दाङ-सल्यान सडकखण्ड १० दिन बन्द हुने

File photo
File photo

दाङ-सल्यान सडकखण्ड १० दिन बन्द हुने भएको छ। 

राप्ती राजमार्ग अन्तरगत दाङ-सल्यान सडकखण्डमा पर्ने कपुरकोटदेखि चोरखोलासम्म मर्मत गर्नुपर्ने भएकाले सडकखण्ड १० दिन बन्द हुन लागेको हो।

आउने २२ गतेदेखि चैत्र १ गतेसम्म सडकखण्ड बन्द हुन लागेको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिए। कपुरकोट चोरखोला सडकखण्डमा दैनिक तीन सिफ्टमा काम हुँदैछ।

सोही अनुसार सवारी आवागमन पनि रोकिने सहायक प्रमुख जिल्ला अधिकारी खड्काले बताए। 

उनका अनुसार दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म पहिलो सिफ्टमा सडक मर्मतको काम हुनेछ। दोस्रो दिउँसो ११ बजेदेखि दिउँसो ३ बजेसम्म र तेस्रो सिफ्ट साँझ ५३० देखि ८ बजेसम्म मर्मतको काम हुनेछ।

यहि समयवधिमा सवारी आवागमन पनि रोकिने खड्काले जानकारी दिए।

राप्ती राजमार्गको विभिन्न ठाउँमा मर्मतको काम हुँदै आएको छ।

यसअघि पनि सडक मर्मतका लागि पटक-पटक सवारी आवागमन रोकिदै आएको छ। सडक मर्मतको काम सडक डिभिजन कार्यालय दाङले गर्दैछ।

यता दाङको घोराही-लमही सडकखण्ड पनि २२ गतेदेखि नै दैनिक ९ घण्टा बन्द हुँदैछ। फागुन २२ गतेदेखि ३० गतेसम्म सडक मर्मत गर्नुपर्ने भएकाले दैनिक ९ घण्टा सडक बन्द हुने सडक डिभिजन कार्यालय दाङले जनाएको छ।

यस सडकखण्डमा बेलुका ७ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन पूर्ण रुपमा बन्द गरिने छ।
 

प्रकाशित मिति: : 2022-03-04 21:10:00

प्रतिकृया दिनुहोस्