सत्ताघटक जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतीय दूतावास छिरेको खुलासा भएको छ।
अमेरिकी सहयोग परियोजना (एमसीसी) को पक्षमा उग्र अभिव्यक्ति दिँदै आएका उनी मंगलबार साँझ साढे ९ बजेतिर सुटुक्क लैनचौरस्थित दूतावास छिरेकाे बताइएकाे छ।
दूतावास पुगेपछि उनले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग दुई घण्टा ३३ मिनेट गोप्य वार्ता गरेको स्रोतले जनाएको छ।
एमसीसी विवाद, बहस र विरोध चलिरहँदा पूर्वप्रधानमन्त्री डा. भट्टराई कूटनीतिक मर्यादाविपरीत राजदूत भेट्न दूतावास छिर्नुलाई कूटनीतिज्ञहरूले आपत्ति जनाएका छन्।
भारतीय दूतावासबाट फर्किएको डा. भट्टराईले एकाबिहानै सत्ता र सडक आन्दोलनमा रहेका एमसीसी विरोधी माओवादी केन्द्र, एकीकृत समाजवादीलाई सरकार छाड्न चेतावनी दिएका थिए।
एमसीसी सम्झौता निर्णायक मोडमा पुगेकाे बेला उनको दूतावास दौडधूपलाई चासोका साथ हेरिएको कूटनीतिज्ञहरू बताउँछन्।
डा. भट्टराईलाई एमसीसी सम्झौताको तनाव मात्रै छैन, यतिबेला आन्तरिक विवादले जसपा पनि फुटको संघारमा पुगेको छ।