बाँकेमा टिप्परको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका– २० नेपालगञ्ज-कोहलपुर सडकखण्ड अन्तर्गत राँझा चोकमा टिप्परले ठक्कर दिँदा सोही ठाउँ बस्ने ७० वर्षीय वीरबल भण्डारीको मृत्यु भएको हो।
पैदल हिडिरहेका भण्डारीलाई नेपालगञ्जबाट कोहलपुर तर्फ जाँदै गरेको भे १ क ६५७ नं को टिप्परले आज (मंगलबार) विहान साढे ८ बजे ठक्कर दिएको थियो। टिप्परको ठक्करबाट गम्भीर गाइते बृद्धलाई अस्पताल लैजाँदै गर्दा बोटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
बृद्धलाई ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बृद्धको मृत्यु भएपछि आफन्तले उचित क्षेतिपूर्तीको माग गर्दै नेपालगञ्ज कोहलपुर सडकखण्ड अबरुद्ध गरेका छन्।