नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले प्युठानमा नेत्रवक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपा समूहसँगको सहकार्य स्थगित गर्ने निर्णय गरेको छ।
नेकपा मसालका प्युठान जिल्ला प्रबक्ता ज्ञामुराम न्यौपानेद्धारा जारी प्रेस बक्तव्यमा विप्लव समूहले अपनाएको गलत क्रियाकलापका कारण विप्लवसँग प्युठानमा चलिरहेको सहकार्य हाललाई स्थगित गरिएको जनाईएको छ।
नेकपा मसालले मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राना सहितका व्यक्तिलाई सोमबार नेकपा विप्लव समुहका कार्यकर्ताले कालोमोसो दलेर अमानविय कार्य गरेको भन्दै कडा शब्दमा घटनाको निन्दा र भर्तसना समेत गरेको छ। बक्तव्य मार्फत् मसालले आफ्ना गलत कार्य रोक्न चेतावनी समेत दिएको छ।
नेकपा मसाल र नेकपाले एमसीसीको विरुद्ध चलिरहेको संयुक्त आन्दोलनमा सहकार्य गर्दै आएका थिए।
मल्लरानी– ५ सरङकोटस्थित भूमी विकास आधारभूत विद्यालयमा पठनपाठन सम्वन्धी सरोकारवाला निकायहरुबीच छलफल चलिरहेका बेला विप्लवका कार्यकर्ताहरुले पालिका अध्यक्ष राना, प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा लगायतलाई कालोमोसो दलेर फरार भएका थिए। यो विषयलाई लिएर जिल्लामा चौतर्फी विरोध समेत भएको छ।