नेकपा (माओवादी केन्द्र) का नेता एंव पूर्वमन्त्री वर्षमान पुन घोडा चढेर दलबलसहित ऐतिहासिक धार्मिकस्थल जलजला पुगेका छन्।
बुबा ईखराम पुन र आमा तीर्थमाली पुनले वर्षौंअघि गरेको भाकल पूरा गर्न श्रीमती ओनसरी घर्तीसँगै उनी जलजला पुगेका हुन्।
हिँड्न गाह्राे भएपछि वर्षमान जलजला ‘बेस क्याम्प’देखि मन्दिर परिसरसम्म घोडामै पुगे। तर ओनसरी भने हिँडेरै पुगिन्। स्थानीयकाअनुसार उनीहरू दशवटा घोडा लिएर त्यहाँ पुगेका हुन्। घोडासवारको दश हजार शुल्क पूर्वमन्त्री पुन आफैँले तिरेका थिए।
वर्षमान र ओनसरीसँगै प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन ‘शिजल’, स्थानीय माओवादी कार्यकर्ता र परिवारका सदस्य पनि जलजला पुगे। उनीहरूकाे सुरक्षाका लागि इन्स्पेक्टरसहित आठ जना सुरक्षाकर्मी खटिएका थिए।
ईखराम र तीर्थमालीले बज्यू बराह, कइलु बराह र बामापूअको पूजाअर्चना गरे भने वर्षमान र ओनसरीले यी क्षेत्रको दर्शन गरे। भेडा बोकेर पाँच वर्षमा जलजला पुग्ने भाकल गरेका ईखराम र तीर्थमाली छोरा–बुहारीसहित दश वर्षपछि पुगेका हुन्।
तीनवटा भेडा बोकेर पूर्वमन्त्री पुन स–परिवार जलजला दर्शनमा निस्केपछि विपक्षीबाट आलोचना खेपिरहेका छन्। जलजला पुगेको संयोग पारेर माओवादी नेता पुनले धर्मशाला भवनको उद्घाटन समेत गरेका थिए।
यद्यपि परिवार र स्थानीय माओवादी कार्यकर्ता बोकेर धार्मिकस्थल पुगेका वर्षमान र ओनसरीले पूजाआजा नगरेको माओवादी कार्यकर्ताहरूको दाबी छ।
धर्मलाई ‘अफिम’ ठान्ने कम्युनिष्ट नेता वर्षमान अन्तत: स-परिवार धार्मिक आस्थाको केन्द्र जलजलाको दैलोमा पुगे। दर्शन तथा भाकल पूरा गर्न बराहक्षेत्र पुगेपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ।
रोल्पा–रूकुमका कम्युनिष्टहरूमा पनि धर्मप्रति आस्था राख्ने जमात ठूलो छ। धार्मिक आस्थाअनुसार जलजलाको बाह्रभाइ बराह शक्तिशाली पीठ मानिन्छ। जलजला क्षेत्र धार्मिकसँगै पर्यटकीय रूपमा पनि अब्बल छ। वर्षमानकाे जलजला यात्रालाई कतिपयले आगामी निर्वाचनसँग जाेडेर पनि चर्चा गरिरहेका छन्।