झलनाथ खनालले भने- एमसीसी सम्झौता राष्ट्रघाती छ, संशोधन नगरी पास गर्न सकिँदैन

File Photo
File Photo

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेपाली जनतालाई पत्तै नदिइकन एमसीसी सम्झौता भएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाकाे बुधबारकाे बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले दस्तावेजहरूको राम्रोसँग अध्ययन नगरिकन सम्झौता भएको बताए।

एमसीसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका खनालका अनुसार एमसीसी नेपाली जनताको सर्वोपरी हितविपरीत छ।

‘नेपालको हितलाई सर्वोपरी राखेर यो एमसीसी सम्झौता सुरुमै भएन। नेपाली जनतालाई थाहा नदिइकन, राम्ररी अध्ययन नगरिकन, के गर्दा राष्ट्रको हित हुन्छ भन्ने बुझ्दा पनि नबुझिकन र ती दस्तावेजहरू राम्रोसँग अध्ययन पनि नगरिकन नेपाली जनतालाई गुमराहमा राखेर सम्झौता गरियो। यो सम्झौता राष्ट्रघाती छ, संशोधन नगरिकन पास गर्न सकिँदैन’, खनालले भने।

उनले सम्झौताका केही प्रावधानहरू राष्ट्रघाती भएको जिकिर गरे। ती प्रावधानहरू संशोधन हुनुपर्ने र त्यसपछि मात्र पारित गर्न सकिने धारणा राखेका छन्।

तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार छँदा खनाल नेतृत्वमा एमसीसी अध्ययन कार्यदल गठन गरेको थियो। कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवालाई अध्ययन प्रतिवेदन बुझाइसकेको छ।

प्रकाशित मिति: : 2022-02-16 14:34:00

प्रतिकृया दिनुहोस्