एमसीसीविरुद्ध आज ३४ दलले विरोध प्रदर्शन गर्दै

माइतीघरदेखि कोटेश्वरसम्म विरोधका कार्यक्रम 

File Photo
File Photo

बिभिन्न ३४ वटा राजनीति दलहरुले शुक्रबार अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने भएका छन्।

एमसीसीका विषयमा शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकले छलफलपछि अनुमोदन गर्ने तयारी गरेपछि ती दलहरुले विरोधका कार्यक्रम राखेका हुन्।

दलहरुले अधिकांश विरोध कार्यक्रम काठमाडौंको माइतीघरदेखि कोटेश्वरसम्म राखेका छन्। ठाउँको अभाव हुँदा एउटै स्थानमा पार्टीका कार्यक्रमहरु जुधेका छन्।

एमसीसीविरुद्ध विरोध प्रदर्शनको आयोजना गर्नेमा सत्तारुढ दलदेखि साना दलसम्म रहेका छन्। विरोध प्रदर्शन गर्नेहरुले आज बानेश्वरस्थित प्रतिनिधिसभा भवनलाई तीन तिरबाट घेर्ने तयारी गरेका छन्।

शुक्रबार एमसीसी विरुद्ध प्रर्दशनको कार्यक्रम राख्नेमा नेकपा (माओवादी केन्द्र), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपालका लागि नेपाली पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चा, नेकपा (माले), एमसीसी खारेज अभियान नेपाल लगायत २२ राजनितीक दल तथा अभियान, संयुक्त जनआन्दोलन नेपाल, नेकपा (एकीकृत समाजवादी) आबद्ध जनसंगठन र  नेकपा (माओवादी) रहेका छन्।

नेकपा (माओवादी केन्द्र) निकट जवस/मोर्चाहरूले यथास्थितिमा एमसीसी पास गर्ने कदमविरुद्ध संसद भवन बानेश्वर घेराउ कार्यक्रम गर्ने कार्यक्रम राखेका छन्।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले एमसीसी सम्झौताविरुद्ध विरोध प्रदर्शन गर्दैछ। नेमकिपाले कोटेश्वरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने जनाएको छ।

नेपालका लागि नेपाली पार्टीले एमसीसी सम्झौताविरुद्ध विहान साढे ११ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने बताएको छ।

नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टीलगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी सम्झौताविरुद्ध माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने घोषणा गरेको छ। मध्यान्ह १२ बजेबाट विरोध कार्यक्रम सुरु गर्ने उनीहरुले जनाएका छन्।

नेकपा (माले), एमसीसी खारेज अभियान नेपाललगायत २२ राजनीतिक दल तथा अभियानले एमसीसी सम्झौताविरुद्ध साढे १२ बजे पुरानो बानेश्वरमा भेला भई विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। प्रदर्शन नयाँ बानेश्वर पुगि सभामा परिणत हुने बताइएको छ।

एमसीसी सम्झौता विरुद्ध संयुक्त जनआन्दोलन नेपालले बिजुली बजार पुलमा साढे १२ बजे एमसीसी विरुद्ध विरोध प्रदर्शन गर्ने जनाएको छ।

नेकपा (एकीकृत समाजवादी) आबद्ध जनसंगठनहरूले एमसीसीविरुद्ध कमलादीस्थित प्रज्ञा भवन डबलीमा खबरदारी सभा गर्ने घोषणा गरेका छन्।

नेकपा (माओवादी) ले शुक्रबार देशभर एमसीसीको विरोधमा मसाल जुलुस तथा पुत्ला दहन गर्ने जनाएको छ। 

प्रकाशित मिति: : 2022-02-25 11:30:00

प्रतिकृया दिनुहोस्