्यक्रिया सेवा
स्वास्थ्य सुविधाको अभावमा श्रीलंकाको एउटा अस्पतालले शल्यक्रिया रोकेको छ। देशभर पेट्रोल र मट्टितेल पाउनै मुस्किल छ।
स्वास्थ्य सुविधा अभाव भएपछि क्यान्डीको पेराडेनिया अस्पतालमा शल्यक्रिया रोकिएको हो। अस्पतालले एक परिपत्र जारी गर्दै शल्यक्रिया रोक्नुको कारण उल्लेख गरेको छ। आर्थिक संकटका कारण श्रीलंका तल्लो तहमा पुगेको छ। यतिसम्म कि श्रीलंकालीहरू आफ्नो घरायसी खर्च कटौती गर्न बाध्य छन्। तीन महिनामा पेट्रोलको मूल्य दोब्बरले बढेको छ।
‘हाम्रो अस्पतालमा एनेस्थेसिया र शल्यक्रियाका लागि प्रयोग हुने धेरै औषधि र उपभोग्य वस्तुको अभाव छ। भर्ना भएका बिरामीको शल्यक्रियालगायतका सबै नियमित शल्यक्रियाहरू स्थगित गर्ने निर्णय भएको छ’, अस्पतालले जारी गरेको परिपत्रमा भनिएको छ। अस्पतालका निर्देशकले औषधिको अभाव देखाउँदै सबै नियमित शल्यक्रियाहरू अस्थायी रूपमा रोकेको बताएका छन्।
सरकारले स्थिति नियन्त्रण गर्न ग्यास पसलमा सेना खटाएको छ। पेट्रोल पाउन जाममा उभिएका वृद्ध–वृद्धाले ज्यान गुमाएका छन्। दुई ठूला पत्रिकाले कागज नपाउँदा प्रकाशन नै बन्द गर्नुपर्यो। कठिन दिनको समाचार जनतासम्म पुर्याउने सञ्चार संस्थाले नै छाप्ने कागज पाउँदैनन्। यो संकट सबै क्षेत्रमा छ।
अस्पतालामा स्वास्थ्य सुविधाको अभावपछि भारतीय विदेशमन्त्री एस जयशंकरले मंगलबार श्रीलंकास्थित भारतीय कमिसनारलाई सो अस्पताललाई सहयोग गर्न अनुरोध गरेका छन्। जयशंकरले भारतीय उच्चायुक्त गोपाल बागलेलाई भारतले श्रीलंकालाई गर्न सक्ने सहयोगका उपायबारे छलफल गर्न आग्रह गरेका हुन्।
श्रीलंकाको शिक्षा विभागले पर्चा छाप्ने कागज नहुँदा बालबालिकाको परीक्षा स्थगित गर्नुपरेको बताएको छ। श्रीलंकामा अत्यावश्यक वस्तुको अभावमा मात्र सीमित नभएको सोच्न सक्छौँ। यसको प्रभाव गहिरो छ। श्रीलंका नेपाली र भारतीय पर्यटकहरू छिर्ने ठाउँ हो। श्रीलंकाको हावापानी र खानाको कुरामा नेपाल–भारतसँग मिल्दोजुल्दो छ।
श्रीलंकाले अत्यावश्यक वस्तुको आयातका लागि भारतसँग एक अर्ब डलरको क्रेडिट लाइन मागेको छ। केही दिनअघि मात्रै भारतले श्रीलंकालाई एक अर्ब डलरको क्रेडिट लाइन स्वीकृत गरिसकेको छ। भारतले यसअघि नै श्रीलंकालाई तेल खरिदका लागि ५० करोड डलरको लाइन अफ क्रेडिट दिएको छ।
श्रीलंका अहिले आर्थिक जालमा फसेको छ। यो कुनै आकस्मिक घटना भने होइन। कोरोना युगले अलिकति आर्थिक संकट थप्यो। तर यो संकट लामो समयदेखि चलिरहेको नीतिहरूको परिणाम हो।
न्यून घरेलु उत्पादन, भ्रष्ट शासन व्यवस्था, कमजोर वित्तीय व्यवस्थापन, केही उच्च वर्गको सत्ता कब्जा, आफ्नो खल्ती भर्ने प्रयास, दिशाहीन नीति, उद्देश्यविहीन कर कटौतीले दीर्घकालमा यस्तो अवस्था सिर्जना गरेको विज्ञहरू बताउँछन्। कोरोनाका कारण दुई वर्षसम्म पर्यटनमाथि प्रतिबन्ध लगाउँदा विदेशबाट पैसा आउन बन्द भयो। तब अर्थतन्त्र धरासायी हुँदै गयो। अन्ततः श्रीलंकाले यस्तो दयनीय परिणम भोग्नुपरेकाे छ।