गैरआवासीय नेपाली संघ एनआरएनए युकेले संघका अध्यक्ष कुमार पन्तलाई एक पत्र पठाउँदै युकेका तर्फबाट केन्द्रमा पठाउनु पर्ने सदस्यता शुल्कका सम्बन्धमा एमओयू नभएसम्म सदस्यता शुल्क नतिर्ने स्पष्ट पारेकाे छ।
सोही प्रसङ्गमा अध्यक्ष गाहा मगरले प्रतिनिधिको नै निर्क्योल नभएकाले सेल्फीको कुरा तत्काल आवश्यक नभएको समेत बताएका छन्।
पत्रमा गैरआवासीय नेपाली संघ युके संघको अन्तर्राष्ट्रिय समन्वय परिषदसँग सहकार्य गर्न र विधानले दिएको अधिकार कर्तव्यको पालना गर्न प्रतिबद्ध भएको जानकारी गराउँदै सदस्यत शुल्क भुक्तानीका लागि राष्ट्रिय समन्वय परिषद युकेकाे सरोकारका विषयहरुको समयमै सुनुवाई होस भन्ने आग्रह गरिएको छ।
पत्रमा भनिएको छ, ‘गैरआवासीय नेपाली संघ युकेका सदस्यहरुको तर्फबाट संघको दशौँ महाधिवेशन तथा निर्वाचनमा निर्वाधरुपमा भाग लिन पाउनु पर्नेमा हामी स्पष्ट छौँ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युकेका तर्फबाट पठाइएका प्रतिनिधिका सम्बन्धमा आइसीसीको सचिवालयले बेलाबेलामा अपनाउँदै आएको रबैयाबाट भने हामी चिन्तित छौँ। राष्ट्रिय समन्वय परिषद युकेका तर्फबाट हुने प्रतिनिधित्व सम्बन्धमा अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिवालय तथा पदाधिकारी लगायतबाट फरक-फरक धारणा सार्वजनिक हुँदा हाम्रो वैधानिक प्रतिनिधित्वका सम्बन्धमा आस्वस्त हुन सकिरहेका छैनौँ। हामी राष्ट्रिय समन्वय परिषद युकेको वर्तमान कार्यसमितिले प्रमाणित गरेर पठाएका सम्पूर्ण प्रतिनिधिहरुले महाधिवेशन तथा निर्वाचनमा भाग लिन पाउने कुराको पूर्ण सुनिश्चितता होस भन्ने चाहन्छौँ।’
यसैगरी पत्रको दोश्रो बुँदामा भनिएको छ, ‘गैरआवासीय नेपाली संघ युके हालै मात्र बेलायतको स्थानीय कानुनअनुसार कल्याणकारी संस्थाको रुपमा दर्ता भएको छ। यस संस्थाबाट हुने सम्पूर्ण आर्थिक गतिविधि नियमकानुनको परिधिभित्र रहेर मात्र गर्नुपर्ने हुन्छ। अतः केन्द्रमा सदस्यता शुल्क बापतको रकम पठाउनु पहिले वैधानिक दायित्व श्रृजना हुनेगरी केन्द्र र हाम्रो बिचमा अधिकार, कर्तव्य र दायित्व बाँडफाँडको सामान्य दस्ताबेजको रुपमा नियमानुसारको सम्झौता पत्र Memorandum of understanding (MOU) तयार गरी हस्ताक्षर हुन जरुरी हुन्छ। हाम्रो तर्फबाट यस्तो दस्ताबेजका सम्बन्धमा आवश्यक तयारी भइसकेको जानकारी गराउँदै अन्तराष्ट्रिय समन्वय परिषदका तर्फबाट समेत समयमै आवश्यक पहल हुनका लागि अनुरोध गर्न चाहन्छौँ।’
गैरआवासीय नेपाली संघ युकेको बैंकिङ्ग कारोवारको पूर्ण हस्तान्तरण भइ नसकेको र रकम स्थानान्तरण सहज नभइरहेको कारण समय लाग्न सक्ने अवस्था जानकारी गराउँदै भनिएको छ, ‘अन्तराष्ट्रिय समन्वय परिषदका प्रति विधान अनुसारको हाम्रो दायीत्व समयमै बुझाउने कुरामा हामी पुर्ण प्रतिबद्ध छौँ।’
आफूहरुको चासोका विषयहरुमा अध्यक्ष पन्तको समयमै ध्यान जानेछ भन्नेमा विश्वस्त रहेको अध्यक्ष गाहा मगरले जनाएका छन्।
गैरआवासीय नेपाली संघ युकेको नेपाल हाउस बनाउने कार्यक्रम बारेमा जानकारी गराउँदै भनिएको छ, ‘आइसीसीको तर्फबाट सदस्यता शुल्कमा छुट दिएर वा नगदै सहयोग गर्न आग्रह गरिएको छ। करिब तीन लाख गैरआवासीय नेपालीहरुको बसोबास भएको यो देशमा गैरआवासीय नेपाली संघ तथा यहाँ रहेका नेपालीहरुको साझा घरको आवश्यकता महशुस भएको छ।’
अतः गैरआवासीय नेपाली संघ युकेले यो बर्ष नेपालीहरुको साझा घर नेपाल हाउस बनाउने अभियान सुरु गरेको छ। ‘यस कार्यमा प्रोत्साहन गर्न अन्तराष्ट्रिय समन्वय परिषदबाट हामीलाई सदस्यता शुल्क बापतको दायित्वमा छुट दिएर वा अन्य तरिकाले सहयोग पुर्याउनु हुनका लागि हार्दिक अनुरोध गर्दछौँ’, पत्रमा भनिएको छ।