लमजुङमा उमेर नपुग्दै गर्भवती हुनेहरुको संख्यामा कमी आउन सकेको छैन। बेसीशहरस्थित जिल्ला अस्पताल लमजुङमा प्रसूति सेवालिने महिलाहरुको तथ्यांकलाई हेर्ने हो भने जिल्लामा अझै उमेर नपुग्दै विहे गर्ने र कम उमेरमै सन्तान जन्माउने किशोरीहरुको संख्यामा कमी आउन नसकेको पाइएको हो। महिलाले २० वर्ष पुगेपछि मात्र विवाह पाइने कानुनी व्यवस्था छ।
विगतमा नबुझेर बालविवाह हुने गरेकोमा पछिल्लो समय जान्ने वुझ्नेहरुले नै उमेर नपुग्दै विवाह गर्ने गरेका छन्। बालविवाहको यकिन तथ्यांक नभएपनि कम उमेरमै आमा हुने किशोरीहरुको संख्याले बालविवाह न्यूनीकरणमा कुनै पनि उपलव्धि हासिल हुन नसकेको देखाएको छ। जिल्ला अस्पताल लमजुङमा चालु आर्थिक वर्ष ०७८/०७९ को ६ महिनामा मात्रै २० वर्ष मुनिका ७० जना किशोरी आमा बनेका छन्।
जिल्लाका अन्य स्वास्थ्य सस्था तथा जिल्ला बाहिरबाट पनि केहिले सेवा लिएको हुन सक्ने भएकाले सो संख्या अझै बढी हुनु सक्ने अनुमान गरिएको छ। चालु वर्ष प्रसूति सेवा लिनेमा सवै भन्दा कम उमेरमा १५ वर्षका चार जना रहेका अस्पतालले जनाएको छ। त्यसैगरी आर्थिक वर्ष ०७७/०७८ मा प्रसूति सेवालिने १ सय ५४ जना किशोरीहरु २० वर्षभन्दा कम उमेरका रहेका छन्। आर्थिक वर्ष ०७६ /०७७ मा भने एक सय ७१ जना २० वर्ष मुनिका किशोरीहरु आमा बनेको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए।
कतिपयलाई परिवार नियोजनका अस्थायी साधन जानकारी नहुँदा तथा जानकारी भएर पनि कतिपयले प्रयोग नगर्दा कम उमेरमै गर्भवती हुने गरेको अस्पतालका स्त्री रोग विशेषज्ञ डा.हेमा छन्त्यालको भनाई छ। स्वास्थ्यका दृष्ट्रिकोणले २० देखि ३५ वर्ष उमेरसम्म गर्भवती हुनु राम्रो मानिन्छ। २० वर्ष मुनि र ३५ वर्ष भन्दा माथिको उमेर प्रसुतिका लागि उपयुक्त नहुने चिकित्सकहरु बताउछन्। यस अवस्थामा गर्भवति हुदाँ पाठेघर खस्ने, विभिन्न रोग संक्रमण तथा ज्यानै जाने जोखिम समेत हुने चिकित्सकहरुको भनाई छ।