नेपाल वातावरण पत्रकार समूह (नेफेज)वातावरण विनास गर्नेमाथि कारबाहीकाे माग गरेकाे छ।
नेफेजका अध्यक्ष कसमस विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ-विकास आयोजना वातावरणमैत्री हुनुपर्छ र तिनको कार्यान्वयनका क्रममा वातावरणीय ऐन, कानुनहरुको पालना जिम्मेवार पक्षबाट गरिनुपर्छ भन्ने अटल मान्यता यस समूहले राख्दै आएको छ।'
नेफेजका अनुसार पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरा खण्डको सडक बिस्तारको क्रममा २५ माघमा तनहूँ जिल्लाको शुक्लागण्डकी नगरपालिका कोत्रेमा लोपोन्मुख खैरो गिद्धको गुँड भएको सिमलको रुख विनास गरियो। गत वर्षपनि गिद्धले प्रजजन गरेको यो रुखमा गिद्धको फूल भएको र त्यसबाट बच्चा कोरलेपछि मात्रै रुख काट्न संरक्षणकर्मीले जिम्मेवार निकायलाई दिएको सुझावको बेबास्ता गर्दै सडक आयोजनाले रुख काटेर विचल्ली बनाएको दाबी नेफेजले गरेकाे छ।
त्यस्तै, टिकौलीको जंगलमा खनिएको खाडलमा परेर दुर्लभ वन्यजन्तु गैंडा मरेकाे घटनाप्रति पनि नेफेजले ध्यानाकर्षण भएकाे जनाएकाे छ। '९ माघको यो घटनाले पनि संरक्षणकर्मीहरुलाई चिन्तित बनाएको छ। वन्यजन्तु कोरिडोरमा सडक निर्माणको क्रममा तिनको निर्वाध आवागमनलाई व्यवस्थित गर्न अण्डरपास जस्ता वातावरणमैत्री संरचनाहरुको निर्माण गर्नु स्वागतयोग्य छ तर, वन्यजन्तुलाई पासो थापेजस्तै खाडल खनेर त्यो त्यतिकै छोड्नु सडक आयोजनाको गम्भीर लापरवाही हो,' नेफेजले भनेकाे छ।
'सडक बिस्तारको क्रममा कुन हदसम्म लापरवाही गरिन्छ भन्ने प्रतिनिधि पात्रको रुपमा यी घटनाहरुलाई लिन सकिन्छ। उपरोक्त घटनाहरुले दुवै सडक आयोजनाहरुको वातावरणीय प्रभाव मूल्यांकन र त्यसमा आधारित वातावरण व्यवस्थापन योजना कार्यान्वयनमा प्रश्नचिन्ह खडा भएको छ,' विज्ञप्तिमा भनिएकाे छ, 'यी घटनाबारेमा जिम्मेवार सडक विभाग र राज्यका अन्य निकायहरुले समयमै सत्यतथ्य सार्वजनिक गर्ने, दोषीहरुलाई विद्यमान कानुनको कठघरामा उभ्याउनुको साटो छानबिनका नाममा आलटाल गर्ने, एक अर्कामाथि दोष थोपार्ने, निर्माण व्यवसायीको दोष देखाउने लहर चलेको छ।'
तनहूँ शुक्लागण्डकीमा सिमलको रुख काट्न अनुमति दिने निकाय, सडक निर्माणको अनुगमन गर्ने सडक आयोजनाका जिम्मेवार अधिकारी र निर्माण व्यवसायीलाई तत्काल निलम्बन गरी छानबिन गरी दोषीमाथि विद्यमान कानुन अनुसार कारबाही गर्न माग गरिएकाे छ।