अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता आइतबार संसदमा टेबल भएपछि प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले तोड्फोड गरेको काठमाडौंको बुद्धनगरस्थित जानकी श्रेष्ठको बुटिकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी सुदिप गिरीसहितको टोली पुगेर जानकारी लिएको छ।
प्रहरी जानकीको बुटिकमा पसेको भन्दै आन्दोलनकारीले तोडफोड गरेका थिए। पसल तोडफोड भएपछि के गर्ने, कसो गर्ने ? भन्ने भेउ पाउन नसकेकाे, तर प्रजिअ अधिकारी र एसएसपी गिरी आएर निरीक्षण गरेपछि थोरै भए पनि राहत महसुस भएको जानकीले बताइन्।
उनले अझै पनि आन्दोलनकारीले आफूलाई टर्चर दिने गरेको सरकारी अधिकारीहरूसँग बताइन्। प्रजिअ अधिकारी र एसएसपी गिरीले आफ्नो ज्यान जोखिममा राखेर प्रहरी जोगाएकोमा जानकीलाई धन्यवाद दिए।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी गिरीले प्रहरीलाई कहाँ राखेर जोगाउनुभयो भनेर जिज्ञासा राखेका थिए। जवाफमा जानकीले पुलिसभित्र छिरेपछि आन्दोलनकारीले सटर खोलेर सिसा फुटाउन थालेपछि पछाडितर्फको गोदाममा लगेर लुकाएको बताइन्। उनले ६ प्रहरीलाई आफूले लुकाएर बचाएको जानकारी दिइन्।
जानकीले आफूले प्रहरीको ज्यान जोगाउन पाएकोमा गर्व लागेको बताइन्। जानकीसँग एसएसपी गिरी र काठमाडौंका प्रजिअ रिजालले तोडफोड भएको पसलको क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा प्रस्ताव गर्ने आश्वासन दिएका छन्।
प्रजिअ रिजालले भने, ‘प्रहरीले उठाएको पसलको मुचुल्का अनुरुप हामीले गृह मन्त्रालयसँग क्षतिपूर्तिका लागि प्रस्ताव गर्छौं।’